
मित्र प्रधान, साहित्यिक नाम नर ब. प्रधान, एक बहुआयामिक प्रतिभा हुनुहुन्छ । साहित्यकार, निर्देशक, कुशल व्यावहारिक नेतृत्वकर्ता र समाजसेवी उहाँका स्थापित परिचय हुन् । हाल अमेरिका निवासी प्रधानको ‘द हिमालयन्’ कृतिले धेरैभन्दा धेरै पाठकको मन जित्न सफल भएको छ । उहाँले यस कृतिमा आफ्नो शरणार्थी जीवनका अनुभवलाई जीवन्त शैलीमा प्रस्तुत गर्नुभएको छ । यतिबेला उहाँ चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लिएर दर्शकमाझ आउँदै हुनुहुन्छ । उहाँले निर्देशन गरेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही २७ गते शुक्रबारदेखि सिनेमाघरमा आउँदैछ । यसअघि यो चलचित्रको विदेशका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । जहाँ दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको थियो । यो चलचित्रमार्फत् विदेशमा रहेका नेपालीहरूको जीवन, भावना र संघर्षलाई पर्दामा उतार्ने प्रयास गरेको उहाँ बताउनुहुन्छ । ‘यो मन त मेरो नेपाली हो’ संसारमा रहेका नेपाली भाषीलाई भाषा, साहित्य, कला संस्कृतिलाई जोड्ने अभियान रहेको बताउनुहुने मित्र प्रधान ‘नर’ सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँले निर्देशन गरेको चलचित्र यही २७ गते शुक्रबारदेखि सिनेमाघरमा आउँदैछ, कस्तो छ तयारी ?
तपाईंले भने जस्तै मेरो निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही शुक्रबार अर्थात् असार २७ गतेदेखि सिनेमाघरहरूमा आउँदैछ । यो चलचित्रलाई लिएर हामी यतिबेला निकै उत्साहित भएका छौं । यसको तयारीमा व्यस्त पनि छौं यतिबेला । यो चलचित्रमा मेरो निर्देशनसँगै कथालेखन पनि रहेको छ ।
यस चलचित्रको अमेरिकाका विभिन्न शहरमा विशेष शो गरिएको छ । अमेरिकाको कोलम्बस, हर्रिसवर्ग र पिट्सवर्गमा गरिएको विशेष शोमा चलचित्र हेर्ने दर्शकले खुलेरै प्रशंसा गरेका थिए । विशेष शो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा चलचित्रका माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएकाले चलचित्र निकै सुन्दर र हरेक नेपाली भाषीले हेर्नुपर्ने फिल्म बनेको भन्दै चलचित्रको तारिफ गरेका थिए ।
कस्तो चलचित्र हो यो ?
यो चलचित्रमार्फत् हामीले विदेशमा रहेका नेपालीहरूको जीवन, भावना र संघर्षलाई पर्दामा उतार्ने प्रयास गरेका छौं । चलचित्रले नेपाली भाषा, साहित्य, कला, इतिहास र पहिचान जस्ता विषयहरूलाई उजागर गर्दै ‘नेपाली को हुन् ?’ भन्ने गहिरो प्रश्न उठाउने उद्देश्य लिएको छ । चलचित्रले नेपाली भाषाप्रतिको गौरव र महत्वलाई पुनः स्मरण गराउनेछ । चलचित्रको निर्मातामा ज्ञानबहादुर प्रधान (रोशन) हुनुहुन्छ । पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा शिवम् अधिकारीको पटकथा छ । चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय समावेश छ । विश्वभर बसोबास गरिरहेका नेपालीहरूले आफ्नो भाषा, संस्कृति र मौलिकता बिर्सँदै गइरहेको समयमा यो चलचित्रले नेपालीपनको अनुभूति दिलाउनेछ । अंग्रेजी भाषालाई अत्यधिक प्राथमिकता दिने प्रवृत्तिलाई चुनौती दिँदै चलचित्रले नेपाली भाषाको गहिरो सन्देश दिने विश्वास छ । यो चलचित्रमा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको संगीत, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, रेनिश फागोको कलर ग्रेडिङ र कविराज गहतराज तथा प्रमोद भण्डारीको नृत्य निर्देशन छ । यसको छायांकन नेपाल, अमेरिकालगायत विभिन्न देशहरूमा गरिएको हो । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
यो चलचित्र निर्माण गर्ने सोच कसरी आयो ?
२०१४ देखिको सोच हो । विभिन्न देशमा रहेका नेपालीहरूसँग सहकार्य भयो । चलचित्रमार्फत् संसारमा भएका नेपालीलाई समेटांै भनेर यो चलचित्र निर्माण गरेका हौं । भावी पुस्तालाई हाम्रो संस्कार, संस्कृति, पुर्खाको नासो नयाँ पुस्तालाई हस्तान्तरण गरांै भनेर यो चलचित्र निर्माण भएको हो । सम्पूर्ण नेपाली मन र नेपालीका लागि बनाइएको चलचित्र हो यो ।
भाषा, साहित्य र पहिचानलाई नै केन्द्रमा राखेर चलचित्र बनाउने सोच कसरी आयो ?
भाषा हरायो भने अस्तित्व हराउँछ । आजका नेपाली युवालाई आफ्नो जरा सम्झाउन यो चलचित्रमार्फत् आग्रह गरेका हांै ।
नेपालदेखि विदेशका विभिन्न ठाउँमा यसको छायांकन भएको छ, लगानी पनि निकै गरेको बताउनुहुन्छ, चलचित्रलाई दर्शकले मन पराउने र व्यावसायिक सफलता पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
यो व्यावसायिक चलचित्र होइन । अर्थात् कमर्सियल चलचित्र होइन । यो हाम्रो एउटा अभियान हो । संसारका नेपालीलाई जोड्ने अभियान । माथि पनि भनें संसारका नेपालीलाई हाम्रो भाषा, साहित्य, कला संस्कृतिलाई जोड्ने अभियान हो । व्यावसायिक सफलता पाउनेमा आशावादी छौं ।
बृहत् अभियानसहित यो चलचित्र सिनेमाघरमा ल्याउँदै हुनुहुन्छ, कत्तिको गाह्रो-साह्रो अनुभव गर्नुभयो ?
हो, यहाँले भनेजस्तै बृहत् अभियानसहित यो चलचित्रको हामीले निर्माण गरेका हौं । सजिलो त छैन । गाह्रो पक्कै छ । फेरि पनि सहज गर्दै हामीले आजसम्म ल्याएका छांै । चुनौती त थियो तर हाम्रो विविधता नै कथालाई अन्तर्राष्ट्रिय बनाउने सौन्दर्य बन्यो । अब यो दर्शकको सम्पत्ति हुनेछ । उहाँहरूले यसलाई माया गर्नुहुनेछ ।
कति देशका कलाकारलाई यो चलचित्रमा समेट्नुभएको छ ?
‘यो मन त मेरो नेपाली हो’मा हामीले धेरै देशका कलाकारहरूलाई लिएका छांै । भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायतका देशका कलाकारहरूको अभिनय छ । नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल, अमेरिकालगायतका स्थानमा यसको छायांकन भएको छ ।
अमेरिकामा यसको प्रिमियर शो पनि गर्नुभयो, कस्तो पाउनुभयो प्रतिक्रिया ?
यस चलचित्रको अमेरिकाका विभिन्न शहरमा विशेष शो गरिएको छ । अमेरिकाको कोलम्बस, हर्रिसवर्ग र पिट्सवर्गमा गरिएको विशेष शोमा चलचित्र हेर्ने दर्शकले चलचित्रको खुलेरै प्रशंसा गरेका थिए । विशेष शो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा चलचित्रका माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएकाले चलचित्र निकै सुन्दर र हरेक नेपाली भाषीले हेर्नुपर्ने बनेको भन्दै चलचित्रको तारिफ गर्नुभएको थियो ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले यो चलचित्रलाई शुभकामना सन्देश दिएको पाइयो नि ?
हो, यहाँले भनेजस्तै नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवद्र्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले शुभकामना सन्देश पठाएको छ । पाठ्यक्रम विकास केन्द्रको समकक्षता तथा मूल्यांकन शाखाले यो चलचित्रको निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना सम्बन्धमा’ विषयको पत्र पठाउँदै सफलताको शुभकामना अर्पण गरेको हो । हामीलाई पठाएको पत्रमा भनिएको छ, ‘पद्मा ईश्वर इन्टरनेट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित चलचित्र हो । यस्ता प्रकृतिका समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रहरूलाई राज्यका निकायलगायत तथा सरोकारवाला सामाजिक संघसंस्थाले संरक्षण सम्वद्र्धन गर्नुपर्ने देखिन्छ । भविष्यका कर्णधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकाले विशेषतः विद्यालयस्तरका बालबालिकालाई यो चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ । देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नुभएकोमा निर्माण टिमलाई विशेष धन्यवाद ज्ञापन गर्छु ।’
यहाँ साहित्य क्षेत्रमा आफूलाई संलग्न गराइरहनुभएको व्यक्तित्व, निर्देशनको अनुभव कस्तो रहृयो ?
कठिन त थियो तर आफ्नो कथा आफैं निर्देशन गर्न पाउनु सधैं विशेष हुन्छ । शब्दबाट दृश्यमा रूपान्तरण गर्न पाइयो ।
सामाजिक अभियन्ता भएर तपाईंले साहित्य र सिनेमा दुवै प्रयोग गर्नुभएको छ । व्यवस्थापन कसरी गर्नुहुन्छ ?
समाजमा फर्कन केही गरुँ भन्ने सोच नै मेरो सबै सिर्जनाको केन्द्र हो । माध्यम जस्तो भए पनि उद्देश्य एउटै हो ।
यहाँको कृति ‘द हिमालयन्’लाई पाठकले कस्तो प्रतिक्रिया दिइरहेका छन् ?
धेरै पाठकले मलाई धन्यवाद दिनुभएको छ । आफूजस्तै शरणार्थीका आवाजलाई लेखेर संसारसँग बाँड्न पाएँ । पाठकको राम्रो प्रतिक्रिया नै पाइरहेको छु ।
आगामी दिनमा यहाँका अन्य कार्यहरू ?
नेपाली डायस्पोरा र शरणार्थी जीवनका विविध कथालाई पर्दामा ल्याउने योजना बनाइरहेको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच