खेमनाथ दाहाल दर्जनौं कृतिका रचयिता । प्रायः सबै विधामा कलम चलाउँछन् । यसअघि केही थान कवितासंग्रह, काव्य, महाकाव्य, नियात्रा संग्रहसमेत प्रकाशित गरिसकेका उनी आफ्नो पछिल्लो कृति ‘अहोरात्र’ यथार्थपरक उपन्यास लिएर नेपाली साहित्यकासमा विचरण गरेका छन् । उपन्यास कल्पनाभन्दा कोशौं पर यथार्थपरक भावमा बगेको छ । जहाँ हिन्दु, मुस्लिम, बौद्धलगायत विभिन्न पक्षको बारेमा चर्चा चलाएका छन् ।
अमेरिकामा काम गर्ने एक मुस्लिमले आफ्नो अर्काे साथी म पात्रमार्फत गीतालगायत हिन्दु शास्त्रका ग्रन्थमार्फत हिन्दुधर्म, संस्कार र संस्कृतिसहित सनातन वैदिक कुराहरूको बारेमा असाध्यै जिज्ञासु बनी फुर्सद भयो कि उसले थप नयाँ कुरा जान्ने कौतुहलता राख्दै म पात्रलाई प्रश्नहरू राख्ने गरेको संवादले उपन्यास ज्यादा भरिएको छ । उपन्यासमा आफ्नो लामो इतिहास बोकेको हिन्दु दर्शन, भागवत गीता, महाभारतलगायत ग्रन्थहरूको थुप्रै श्लोक र कथा व्याख्या गरिएको छ । यस उपन्यासले हिन्दुसहितका धर्महरूको सकारात्मक कुराहरूको ज्ञानको सञ्चार म पात्रमार्फत गरेको छ । साथै यसमा विभिन्न धर्मबाट हिन्दुधर्माबलम्बीहरूको संस्कृतिमाथि भइरहेको अतिवादी अतिक्रमण चिर्न विश्वभर हिन्दुधर्म दर्शनको प्रचार गर्ने उत्कृष्ट उद्देश्यले उपन्यास लेखिएको भान पर्छ । यसमा म पात्र र सरिक बीचको धार्मिक प्रश्नोत्तर छ । त्यसमा अर्का पात्र फराज यसमा जोडिन्छन् ।
सर्सर्ती हेर्दा पूर्वीय धर्म दर्शनसहित अन्य विभिन्न धर्मका बारेमा जानकारी दिइएको भए तापनि यस उपन्यासले अमेरिकी समाजको नेपाली बसाईको सांगेपांगो चित्र प्रस्तुत गरेको छ । यसमा हाम्रो नेपाली समाज र अमेरिकी समाजको बसाईको तुलनात्मक अध्ययन पनि गरेको छ । हाम्रो सामाजिक सद्भाव र उत्तरदायित्व र त्यहाँको सामाजिक सद्भावविहीनता र उत्तरदायित्व विमुख समाजको गजबले चित्रण गरिएको छ । वल्लो घरको मान्छे मृत्यु हुँदा छिमेकीलाई थाहा नहुने अमेरिकी समाजको उपन्यासले खुलासा गरेको छ ।
उपन्यास मुख्यतः म हिन्दु पात्र, फराज र सरिक मुश्लिम पात्र जो अमेरिकाको ग्यास स्टेशनमा काम गर्छन् उनीहरूको बीच नै बढी केन्द्रित भएको छ । फराज सरिकलाई मुश्लिम धर्ममा रुचि जगाउन चाहन्छ । कट्टर छ ऊ मुस्लिम धर्ममा । तर, सरिक त्यसमा खासै रुचि नराख्ने भए पनि उसमा स्वभावको भद्रता छ । शालिन व्यक्तित्वको छ । ऊ अध्ययनशील र जिज्ञासु छ । पाकिस्तानबाट चार वर्षको उमेरमा क्यानडा ल्याइएको सरिक त्यसपछि अमेरिका आएको हो । अमेरिकन केटीसँगको प्रेम, विवाहपछि एक छोरी जन्मेर अमेरिकनले ऊसँग पारपाचुके गरेकी छे । उसले अमेरिकामा श्रीमान् र श्रीमतीको सम्बन्ध पिँडालुको पातको बिम्बमा जोड्न मन पराउँछ ।
उपन्यासकारले हिन्दु दर्शनको अनुपम कृति गीता महाभारतलगायत कथालाई म पात्रद्वारा भन्न लगाएका छन् । हाम्रो शास्त्रका महŒवपूर्ण १६ ग्रन्थ पुराण जसलाई व्यास ऋषिले भनेर गणेशद्वारा लेखिएको हो मानिन्छ । त्यसका धेरै महत्वपूर्ण अंशहरू यसमा छन् । हिन्दुधर्म सबैभन्दा वैदिक र वैज्ञानिक धर्म हो भन्ने कुरालाई उपन्यासले जोड दिएको छ । अहोरात्रले हिन्दुधर्म दर्शनलाई अरू धर्मभन्दा हर हिसाबले उत्कृष्ट हो भन्ने प्रमाणित गर्ने प्रयास गरेको छ । यहाँ स्कन्दपुराणको महत्व र महात्म्य दर्शाइएको छ । हिन्दुधर्मले विश्वास गर्ने कुरा यहाँ परेका छन् । बुद्ध र हिन्दुधर्मबीचको सम्बन्धका कुरा चर्चा गरिएको छ । कुरानका कुरा छन् उपन्यासमा । येशुको कथा छ । विभिन्न धर्म संस्कार र संस्कृतिसँग हिन्दुधर्म संस्कार र संस्कृतिको तुलना गरिएको छ । तिनमा भएका विरोधाभाषलाई उजागर गर्ने प्रयत्न गरिएको छ । धर्मको नाउँमा एकेश्वरवाद र बहुदेववाद भनेर विश्वभर विभाजन ल्याउन खोजेको कुरालाई खबरदारी गरिएको छ । मानव जातिको उत्पत्ति र विकासको बारेमा विभिन्न धर्मले लिएको धारणालाई पाठकसामु जानकारी दिने प्रयास पनि भएको छ । यहाँ के छैन् आदम र इभको कथा पनि छ । गीताका अठार पुराणको चर्चा छ । देवीभागवत, बाइवल र कुरानका धेरै प्रसंग जोडिएका छन् । वैदिक सनातन शास्त्रहरूका केही संस्कृतमा श्लोक छन् र तिनलाई नेपालीमा उल्थासहित राखिएको छ ।
विशेषतः अमेरिका बसेका नेपाली र अन्य देश र धर्मावलम्बीको चर्चा परिचर्चाको वरिपरि घुमेको प्रस्तुत उपन्यास हिन्दुशास्त्रमा सबै ग्रन्थको सार मानिएको वेद र वेदको पनि सार मानिएको उपनिषद्को समेत कुरा गरिएको छ । गीतालाई हिन्दुधर्मको सार मानी जीवन र जगतको सम्पूर्ण कुरा यसमा जोडिएको छ । हिन्दुधर्मले बसुधैव कुटुम्बकम्मा जोड दिएको कुरालाई उपन्यासले महत्व दिएको छ । यिनै धार्मिक बैभवताको कुराले गर्दा पाकिस्तान निस्कन लागेको फराजमा काठमाडौं मोह जागृत हुन्छ । म पात्रले उसलाई काठमाडौंको सातवटा विश्व सम्पदाको सूचीसहित विशेषताहरू बताउँछ । साथै त्यहाँको ऐतिहासिकता बारे पनि जानकारी दिइएको हुन्छ ।
यसरी सर्सर्ती हेर्दा पूर्वीय धर्म दर्शनसहित अन्य विभिन्न धर्मका बारेमा जानकारी दिइएको भए तापनि यस उपन्यासले अमेरिकी समाजको नेपाली बसाईको सांगेपांगो चित्र प्रस्तुत गरेको छ । यसमा हाम्रो नेपाली समाज र अमेरिकी समाजको बसाईको तुलनात्मक अध्ययन पनि गरेको छ । हाम्रो सामाजिक सद्भाव र उत्तरदायित्व र त्यहाँको सामाजिक सद्भावविहीनता र उत्तरदायित्व विमुख समाजको गजवले चित्रण गरिएको छ । वल्लो घरको मान्छे मृत्यु हुँदा छिमेकीलाई थाहा नहुने अमेरिकी समाजको उपन्यासले खुलासा गरेको छ ।
अमेरिकी ग्रीनकार्डको प्रलोभन, मनग्य धनार्जनको लालसामा शरणार्थीको वहानामा चौबीसै घण्टा जोतिइरहेका नेपालीको अमेरिकी मोेहको कथा छ उपन्यासमा । उपन्यासभित्र ग्यास स्टेशन जो अमेरिकामा सबैभन्दा बढी विवादास्पद र असुरक्षित व्यवसाय मानिन्छ र अन्य विभिन्न ठाउँमा कामदार बनेका नेपालीहरूको प्रतिनिधि पात्र रायन, विकास, अनिश, रमण, सुरेन्द्र आदिको कथा व्यथा उधिनेको उपन्यास हो अहोरात्र । उनीहरूका पीडा, व्यथाहरूको कहानी होे । त्यहाँ माइकलको कथा छ । हरनान र राधाको आफ्नै कहानी छ । यस्ता थुप्रै तर फरक चरित्रका पात्रहरूले आमआप्रवासीहरूको दैनिकीको प्रतिनिधित्व गरेका छन् । यहाँ आफ्नो स्वार्थका लागि अकारण अर्कालाई विघात पार्ने चरित्रको पात्र पनि छ । रायन जस्तो नोस्टाल्जिक बन्ने पात्रको अनुभूति पनि यहाँ पोखिएको छ । धेरैलाई यो वा ऊ बहानामा अमेरिकाले खर्लप्पै निलेको छ । पैसा कमाउने, डाक्टर, इञ्जिनियर बन्ने लालसाले अमेरिकी सपना देख्ने केटाहरूको प्रतिनिधिमूलक पात्र हो रायन । जसको सपना अधुरै रहृयो । यो कृतिमा यस्ता प्रसंग पनि छन् ।
पूर्वीय संस्कार र संस्कृतिमा आएको ह्रास प्रति दुःखी भएका उपन्यासकारले यसको चर्चा म पात्रमार्फत कामबाट फुर्सद् पाउनासाथ गरेको देखिन्छ । वर्षाैंदेखि अवैध रूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूका पीडा र व्यथाहरू छरपष्ट देखाइएको छ । जो समुन्नत र सुखद् भविष्यको सपना मनमा साँचेर हड्डी खियाइरहेछन् तिनको दैनिकी प्रष्ट्याइएको छ । अमेरिकी विश्वविद्यालयमा पढेर ठूलो मान्छे बन्ने योजना कोर्नेहरूको त्यहाँको महँगो फी तिर्न नसक्दा बीचमै पढाइ छोड्नु परेकाको अवस्था देखाइएको छ । उपन्यासले दुःख गरेर नेपालमा रेमिट्यान्स पठाएर मुलुकको अर्थतन्त्रमा योगदान गरेको तर त्यही रेमिट्यान्समा नेताहरूले आफ्नो दुनो सोझ्याएको वर्तमान नेपालको यथार्थ तस्वीर पनि उपन्यासले झल्काएको छ । अमेरिका बस्ने आप्रवासीहरू सबैका आ आफ्ना पीडा र दुःख अनि संघर्षका जीवन्त कथाव्यथाको बेजोड प्रस्तुति लाग्छ उपन्यास । अझै नेपालको सरकारी उच्च ओहदामा रहनेहरूको रंगिन अमेरिकी सपना बुनेर हुँदा-छँदाको जागीर छोडेर अमेरिका भासिई पेट्रोल पम्पमा तेल भर्ने, ट्याक्सी चलाउने, रेष्टुरेण्टमा वेटर गर्नेलगायत काममा जोतिएर बस्नेहरूका बल्ग्रेन्ती यथार्थता छन् । भन्न सकिन्छ उपन्यासमा अमेरिकामा रहेका नेपालीलगायत आप्रवासीहरूको वास्तविकता उजागर उपन्यासकार दाहालले गरेका छन् । फगतः सुविधा, स्वतन्त्रताले मानिसलाई अमेरिकी मोहजागेको तथ्यलाई प्रकट गर्न सक्षम उपन्यासकारले अमेरिका सबै खाले नेपालीहरू प्रयोगशाला बनेका जस्ता देखिएका छन् भनेका छन् । त्यहाँका परिवेश र विडम्बनापूर्ण अवस्थालाई पारदर्शी ढंगले राख्न सक्नु उपन्यासकारको खुवी लाग्छ ।
समुन्नत र सुखद् भविष्यको सपना मनमा साँचेर हड्डी खियाइरहेकाहरूको दैनिकी प्रष्ट्याइएको छ उपन्यासमा । अमेरिकी विश्वविद्यालयमा पढेर ठूलो मान्छे बन्ने योजना कोर्नेहरूको त्यहाँको महँगो फी तिर्न नसक्दा बीचमै पढाइ छोड्नु परेकाहरूको अवस्था देखाइएको छ । उपन्यासले दुःख गरेर नेपालमा रेमिट्यान्स पठाएर मुलुकको अर्थतन्त्रमा योगदान गरेको तर त्यही रेमिट्यान्समा नेताहरूले आफ्नो दुनो सोझ्याएको वर्तमान नेपालको यथार्थ तस्वीर पनि उपन्यासले झल्काएको छ ।
यस उपन्यासले स्वधर्म पालना र रक्षामा जोड दिएको पनि छ । सबै धर्मको मूल ध्येय सबैको हीत गर्ने हो भन्ने कुरालाई उपन्यासमा सन्देश दिन खोजिएको छ । ‘धर्म हतो हन्ति धर्माे रक्षति रक्षित’ मा उनको पक्षधरता छ । पूर्वीय दर्शनको यथेष्ठ जानकारी दिने यो उपन्यासले विभिन्न धर्मभन्दा अब्बल कुन अर्थमा छ हिन्दुधर्म भन्ने कुरालाई पुष्टि गर्न धेरै हदसम्म उपन्यासकार सफल भएका छन् । यसमा उपन्यासकारको आत्मानुभूति र अनुभवलाई शब्दमा बुनिएको देखिन्छ । म पात्रमार्फत आफ्ना धार्मिक विचारहरू पाठक सामु राख्न सफल देखिन्छन् खेमनाथ दाहाल । उपन्यासको अन्त्यमा उनले कृति तयार पार्दा गीता, भागवत, बाइबल, कुरानलगायत धार्मिक ग्रन्थहरूको वैशाखी टेकेको स्वीकारोक्ति जनाएबाट पनि अहोरात्रको बारेमा प्रष्ट हुन बेर लाग्दैन कि यो धार्मिक विषयमै अडेको छ । यो उपन्यासकारको भोगाई भएको कुरा उनले बोलेका छन् । तसर्थ धेरै हदसम्म यो तथ्यमा आधारित मान्न पाठकलाई करै लाग्छ । यसमा के छैन् र विभिन्न धर्मका ग्रन्थ, इतिहास, दर्शन, संस्कृति, आप्रवासी जीवनका दैनिकी सबकुछ छ ।
कुनै पनि कृति आफैंमा पूर्ण हुन्छ भन्ने कुरा हुँदैन् । यो उपन्यासको हकमा यही कुरा लागू हुन्छ । यसमा प्रयुक्त संवादहरू केही लामा लाग्छन् । साहित्य सिर्जनामा नयाँ नभए आख्यानकारको रूपमा उनको पहिलो उपन्यास पाठकले अनपेक्षित लामो ठान्न सक्छ । उपन्यास केही लम्बेतन लाग्छ र पट्यार पनि लाग्न सक्छ । अमेरिकामा बस्ने नेपाली सहितका आप्रवासीहरूको पूर्ण दर्पण लाग्ने दर्शाइएको कृतिले आम आप्रवासीको प्रतिनिधित्व नगर्न सक्छ । यसतर्फ पाठक सचेत हुनु जरुरी छ । उषा दाहालले यसलाई प्रकाशन गरेकी हुन् भने रमेश दाहालले सम्पादन गरेका छन् । नेपाली मानक भाषा अनुसार भाषिक शुद्धाशुद्धि गरिएको छ । जे होस्, अमेरिकी नेपाली जीवन र वैदिक धर्मको महŒवलाई घोलेर विषयवस्तु बनाई आफैंले देखे÷भोगेको कुरालाई ऐना बनाउने उपन्यासकारको यो प्रयासका लागि हार्दिक बधाई छ । psmile333@gmail.com







हार्दिक आभार हिमालय टाइम्स परिवार