नेपालको शिक्षाको इतिहास हेर्दा सामुदायिक विद्यालय (सरकारी विद्यालय) लामो समयदेखि सामाजिक विकासको मेरुदण्डका रूपमा रहँदै आएका छन् । विगत केही दशकयता निजी विद्यालयहरूको चर्को प्रचारप्रसार र जनविश्वासको ह्राससँगै सामुदायिक विद्यालयहरूको शाख कमजोर हुँदै गएको जस्तो देखिएको थियो । तर, पछिल्ला वर्षहरूमा देशका विभिन्न स्थानका सामुदायिक विद्यालयहरूले गरेका नवीन प्रयोग, सुधार र सफलता प्राप्त कार्यले यो धारणा क्रमशः बदलिँदै गएको छ ।
अनुकरणीय उदाहरण ‘श्री सिद्धि गणेश मावि’
सामुदायिक विद्यालय भनेको कहिले ‘सरकारी’को पर्याय बन्दै अपेक्षाभन्दा कमजोर शिक्षाको प्रतीकजस्तो ठानिने अवस्था फेरिएको छ । पछिल्ला वर्षहरूमा केही सामुदायिक विद्यालयले यस्तो सोचाइलाई पूर्णतः खण्डन गर्दै शिक्षाको उत्कृष्ट नमुना प्रस्तुत गरेका छन् । यस्तै उदाहरण हो– कागेश्वरी मनोहरा–१, गागलफेदीस्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय । यो विद्यालय आँगनबाट आधुनिकतासम्म पुगेको छ ।
अवश्य पनि सबै सामुदायिक विद्यालयले एकै गति र सफलता हासिल गरेका छैनन् । अझै पनि कतिपय ठाउँमा शिक्षकको अभाव, भौतिक पूर्वाधारको कमी, नेतृत्वको कमजोरी र स्थानीय तहको ध्यानको कमी जस्ता चुनौती छन् ।
२०३५ सालतिर केही समर्पित स्थानीयको पहलमा सुरु भएको यो विद्यालय आज कक्षा १२ सम्मको पठनपाठन हुने प्रतिष्ठित सामुदायिक शिक्षालयमा परिणत भइसकेको छ । आज यस विद्यालयमा न केवल स्थानीय विद्यार्थी छन्, भक्तपुर, ललितपुर र आसपासका पालिकाबाट समेत विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन् । त्यो पनि निजी बोर्डिङ विद्यालय छाडेर ।२०७५ र २०७८ सालको एसइई परीक्षामा ३.५२ र ३.२४ को जिपिए ल्याउँदै जिल्लास्तरीय उत्कृष्टता प्रदर्शन गर्ने विद्यालय बन्यो, यो । नियमित गृहकार्य, परीक्षा, अनुशासन, शिक्षक प्रशिक्षण, अभिभावकसँगको निरन्तर समन्वय लगायतका विषयमा विद्यालयको प्रतिबद्धता प्रशंसनीय छ ।
स्मार्ट कक्षा, कम्प्युटर र विज्ञान प्रयोगशाला, सिसिटिभी निगरानी, नर्ससहितको स्वास्थ्य सेवा, पुस्तकालय, स्वच्छ क्यान्टिन तथा प्राविधिक धारतर्फ कृषि शिक्षा पढाइ हुनेजस्ता सुविधाहरूले यस विद्यालयलाई राजधानीको अग्रणी सामुदायिक विद्यालयहरूमध्ये उभ्याएको छ ।

यसैको उदाहरण यो वर्षको एसइई परीक्षामा पनि देखिएको छ । विद्यालयकी छात्रा क्रिश्चला पुडासैनीले ४.० जिपिए प्राप्त गर्दा विद्यालयले शत्प्रतिशत उत्कृष्ट नतिजा निकालेको छ । यस वर्षको एसइईमा सिद्धि गणेश माविबाट ३६ जनाले परीक्षा दिएका थिए । जसमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने विशिष्ट श्रेणीका विद्यार्थीको संख्या २९ रहेको छ भने ३.२० देखि ३.६० जिपिए ल्याउने ६ जना परीक्षार्थी रहेका छन् । ३.६० देखि ४ जिपिएसम्म ल्याउने विशिष्ट श्रेणीका विद्यार्थीहरूमा क्रिश्चला पुडासैनी ४.०, कृतिका ब्रहृमशाखा ३.९६, क्रिस्टिना खड्का ३.९६, समिर तामाङ ३.९६, ससित थापा ३.९१ रहेका छन् । कागेश्वरी-मनोहरा नगरपालिकामा सामुदायिक विद्यालयतर्फ सिद्धि गणेश मावि र भगवति माविले मात्र ४ जिपिए ल्याउन सफल भएको हो ।

समुदायसँगको सम्बन्ध : समर्पण र सहभागिता
विद्यालयको प्रमुख विशेषता भनेको यहाँको समुदायिक स्वामित्व र सहभागिता हो । अभिभावकहरू मासिक रूपमा विद्यालयमा छलफलमा आउँछन्, शिक्षकहरूको मूल्यांकनमा स्वयं सहभागी हुन्छन् । विद्यालयमा पारदर्शिता छ, परिणाम छ र विश्वास छ- जसले सामुदायिक शिक्षाको रूपान्तरण सम्भव छ भन्ने उदाहरण दिएको छ । यस्तै, विद्यालयले हरेक शिक्षकलाई ‘एक शिक्षक एक जिम्मेवारी’ दिएर विद्यालयको हरेक क्रियाकलापमा सहभागी गराएको छ । यस्तै, यहाँ पढाउने हरेक शिक्षकले आफ्ना बालबालिकालाई त्यहीँ पढाएका छन् । जुन एउटा सामुदायिक विद्यालयको शिक्षा पनि गुणस्तरीय छ भन्ने उदाहरणको रूपमा लिन सकिन्छ ।
चुनौतीहरूसँग जुध्दै अघि बढ्दै
सिद्धि गणेशसँगै देशका अन्य केही यस्ता सामुदायिक विद्यालयहरू छन् । जसले हजारौँ विद्यालयलाई पछि पारेर आफूलाई अब्बल सावित गरिसकेका छन् । जस्तै, ज्ञानोदय माध्यमिक विद्यालय- खोकना, ललितपुर (उत्कृष्ट व्यवस्थापन र सूचना प्रविधिको प्रयोगमा अगाडि), जनज्योति माध्यमिक विद्यालय- पाल्पा (ग्रामीण क्षेत्रमै रहेर पनि आधुनिक शिक्षण विधि अपनाएको विद्यालय), श्री सरस्वती माध्यमिक विद्यालय-स्याङ्जा (निरन्तर एसइई नतिजामा उत्कृष्ट प्रदर्शन), भद्रकाली माध्यमिक विद्यालय- पोखरा (भौतिक पूर्वाधार, कम्प्युटर प्रयोगशाला जस्ता सुविधा), जनप्रिय मावि- हेटौँडा (अनुशासन र व्यवस्थापनमा नमुना), श्री मुक्तिनाथ मावि- म्याग्दी (स्थानीय स्रोत उपयोग गरी सिकाइमा नवप्रयोग) । यी केही प्रतिनिधि सामुदायिक विद्यालय हुन् । जसले सामुदायिक विद्यालय पनि निजीभन्दा कम छैन भनेर प्रमाणित गरिसकेका छन् । अवश्य पनि सबै सामुदायिक विद्यालयले एकै गति र सफलता हासिल गरेका छैनन् । अझै पनि कतिपय ठाउँमा शिक्षकको अभाव, भौतिक पूर्वाधारको कमी, नेतृत्वको कमजोरी र स्थानीय तहको ध्यानको कमी जस्ता चुनौती छन् । तर, आशाको किरण त्यहीँ छ-जहाँ विद्यालय समुदायले सामूहिक नेतृत्व, पारदर्शिता, र परिवर्तनको इच्छाशक्ति देखाएका छन् ।
सामुदायिक विद्यालयहरू नेपाली शिक्षा प्रणालीको गहिरो जग हुन्, जसले विगतदेखि नै सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यद्यपि, विगतमा विश्वासको संकट र गुणस्तरप्रतिको प्रश्न उठ्दै आएका थिए ।
अबको बाटो
सामुदायिक विद्यालय नेपालको शिक्षा प्रणालीको मेरुदण्ड हुन् । ती विद्यालयलाई समयसापेक्ष सुधार गर्दै गुणस्तरीय, प्रविधिमैत्री र समावेशी बनाउनु अबको आवश्यकता हो । अबको बाटो विद्यालयलाई केवल शिक्षा दिने स्थल नभई जीवन सीप र चरित्र निर्माण गर्ने केन्द्रको रूपमा विकास गर्नु हो । त्यसका लागि स्थानीय तहको सक्रियता, शिक्षकको निरन्तर तालिम, विद्यार्थीमुखी पाठ्यक्रम, अभिभावक सहभागिता र सार्वजनिक–निजी साझेदारीलाई सशक्त बनाइनु अपरिहार्य छ । आधुनिक प्रविधिको प्रयोग, मूल्यांकन प्रणालीको सुधार र उत्तरदायित्वयुक्त विद्यालय व्यवस्थापनमार्फत सामुदायिक विद्यालयहरूले फेरि गौरव पुनःस्थापना गर्न सक्छन् । अबको बाटो सुधारको मात्र होइन, विश्वास र नेतृत्वको पुनर्निर्माणको हो । जसका लागि विद्यार्थीको सम्पूर्ण विकासलाई केन्द्रमा राख्दै ‘विद्यालयलाई जीवन–उपयोगी ज्ञानको प्रयोगशाला बनाउने’ अभियानमा विद्यालय सक्रिय हुनुपर्छ । किनभने गुणस्तरीय शिक्षाको भविष्य, निजीभन्दा बढी, अब सामुदायिक शिक्षामा आश्रित देखिन्छ ।


निष्कर्ष
सामुदायिक विद्यालयहरू नेपाली शिक्षा प्रणालीको गहिरो जग हुन्, जसले विगतदेखि नै सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यद्यपि, विगतमा विश्वासको संकट र गुणस्तरप्रतिको प्रश्न उठ्दै आएका थिए, पछिल्ला सफल उदाहरणहरूले स्पष्ट रूपमा देखाएका छन् कि सुधार सम्भव छ र भइसकेको पनि छ । श्री सिद्धि गणेश मावि जस्ता विद्यालयहरूले देखाएको प्रतिबद्धता, पारदर्शिता र नवीन प्रयासहरूले सामुदायिक शिक्षाको उज्यालो भविष्यतर्फ इंगित गरेका छन् । अबको यथार्थ त्यही हो- सामुदायिक विद्यालयहरूलाई अब हतोत्साहित गर्ने होइन, सशक्त बनाउने समय हो । स्थानीय स्वामित्व, जिम्मेवार नेतृत्व, आधुनिक प्रविधिको प्रयोग र समाजसँगको घनिष्ठ सम्बन्धमार्फत यी विद्यालयहरू शिक्षा मात्र होइन, जीवन परिवर्तनको केन्द्र बन्न सक्छन् । प्रत्येक सामुदायिक विद्यालयमा ‘परिवर्तन सम्भव छ’ भन्ने विश्वास बोकेर अघि बढ्दा, सामुदायिक शिक्षा नै देशको समुन्नत भविष्यको आधार बन्नेछ ।
(चालिसे श्री सिद्धि गणेश माविका अंग्रेजी शिक्षक हुनुहुन्छ ।)







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि