काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको विशिष्ट श्रेणीको सरकारी सेवासुविधा फिर्ता गर्न आग्रह गर्दै गृह मन्त्रालयमा औपचारिक निवेदन पेस गर्नुभएको छ । उहाँले आफ्नो स्वकीय सचिव राजकुमार राईमार्फत बुधबार मन्त्रालयमा निवेदन दर्ता गराउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले यही असार १४ गते नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गर्नुभएको थियो । त्यसको केही दिनमै उहाँले राज्यबाट प्राप्त भइरहेका सबै प्रकारका गैरआवश्यक सुविधा फिर्ता गर्न खोज्नुभएको हो । तर, उहाँले यस विषयमा न त पार्टीसँग औपचारिक छलफल गर्नुभएको छ, न त कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएर पार्टीगत भूमिका प्रष्ट पार्नुभएको छ ।
निवेदनमा भण्डारीले राष्ट्रपति पदबाट अवकाशपछिको समयमा सरकारबाट प्राप्त सचिवालयलगायत अन्य प्राविधिक तथा भौतिक सुविधाहरू नलिने स्पष्ट उल्लेख गर्नुभएको छ । विशेषतः स्वकीय सचिव, उपसचिव तहका कर्मचारी, सवारी चालक, कार्यालय सहयोगी, इन्धन र मसलन्द खर्च जस्ता सेवासुविधा फिर्ता गर्न आग्रह गरिएको हो । गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार निवेदन दर्ता भइसकेको छ । उहाँका अनुसार निवेदनमा सुरक्षाकर्मी बाहेकका सबै प्रकारका सुविधा फिर्ता गर्न अनुरोध गरिएको छ ।
यस्तो छ- पूर्वराष्ट्रपतिलाई प्रदान गरिने सेवा सुविधा
संविधानअनुसार पदबाट अवकाश प्राप्त राष्ट्रपतिलाई विशिष्ट श्रेणीको सेवासुविधा प्रदान गरिन्छ । यसअन्तर्गत निजामती उपसचिव, एकजना सचिवस्तरीय निजी सहयोगी, चालक, कार्यालय सहयोगी, सरकारी निवास, गाडी, इन्धन तथा मसलन्द खर्च दिइने व्यवस्था छ । पूर्वराष्ट्रपति भण्डारीले यसअघि पनि सरकारी निवास र सवारी साधनको सुविधा उपयोग गर्नुभएको थियो । तर, इन्धन खर्च र मसलन्द शीर्षकमा भने केही सुविधा लिँदै आउनुभएको थियो । अन्य सेवा सुविधा फिर्ता भए पनि सुरक्षा व्यवस्थामा भने उल्लेखनीय भिन्नता ल्याउन नसकिने बताइएको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पूर्वराष्ट्रपतिका सुरक्षाकर्मी प्रोटोकलअनुसार तोकिने भएकाले सबै फिर्ता गर्न सम्भव हुँदैन । यद्यपि, सुरक्षाकर्मीको संख्यामा भने केही कटौती हुनसक्ने सम्भावना मन्त्रालयले जनाएको छ । भण्डारी २०७२ कात्तिक ११ मा नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको थियो । उहाँले २०७४ फागुन २९ मा दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पद सम्हाल्नुभएको थियो । सक्रिय राजनीतिमा फर्किएपछि उहाँले विशिष्ट श्रेणीका सुविधा फिर्ता गर्नु उदाहरणीय कदमका रूपमा हेरिएको छ ।
नेपालको समकालीन राजनीतिमा महिलाको नेतृत्वको प्रतीकका रूपमा चिनिनुभएकी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा मात्रै सीमित हुनुहुन्न । उहाँ नेपाल कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि जुझारु भूमिकामा देखिएकी एक प्रभावशाली नेतृ पनि हुनुहुन्छ । अहिले उहाँ पुनः सक्रिय राजनीतिमा फर्किनुभएको छ ।
गुटगत संघर्ष चर्किने संकेत
पूर्वराष्ट्रपति भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएपछि पार्टीभित्र सन्तुलनको राजनीति चर्किन थालेको देखिएको छ । एकातर्फ पार्टीले उहाँको पुनरागमनलाई स्वागतयोग्य ठहराउने प्रयास गरे पनि अर्कातर्फ शीर्ष तहका नेताहरूबीच मौन असहजता बढेको संकेत भेटिएको छ । नेकपा एमालेभित्र धेरै नेताहरूले भण्डारीको यो कदमलाई व्यक्तिगत स्वतन्त्र निर्णयको रूपमा व्याख्या गरेका छन् । तर, पार्टी स्रोतका अनुसार, यस्तो निर्णय पार्टी नेतृत्वलाई पूर्व जानकारीबिना गरिएको हो, जसले नेतृत्व तहमा केही असन्तुलन र आशंका जन्माएको छ । राष्ट्रपतिको कार्यकालमा ओलीसँग निकट मानिनुभएकी भण्डारीले अहिले एक किसिमको स्वतन्त्र पहिचान बनाउने संकेत दिनुभएको छ । उहाँ ओलीको प्रभाव क्षेत्रभित्रै रहँदै फेरि नयाँ सन्तुलनको खोजीमा लागेको बुझाइ केही नेताहरूको छ ।
उहाँले कुनै सांगठनिक जिम्मेवारी नलिए पनि पछिल्लो समय एमालेभित्र असन्तुष्ट ध्रुवका रूपमा चिनिने क्षेत्रीय नेताहरू, महिला कार्यकर्ताहरू र केही पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूबाट उहाँलाई समर्थन जनाउने संकेत पनि देखिएको छ । यसले नेतृत्वले बनाइरहेको सांगठनिक एकतालाई दबाबमा पार्ने अनुमान राजनीतिक वृत्तमा गरिँदै छ ।
भण्डारीको पुनरागमनसँगै केही असमझदारी समावेशीताको दृष्टिकोणमा पनि देखिएको छ । राष्ट्रपति कार्यकालमा उहाँले संघीयता, आरक्षण र प्रतिनिधित्वका विषयमा कठोर र परम्परावादी अडान लिएको भन्दै केही मधेसी र जनजाति नेताहरू सन्तुष्ट थिएनन् । यिनीहरूमध्ये कतिपयले अहिले पनि भण्डारीको सक्रियताप्रति चासो मात्र होइन, चिन्ता पनि व्यक्त गरेका छन् । उहाँ पार्टीमा फर्किएर त्यसै धारको निरन्तरता दिँदा सांगठनिक रूपमा अन्योलता आउन सक्ने धारणा छ ।
यता, पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख चिन्ता भनेको हालको सांगठनिक सन्तुलनमा खलल आउन सक्ने सम्भावना हो । भण्डारीजस्तो राष्ट्रव्यापी छवि बोकेको नेतृको पुनः सक्रियताले केन्द्रीय नेतृत्वभित्रको शक्तिको समीकरणलाई चुनौती दिने सम्भावनालाई हल्का आँखा लगाएर हेर्न सकिन्न । अझै पनि ओलीको नेतृत्वमा उत्तराधिकारी चयनबारे स्पष्ट खाका नबन्दै भण्डारीजस्तो पात्रको उदयले पार्टीमा नयाँ बहस सिर्जना गरेको छ ।
यद्यपि, पार्टी नेतृत्वले अझै सार्वजनिक रूपमा यो विषयलाई निकै सावधानीपूर्वक हेरेको देखिन्छ । भण्डारीको पुनरागमनलाई सहज र स्वाभाविक कदम भन्दै प्रतिक्रिया दिइए पनि आन्तरिक रूपमा उच्च तहमा तीव्र बहस चलिरहेको स्रोतहरू बताउँछन् । उहाँका भविष्यका गतिविधिहरू एमाले नेतृत्वको स्थायित्व वा पुनः संरचनासँग समेत जोडिने सम्भावना पनि राजनीतिक विश्लेषकहरूले देखिरहेका छन् ।
भण्डारीको राजनीतिक पुनरागमन एमालेका लागि मात्रै होइन, समग्र वाम राजनीति र महिला नेतृत्वका हिसाबले पनि महत्वपूर्ण बन्न पुगेको छ । अब उहाँले यो सक्रियता कुन मोडमा लैजानुहुन्छ र एमालेभित्रको शक्ति सन्तुलनमा कस्तो असर पार्नुहुन्छ, त्यो भने हेर्न बाँकी छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र