शिक्षा कुनै पनि राष्ट्रको विकासको मेरुदण्ड हो । शिक्षित जनशक्तिको उपस्थितिबिना राष्ट्रको सामाजिक, आर्थिक र राजनीतिक प्रगति सम्भव हुँदैन । नेपालले पछिल्ला केही दशकमा शिक्षा क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको भए पनि अझै पनि शिक्षा क्षेत्रले धेरै चुनौतीहरूको सामना गरिरहेको छ ।
हाल नेपालमा प्रारम्भिक बालविकासदेखि उच्च शिक्षा तथा प्राविधिक शिक्षा पनि उपलब्ध छन् । विद्यालय तहमा निःशुल्क शिक्षा, छात्रवृत्ति, पोषण कार्यक्रम, बालमैत्री विद्यालय, लैंगिक समानतामा आधारित पहुँच जस्ता कार्यक्रमले सकारात्मक प्रभाव पारेका छन् । तर, यति हुँदाहुँदै पनि नेपालको शिक्षा प्रणाली अझै समस्यारहित छैन । प्रमुख समस्या भनेको गुणस्तरीय शिक्षाको अभाव नै हो । अधिकांश सरकारी विद्यालयहरूमा भौतिक पूर्वाधार, दक्ष शिक्षक, सिकाइ सामग्री, प्रयोगशालाजस्ता आधारभूत आवश्यकता अधुरो देखिन्छ । निजी विद्यालयहरूमा केही गुणस्तर देखिए पनि ती सबैका लागि पहुँचयोग्य छैनन्, जसले वर्गीय विभाजन बढाएको छ ।
शिक्षा प्रणाली अझै पनि परम्परागत छ । बालबालिकाको सिर्जनात्मकता, आलोचनात्मक सोच, व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप विकासमा कम ध्यान दिइएको पाइन्छ । परिणाम स्वरूप, शिक्षित बेरोजगारहरूको संख्या दिनानुदिन बढ्दो छ ।
शिक्षा प्रणाली अझै पनि परम्परागत छ । बालबालिकाको सिर्जनात्मकता, आलोचनात्मक सोच, व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप विकासमा कम ध्यान दिइएको पाइन्छ । परिणाम स्वरूप, शिक्षित बेरोजगारहरूको संख्या दिनानुदिन बढ्दो छ । विश्वविद्यालय तहमा अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवचन गर्ने वातावरण अझै सशक्त छैन । प्रविधिको युगमा नेपालमा डिजिटल शिक्षाको पहुँच शहरमा सीमित छ । दुर्गम गाउँमा इन्टरनेटको अभाव, आवश्यक उपकरण नहुनु र शिक्षकहरूमै डिजिटल ज्ञानको कमीका कारण प्रविधिमैत्री शिक्षाको विस्तार सुस्त छ ।
शिक्षा प्रणालीलाई २१औँ शताब्दीको आवश्यकताअनुसार परिमार्जन नगरीकन राष्ट्रको समुन्नति सम्भव छैन । अतः शिक्षामा लगानी, नवीन सोच र देशअनुकूल रणनीतिसहित शिक्षाको पुनर्संरचना गर्नु अहिलेको आवश्यकता हो ।
नेपालमा कागजमा शिक्षालाई मौलिक हक भनिएको छ तर व्यवहारमा भने शिक्षा वर्गीय बनाइएको छ । धनी वर्गका बालबालिका निजी विद्यालयमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पाउँछन् भने गरिब वर्ग सरकारी विद्यालयमा न्यूनतम सुविधा पाउँछन् । यस्तै, ग्रामीण क्षेत्रका बालबालिका शिक्षाबाट नै वञ्चित भइरहेका छन् । विद्यालयको पहुँचबाट मात्र उनीहरू टाढा छैनन्, गरिबीका कारण उनीहरू विद्यालय जाने अवस्थामै नभएका कयौं उदाहरण हामीसामु छन् ।
सैद्धान्तिक शिक्षा व्यावहारिक जीवनसँँग टाढा
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक हिसाबले विविध राष्ट्र हो । यहाँका भौगोलिक र सामाजिक अवस्थाअनुसार शिक्षाको स्वरूप पनि फरक हुनुपर्छ । तर, दुःखको कुरा, अहिले पनि हाम्रो शिक्षाले विदेशी ढाँचाको अनुशरणमात्र गरिरहेको छ । नेपालमा सिकाइने पाठ्यक्रमहरू धेरै हदसम्म सैद्धान्तिक, व्यावहारिक जीवनसँँग टाढा र रोजगारीमूलक छैनन् । यसले शिक्षित बेरोजगारहरूको संख्या बढाउँदै लगेको छ ।
आजको २१औँ शताब्दी ज्ञान, प्रविधि र नवीनताको युग हो । यस्तो युगमा शिक्षा कुनै परम्परागत पाठ्यपुस्तकको सीमामा सीमित रहनुहुँदैन । बरु शिक्षा यस्तो हुनु आवश्यक छ, जुन देशको आवश्यकता, समाजको संरचना र जनताको जीवनशैलीअनुसार परिकल्पना गरिएको होस् । यसैले ‘देश सुहाउँदो शिक्षा’ आजको अत्यावश्यक आवश्यकता बनेको छ ।
नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक अवस्थासँग मेल खाने शिक्षाको संरचना तयार गर्नु आवश्यक छ । उदाहरणका लागि, पहाडी जिल्लामा कृषि र पर्यटनको सम्भावना छ भने त्यहाँका विद्यालयहरूमा कृषि, पशुपालन, होमस्टे व्यवस्थापन, स्थानीय स्रोत उपयोग, प्राथमिक स्वास्थ्यजस्ता विषय अनिवार्य गरिनुपर्छ । तराई क्षेत्रमा कृषिसँगै उद्योग र व्यापार शिक्षाको प्राथमिकता हुनुपर्छ भने हिमाली क्षेत्रमा वातावरण, विपद् व्यवस्थापन, पहिरो न्यूनीकरणजस्ता व्यावहारिक ज्ञान दिइनुपर्छ ।
देश सुहाउँदो शिक्षा भाषाको दृष्टिले पनि महत्वपूर्ण छ । मातृभाषामा प्रारम्भिक शिक्षा दिइँदा सिकाइ प्रभावकारी हुन्छ, बालबालिकामा जिज्ञासा र आत्मीयता बढ्छ । त्यसैले स्थानीय भाषा, संस्कृति र परम्परालाई सम्मान गर्दै शिक्षाको प्रारम्भ हुनुपर्छ । यस्ता प्रयासले राष्ट्रिय एकता र सामाजिक समरसता पनि बलियो हुन्छ ।
आज नेपालमा युवाशक्ति विदेश पलायन भइरहेको छ । यसको प्रमुख कारण भनेको शिक्षा र रोजगारीबीचको अन्तर हो । शिक्षाले रोजगारी सिर्जना गर्ने छैन भने युवालाई देशमै रोक्न सकिँदैन । त्यसैले व्यावसायिक शिक्षा, प्राविधिक शिक्षा, उद्यमशीलता विकास, आत्मनिर्भरता, सीपमूलक तालिमजस्ता पाटाहरू देश सुहाउँदो शिक्षाको मूल भाग बन्नुपर्छ ।
देश सुहाउँदो शिक्षाको अभावले गर्दा समाजमा असमानता, अवसरको खाडल र विदेश निर्भरता झनै बढिरहेको छ । यो समस्या समाधान गर्न राष्ट्रले शिक्षामा पर्याप्त लगानी गर्नु, शिक्षकको क्षमता अभिवृद्धि गर्नु, पाठ्यक्रममा यथार्थपरक परिमार्जन गर्नु र समुदायसँग सहकार्य गर्दै शिक्षालाई व्यावहारिक बनाउनु अत्यावश्यक छ ।
विद्यालयहरूमा पुस्तक पढाउने मात्र होइन, बगैँचा बनाउन सिकाउने, साना उद्योग चलाउने अभ्यास गराउने, सहकार्य र नेतृत्व विकास गराउने अभ्यास गरिनु आवश्यक छ । त्यसका लागि पाठ्यक्रम परिमार्जन, शिक्षक तालिम र प्रयोगात्मक सिकाइ प्रविधि आवश्यक छन् ।
देश सुहाउँदो शिक्षा भनेको केवल नयाँ विषय थप्नु मात्र होइन, शिक्षा प्रणालीमा व्यापक सुधार गर्नु हो । यसले मात्र नेपाली समाजलाई आत्मनिर्भर, सशक्त र समुन्नत बनाउने दिशामा अग्रसर गराउन सक्छ । यो परिवर्तन अब विकल्प होइन, आवश्यकता हो ।
आत्मनिर्भर हुने शिक्षा
हाम्रो परम्परागत शिक्षा प्रणालीले मुख्यतः किताबी ज्ञानमा जोड दिने गरेको छ । विद्यार्थीहरू परीक्षा पास गर्न, अंक ल्याउन र जागिर पाउनका लागि पढ्छन् । तर, यस्तो शिक्षाले आत्मनिर्भरता प्रदान गर्न सक्दैन । आत्मनिर्भर हुने शिक्षा भनेको व्यावहारिक ज्ञान, सीप, सोच्ने र निर्णय गर्ने क्षमता विकास गर्ने शिक्षा हो । यो शिक्षाले मानिसलाई सिर्जनशील बनाउँछ, समस्या समाधान गर्न सक्षम बनाउँछ र जीवनलाई आफ्नै मिहिनेतबाट अगाडि बढाउने प्रेरणा दिन्छ ।
आत्मनिर्भर बन्नका लागि प्राविधिक, व्यावसायिक र उद्यमशीलतामूलक शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ । खेतीपाती, सिलाइकटाइ, कम्प्युटर ज्ञान, बिजनेस व्यवस्थापन, लगानी, प्रविधिको उपयोग जस्ता सीप सिकाउने शिक्षा आजको आवश्यकता हो । यसले युवाहरूलाई स्वरोजगारतर्फ डो¥याउँछ, जसले बेरोजगारी घटाउँछ र देशको अर्थतन्त्र पनि सबल बनाउँछ ।
नेपालजस्तो विकासोन्मुख देशमा आत्मनिर्भर शिक्षा प्रणाली झनै जरुरी छ । यहाँ धेरै युवा वैदेशिक रोजगारीमा जानु परिरहेको छ । यदि उनीहरूलाई स्कुले तहदेखि नै सीपमूलक र व्यावहारिक शिक्षा दिइएको भए, उनीहरू आफ्नै गाउँघरमै केही उत्पादन गर्न सक्थे । यसले देशको समग्र विकासमा ठूलो योगदान पुग्थ्यो ।
जसका लागि सरकार, शिक्षाविद् र समाज सबै मिलेर आत्मनिर्भर शिक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता छ । विद्यालयहरूमा पुस्तक पढाउने मात्र होइन, बगैँचा बनाउन सिकाउने, साना उद्योग चलाउने अभ्यास गराउने, सहकार्य र नेतृत्व विकास गराउने अभ्यास गरिनु आवश्यक छ । त्यसका लागि पाठ्यक्रम परिमार्जन, शिक्षक तालिम र प्रयोगात्मक सिकाइ प्रविधि आवश्यक छन् ।
आत्मनिर्भर बन्ने शिक्षा नै मानवलाई साँचो अर्थमा शिक्षित बनाउँछ । यस्तो शिक्षा पाउने व्यक्ति आत्मविश्वासी हुन्छ, समाजका लागि उपयोगी हुन्छ र राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्छ । त्यसैले आजको शिक्षाले बालबालिका र युवाहरूलाई केवल सर्टिफिकेट नदिई जीवन चलाउन सक्ने सीप दिनुपर्छ । आत्मनिर्भर बन्ने शिक्षा नै दिगो विकास र समृद्ध नेपालको आधार हो । (ढुंगेल हिमालय टाइम्स अनलाइन संस्करणको डेक्स सम्पादक हुनुहुन्छ ।)






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…