
नेपालको समकालीन राजनीतिमा देखिएको दृश्य अप्ठ्यारो मात्र होइन, चिन्ताजनक मोडमा आइपुगेको छ । संसद्को ‘कुलिङ अफ पिरियड’ विवादमा सत्ता र प्रतिपक्ष दुवैपक्ष एकै धारमा उभिनु केही मात्रामा सकारात्मक आशा जगाउने संकेत भए तापनि, अन्य बहस र गतिविधिमा दलहरू आफ्ना स्वार्थ, गुट र नेतृत्वका सेरोफेरोमै घुमिरहेको देखिन्छ ।
संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले केन्द्रीय समितिको बैठकमा व्यस्त छ । तर, यो व्यस्तता पार्टी सुदृढीकरण, नीति निर्माणका लागिभन्दा पनि गुटगत प्रतिशोध र व्यक्तिवादी आलोचना-प्रत्यालोचना गर्ने थलो बनेको देखिन्छ । मोहन बस्नेत र गगन थापाबीचको टकराव, डा.शेखरको आक्रोश र विनोद चौधरीको उहाँकाप्रति टिप्पणी तथा त्यसको प्रत्युत्तरमा आएका कटाक्षहरूले पार्टीभित्रको आन्तरिक संवाद स्तरहीन बन्दै गएको संकेत गर्छ । नेतृत्वले यस्तो मनोवृत्तिलाई व्यवस्थापन गर्न नसक्नु अझ ठूलो समस्या हो ।
यो प्रवृत्ति नयाँ होइन । इतिहासमै फर्केर हेर्दा, नेपाली कांग्रेसभित्र खेमाबन्दीको शृंखला निरन्तर रहिआएको छ । बीपी कोइराला र मातृकाप्रसाद कोइराला, बीपी र सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईविरुद्ध गिरिजाप्रसाद कोइराला, गिरिजा र देउवा, अनि अहिले देउवा र डा.शेखर कोइरालाबीचको तनाव । केन्द्रीयस्तरमा देखिएका यस्ता चिरा र अन्तरविरोध सबैले पार्टीलाई संस्थागत राजनीतिको बाटोमा अघि बढ्न कहिल्यै दिएनन् । कांग्रेस जस्तो पुरानो र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने दलमा अहिले पनि वैचारिकभन्दा व्यक्तिगत लडाइँ हावी हुनु दुःखद् हो ।
यतिखेर कांग्रेसभित्र सरकारमा दोस्रो ठूलो पार्टी नेकपा एमालेलाई नेतृत्व सुम्पिएर त्यसको पछ्यौरी समात्नुपरेको असन्तुष्टि चुलिँदै गएको छ । कतिपय नेताहरूले देउवालाई तत्काल प्रधानमन्त्री बनाउनुपर्ने माग उठाएका छन्, जसमा माओवादी पनि समर्थन जनाइरहेको देखिन्छ । तर, पार्टीभित्र यस्तो गम्भीर विषयमा व्यापक र गहिरो छलफल हुन नसक्नु, नेतृत्वको कमजोरीमात्र होइन, दलकै दीर्घकालीन संकटको संकेत पनि हो । यहीबीच, अन्य दलहरू पनि आ–आफ्नै आन्तरिक तनावमा छन् । एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि खुलेर आलोचना गर्ने नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोध्नु तर आलोचनाको मर्ममाथि छलफल नगर्नु, सत्ता केन्द्रित नेतृत्वप्रति असहिष्णुता देखाउने संकेत हो । अझ रोचक त के छ भने एकताका नेपालकै नजिक रहनुभएकी नेतृबाट यस्तो आलोचना आउनुले ‘सत्ता गुमेको नेताको प्रभाव क्षयीकरण हुँदैछ भन्ने जनमानस निर्माण गरिरहेको छ ।
माओवादी केन्द्रको अवस्थालाई हेर्दा पनि सत्ता नै अन्तिम लक्ष्य भएको स्पष्ट देखिन्छ । हाल सरकारमा नहुँदा माओवादी निरन्तर सरकारविरोधी धारणा सार्वजनिक गरिरहेको छ । र, सरकारको वैधता सकिएको दाबी गर्दै आएको छ । तर, यस्तो गम्भीर आरोपको आधार र स्पष्ट व्याख्या गर्न भने माओवादी असफल छ । सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गर्नु जायज भए पनि वैधानिकता खारेज गर्ने अधिकार जनताले निर्वाचनमार्फत दिन्छन्, दलहरूले होइन । त्यसैले माओवादीको आलोचना प्रतिक्रियात्मकभन्दा पनि सत्ताको पुनःसाझेदार बन्ने चाहनाबाट प्रेरित देखिन्छ ।
यो सम्पूर्ण अवस्थाको गहिरो विश्लेषण गर्दा स्पष्ट हुन्छ कि नेपालको राजनीति ‘राजनीतिक निरन्तरता’ भन्दा ‘सत्तामा टाँसिने निरन्तर प्रवृत्ति’तर्फ लम्किरहेको छ । सरकारमा भएकाहरूको प्राथमिकता सत्ता जोगाउने हो, प्रतिपक्षमा भएकाहरूको चाहना सत्ता उल्टाउने र त्यसपछि त्यसैमा सहभागी हुने हो । व्यक्तिगत, गुटगत, र छोटो अवधिका रणनीतिमा अल्झिएको यस्तो राजनीतिक व्यवहारले मुलुकको दीर्घकालीन विकासको मार्ग अवरुद्ध बनाइरहेको छ । यदि राजनीतिक दलहरू विशेषतः कांग्रेसजस्ता पुराना र लोकतान्त्रिक अभ्यासमा अडिएका दलहरूले–व्यक्तिवादी विमर्शभन्दा माथि उठेर नीति, विचार र सिद्धान्तमा आधारित बहस गर्नसके, त्यस्तो अभ्यासले अन्य दलहरूमा पनि सकारात्मक दबाब सिर्जना गर्न सक्छ । तर, अहिलेको बैठक, छलफल, र रणनीति सँगसँगै मुलुकको सार्वजनिक अनुभूति भने निराशाजनक रूपमा निरन्तर पतनतर्फ गइरहेको छ ।
आजको यथार्थ भनेको यही हो-राजनीति नामको अभ्यास त चलिरहेको छ, तर त्यो राष्ट्रिय हितभन्दा व्यक्ति र पद केन्द्रित निरन्तर अभ्यास हो । यसले संस्थागत राजनीति होइन, सत्ताकेन्द्रित सत्ता खेलमात्रै परिभाषित गरिरहेको छ । देश भने अझै पनि दूरदृष्टि, निष्ठा र नेतृत्वको खोजीमा छ । नेपालको राजनीतिमा देखिएको अस्थिरता, खिचातानी र गुटगत द्वन्द्वहरू कुनै एक दलको मात्र समस्या होइन, समग्र राजनीतिक संस्कृतिको गहिरो रोग हो । जब दलभित्र नीति, विचार र जनताको सेवाभन्दा गुट, पद र व्यक्तिगत वर्चस्वको लडाइँ हावी हुन्छ, तब त्यसको असर केवल दलभित्र सीमित रहँदैन । देशको समग्र प्रगतिमा पनि अवरोध खडा गर्छ ।
वर्तमान राजनीतिक नेतृत्वले समयमै आत्मसमीक्षा नगरे गम्भीर अविश्वास र वितृष्णा झनै बढ्दै जानेछ । जनताले दिएको म्यान्डेटलाई आत्मकेन्द्रित राजनीतिले उपहास गरिरहेको अनुभूति भइरहेका बेला आवश्यक कुरा हो : सबै दल र नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि सोच्न थाल्नुपर्ने बेला आएको छ । राजनीति सत्ता प्राप्तिको साधनमात्रै होइन, राष्ट्र निर्माणको दृढ संकल्प हो भन्ने चेत फर्काउन सकेमात्रै यो देशले अपेक्षित गति र स्थायित्व पाउन सक्छ । अहिलेको अवस्थामा यही चेतना सबैभन्दा गम्भीर आवश्यकता हो । जसले राजनीति र राष्ट्र दुबैलाई उँभो लाग्न सक्ने बाटो देखाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच