
आहा, कति राम्रो पृथ्वी ! मेरो सुन्दर धर्ती-स्वर्गको टुक्रा । अटल हिमालय, स्निग्ध शैलेश्वरी, सुमधुर वनकुसुम, मन्दाकिनीको जल, पावन तरुलता जस्ता विशेषणमय थुँगामा प्रकृतिका अमृतगाथाहरू उनेर आधुनिक नेपाली साहित्यमालाको सिर्जना गर्ने महान स्रष्टाहरूमध्ये कविशिरोमणि लेखनाथ पौडेल, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधव घिमिरेलाई विशेष मानिएको छ । यद्यपि प्रकृतिवादी, नैतिकतावादी र सौन्दर्यवादी चिन्तन पक्षधरताका हिसाबले पर्या-मिमांशामा कविशिरोमणी लेखनाथ पौडेल अग्रणी देखिन्छन् । उनको ऋतु-विचार कवितासङ्ग्रहमा रहेको एउटा श्लोक हेरौँ-
ठूला साना प्राणी विधिका सन्तती सब,
सबैको साझा हो पृथ्वी गणको भोग्य विमल ।।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन भरी,
धरालाई पारी प्रणयासनले देवनगरी ।।
यस श्लोकले धर्तीको समग्र स्तुतिगान गरेको स्पष्ट देखिन्छ । यो धर्तीमा सबैले हाँस्नखेल्न पाउनुपर्छ भन्ने यस श्लोकको सन्देश कति अर्थपूर्ण छ तर आजका जेन-जेडलगायतका नवागन्तुक अल्फा पुस्ताहरूले विरलै यस्ता पृथ्वीप्रेम र प्रकृतिप्रेमका साहित्यमा डुबुल्की लगाएका होलान् । हो, यिनै पुस्ताहरूका माझ यो धर्ती-यी मेदिनी-यी वसुन्धरा वा भनौँ यो पृथ्वीको सौन्दर्यबोधसहित यसको पर्यावरणीय महत्वको संचेतना प्रसारण गर्न तथा यस अग्रगामी पुस्तालाई यो धर्ती संरक्षणको कर्तव्यबोध गराउन यति बेला आएका छन् एक धराप्रेमिल गुञ्जनकर्ता-कृष्ण बाउसे ।
‘पर्याप्रेमको गुञ्जन’ भित्रका कविताका आधारमा भन्नुपर्दा कवि कृष्ण बाउसे प्रकृतिका पुजारी, पर्या-बगैँचाका माली, अनवरत गुञ्जायमान भ्रमर अनि क्रियाशील हरितस्रष्टा हुन् भन्ने प्रष्ट हुन्छ । तेह्रथुममा जन्मेर वरपरका वन, जङ्गल, नदीनाला, माटो, कन्दरा, भीरपाखा, किटपतङ्ग, स्थानीयता र रैथाने संस्कृतिबीच हुर्केका उनी सानैदेखि लेखनमा रुचि राख्थे र तीसको दशकदेखि बालसाहित्यका साथै कविता, निबन्ध, व्यङ्ग्य आदि विधामा समर्पित देखिन्छन् । पछिल्लो समय उनी पर्या-साहित्यमा केन्द्रित भएका छन् र पर्याकवितामार्फत यस धर्तीको लागि नयाँ सिम्फोनी बोकेको हरियो गीत गुञ्जन गर्दै पाठक माझ आएका छन् । ‘पर्याप्रेमको गुञ्जन’ यिनको पछिल्लो कवितासङ्ग्रहको नाम हो । यस कृतिले मानवता, पृथ्वी-धर्ती-माटो, हावापानी, रूख बिरुवा, चराचर सृष्टिजगत, इकोसिस्टम र समग्र पर्यावरणको गीत गाएको छ ।
पर्याप्रेमको गुञ्जन’ भित्रका कविताका आधारमा भन्नुपर्दा कवि कृष्ण बाउसे प्रकृतिका पूजारी, पर्या-बगैँचाका माली, अनवरत गुञ्जायमान भ्रमर अनि क्रियाशील हरितस्रष्टा हुन् भन्ने प्रष्ट हुन्छ । तेह्रथुममा जन्मेका उनी सानैदेखि लेखनमा रुचि राख्थे र तीसको दशकदेखि बालसाहित्यका साथै कविता, निबन्ध, व्यङ्ग्य आदि विधामा समर्पित देखिन्छन् ।
आधुनिक मानव जातिले औद्योगिकीकरण र विकासका नाममा पृथ्वी र पर्यावरणप्रति ज्यादै अत्याचार गरेको छ । जथाभावी धर्तीको दोहन गरेको छ । वनजङ्गल र नदी नालाहरूको चीरहरण गरी अत्यधिक मात्रामा कार्बनडाइअक्साइड जस्तो विषाक्त ग्यासको उत्र्सजन गरेको छ । ‘पर्याप्रेमको गुञ्जन’ भित्र यस्तै क्रियाकलापविरुद्धका प्रतीकात्मक कविताहरू रहेका छन् । ५२ वटा कविताहरू सँगालिएको यस सङ्ग्रहलाई पढ्दै जाँदा यसभित्र समस्त मानव जातिलाई धर्ती बचाउन गरेको आहृवान बुलन्द भएको देखिन्छ ।
यसले उत्कृष्ट गद्यात्मक लयमा हरियो सन्देश दिएको छ भने पृथ्वीको अस्तित्वबारे आत्मचिन्तन पनि गरेको छ । साथै, माथि कवि शिरोमणि लेखनाथ पौडेलले भने जस्तो के यो धर्तीमा सबै हाँसिरहेका छन् त ? के सबै धराबासीले पृथ्वीको स्रोतसाधन बराबरी भोग गर्न पाएका छन त ? भन्ने प्रश्नहरूको उत्तर पनि खोजेको छ यसले । र उत्तर दिएको छ- यो धर्ती मानव जातिको मात्रै हुँदै होइन, बरु यो त सबै प्राणी, वनस्पति, सूक्ष्मातिसूक्ष्म जीवलगायत सबैको साझा घर हो । तथापि नव-उदारवादी सिमित धनाढ्य र पुँजीपति वर्गको लागि मात्रै हुने संरचनागत प्रणालीमा यतिबेला यस घर्तीलाई लुटेराहरूको स्वर्ग बनाइको छ भन्ने वैज्ञानिक तर्क पनि यसमा उपस्थित छन् ।
हिजोसम्म स्वर्गसमान रहेकी हाम्री पृथ्वी आज विकास नामका डोजरे छेदनमा परेर मर्माहत छिन् । जलवायु परिवर्तन गराउने इको-भिलेनहरू र धनाढ्य तेलब्यापारीले उनलाई आफ्नो कब्जाभित्र पारिसकेका छन् । अहिले उनी हरितगृह ग्यास उत्सर्जनले बनाएको कार्बनको कालो पछ्यौरीभित्र गुम्स्याइएकी छिन् । यसर्थ, अब धर्तीलाई यस दुरावस्थाबाट मुक्ति र संरक्षण चाहिएको छ । र यही अपिल र आहृवान गरिएको छ- पर्याप्रेमको गुञ्जनमा । यसमा इकोलोजिकल माउथ बज्जिङ वा भ्रमरको जस्तो सङ्गीत भेटिन्छ । अर्थात् यसभित्रका कविताहरूभरि मौरीले जस्तो भुनभुन गरेका छन् कविले । कलमको टुप्पोबाट समानता र परिवर्तनको चेतना बाँड्दै उनी यस धर्तीका लागि हरित योद्धा (ग्रीन बारियर्स) भएर सङ्घर्ष गर्न उद्यत् छन् । अझ उनी पर्याप्रेमका सदावहार संरक्षक हुनेछु भनी आफ्ना पितापुर्खा माझ कवितात्मक भाषामा प्रतिवद्धता पनि जनाउँछन् ।
हरियो साहित्य : सङ्क्षिप्त परिचर्चा
हरित साहित्य नयाँ उपविधाका रूपमा उत्तरआधुनिक साहित्यमा प्रविष्ट भएको छ । यस साहित्यमा प्रगतिवाद, मानवतावाद र क्रान्तिकारी सन्देशको समिश्रण हुन्छ । खासमा यसले पृथ्वीमाथि नवउदारवादी र कर्पोरेट समूहले गरेको दोहनलीलाको प्रतिरोधमा आफूलाई उभ्याउँछ । यसले पदार्थवादी-माक्र्सवादी कृटिक्स अन्र्तगत नै मूल चेतनाको विस्तार गर्छ, किनकि प्रकृति र यसका क्रिया प्रतिक्रिया वा अन्तरविरोध द्वन्द्वात्मक भौतिकवाद र विज्ञानका दृष्टिले नै बोधगम्य भएका छन् । यसर्थ प्रकृति र यसबाट बनेका पदार्थका भरमा बाँचेका समग्र जीव, रैथाने समाज तथा महिलाहरूलाई यसले जागृत गर्छ ।
हरित साहित्यले प्रकृतिको हेरचार गर्ने श्रमजीवी वर्गको पक्षधरता लिँदै त्यस्तै पात्रलाई हरित नायकत्व (ग्रीन हिरोइज्म) प्रर्दशन गर्न अभिप्रेरणा दिन्छ । पर्यासाहित्य यथार्थवादी धारमा लेखिन्छ । वस्तुतः पर्यासाहित्यको नायक सदैव पर्याशत्रु (इकोभिलेन) सँग युद्ध गरिरहेको हरित योद्धा हुन्छ । यसर्थ यस्ताखाले इको कविता, काव्य, निबन्ध वा उपन्यासहरूले फिक्सन, फेन्टासी, मायावी, कृत्रिमता र काल्पनिकता नभई सङ्घर्षशील एवं साँचो कथा र सत्य घटनामा आधारित पटकथा बोकेर परिवर्तनको कित्तातिर जानका लागि समाजलाई सन्देश दिने गर्दछन् ।
कृष्ण बाउसेको पर्याप्रेमको गुञ्जन पनि यही यर्थाथवादी चेतना विस्तारका लागि आएको छ । विधाका रूपमा यो पर्यावरणीय गद्यकविताहरूको सँगालो रहेको देखिन्छ । यसमा जम्मा ५२ थान पर्याकविताहरू रहेका छन् र यहाँ प्राविधिक र हरित विवेचनाका निमित्त यस सँगालोका प्रतिनिधि कविताहरूको रूपमा यसमा रहेका आठवटा कविताहरू छनोट गरी दृष्टिपरक समीक्षा प्रस्तुत गरिएको छ ।
कृष्ण बाउसे : यसरी गर्छन् धर्तीको चिन्ता
‘पर्याप्रेमको गुञ्जन’ कवितासङ्ग्रहको पहिलो कविता हो–फूलको प्रश्न । यथार्थमा फूल संसारमा सबैभन्दा प्रेमिल, निर्मल र सबैले चाहना गर्ने प्रियतम वस्तु हो । यो प्रेमको प्रतीक हो । यो भगवानलाई समर्पण गरिने वस्तु पनि हो । रङ्गीन हुनु, सुवासनायुक्त हुनु र प्राञ्जलता यसका गुणहरू हुन् । यसर्थ प्रकृतिको सर्वोत्तम सिर्जना नै फूलहरू हुन् । कवितामा फूलले समग्र मानिसलाई यसरी प्रश्न गर्छन्-
मैले त
आफूसँग भएभरको सौन्दर्य
तिम्रै आँखामा पोतिदिएकै थिएँ त !
मैले त
आफूसँग भएभरको सुवासलाई
तिम्रै नाकमा घसिदिएकै थिएँ त !
तर त्यसको बदलामा
आफैँले समेत पिउने
र आफ्नै शिरमा चढाउने पानीलाई नै प्रदूषित पार्दै
तिमीले नै
पु¥यायौ मलाई दुर्गतिको यो खाडलमा ।
जवाफ देऊ, ए कृतघ्न मान्छे !
दिएका हौ तिमीले मलाई
मेरो कुन अपराधको सजाय ?
यस कवितामा देवत्व र मानवताको सेवामा आफूलाई समर्पित गर्ने परोपकारी पात्रको रूपम फूललाई उभ्याइएको छ । मन्दिर आदिमा प्रयोग गरेपछि पनि फूलबाट अत्तर, बिउ, मल बनाउन सकिन्छ तर त्यस्ता विकल्पतिर नलागेर मान्छेहरू फूललाई नालीको फोहोरमा मिल्काउने गर्छन् र पर्यावरणमा प्रदूषण बढाउने गर्छन् । यस कविताले मान्छेमा रहेका यस्तै दुर्गुणहरू अर्थात् उसको कृतघ्नता, अविवेक र स्वर्थीपनको उजागर गरेको छ । यस कवितामा फूलको उपयोग नगर भनिएको छैन बरू दुरुपयोग चाहिँ नगर भनिएको छ र अधिकतम सदुपयोग गर भनिएको छ । यसरी यस कविताले एकै पटक प्रकृतिको सम्मान गर्न र मानवताको सेवामा जुटिरहन सकिन्छ र त्यसै गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।
अब दोस्रो कविता हेरौँ, यो ‘पर्याप्रेमको गुञ्जन’ हो । कविलाई उनका पिताको दिव्योपदेश सदा स्मरणमा रहन्छ । एउटा कवितांश हेरौँ-
मेरा प्रथम गुरु उहाँ, जो भन्ने गर्नुहुन्थ्यो-
तैँले रुखसँग व्यवहार गर्दा
मसँग व्यवहार गरे जस्तै गर्नू !
तैँले
नदीसँग व्यवहार गर्दा
तेरी आमासँग व्यवहार गरेजस्तै गर्नू
र
तैँले आकाश र धर्तीसँग व्यवहार गर्दा तेरा बाजेबजै
र तेरा छोराछोरीहरू सँग जस्तै व्यवहार गर्नू !
यसरी प्रकृतिलाई स्नेह गर्नु, रूखबिरुवालाई जोगाउनु, नदीलाई सफा राख्नु भनेको कवि बाउसेका लागि पितृको आज्ञा पालना गर्नु पनि हो । लाग्छ, पिताकै प्रभावले उनी पर्यावरणको प्रेमिल गीत गाउने भएका छन् र पर्यावरण जोगाउन दृढसंकल्पित छन् । उनले यही कवितामै भनेका पनि छन्-
बाँचेको स्वाङ पारिरहनुमा
कुनै आनन्द नहोस् मलाई
म आफैँ एकाकार नहुन्जेल
.... पर्याप्रेमको गुञ्जनमा !
यसरी नै पाँचौ कविता ‘विकासको जहर’ शीर्षकमा अहिले मानिसलद्वारा विकासका नाममा गरिएका कामहरू नै विनाशका कारण रहेको कुरा बताइएको छ । यस कवितामा मान्छेलाई डोजरसँग सम्बन्ध तोड्न भनिएको छ ः सडक र टावर बनाउने नाममा पहाडलाई नगिजोलौँ भनिएको छ ।
हेरौँ कविताको छोटो अंश-
ए बुल्डोजर !
ए साहुकार !
सम्बन्ध नै तोड बरू
तर, मेरो परिवेशलाई नधमिल्याऊ
कृपया मलाई
तिम्रो कथित विकासको जहर नपिलाऊ !
यसरी नै एघारौं कविता ‘पृथ्वीको चिन्ता’ मा अधिक दोहनले गर्दा पृथ्वी तातो कराही भएको पीडा देखिन्छ ।
कवितामा पृथ्वीको चिन्ता यसरी प्रकट भएको छ -
अब कसरी सुन्नु
मैले नै
उसले उसैलाई यसरी भुटिरहँदा निस्कने
उसको पीडाको अन्तिम चित्कार !
एकतीसौं कवितामा साँच्चै नै ‘विद्रोही हावाको चस्का’ देखिएको छ । धर्तीले सहने पनि सीमा हुन्छ र असहृय भएपछि पसुले समेत विद्रोह गर्छन् भन्ने कुरा मानिसलाई दुम्सीको उपमा दिँदै यहाँ यसरी भनिएको छ -
अबुझ दुम्सीहरूले
आफ्नो ओडारमा आफैँ धुवाँ लाएपछि
धर्ती स्वयं नै विद्रोहमा उत्रनुपरेको छ यसबेला
‘रुख भएर बाँच्न पाए !’ शीर्षकको कविता छब्बीसौं क्रममा छ । यस कवितामा त मानव सेवाको भावना बेजोड रूपमै प्रकटित भएको छ । यसमा रुखको कति धेरै महत्व दर्शाइएको छ भन्ने कुरा बुझ्न यसको एक अंश हेरौँ-
साच्चै ! कति सार्थक हुँदो हो यो जिन्दगानी
प्रकृतिको महाउत्सवमा माहुरी भई नाच्न पाए !
हरियालीको साथ रहेर फूल बनी हाँस्न पाए !
धुलो धुवा नाश गर्ने रुख बनेर बाँच्न पाए !
सबै सबैको सेवक बन्दै दुःख सबैको नास्न पाए !
सबै सबैको हृद् बनेर प्रेमको माला गाँस्न पाए !
छत्तीसौं कविताको शीर्षक ‘ब्ल्याकहोलको ऐजेन्ट’ रहेको छ । एउटा स्वार्थी मानिस वन लगाएर हरियाली स्थापित गर्न चाहन्न, हरितगृह ग्यास उत्सर्जन बन्द गर्न चाहन्न तर ऊ प्रकृतिप्रति अनवरत दोहन चाहन्छ भन्ने आसय रहेको छ यस कविताको । ऊ निरन्तर गन्धे तेल (पेट्रोल÷डिजेल) को मालिक बन्न चाहन्छ । लाग्छ कि उसलाई धर्तीको अस्तित्वको केही मतलब छैन । त्यसैले ऊ ब्ल्याक होल अर्थात् अस्तित्व लोप गराउने शक्तिको वारिस हो कि भन्ने आशङ्का गरेका छन् कविले । भौतिक विज्ञानका आखाँमा ब्ल्याक होल एउटा उच्च गुरुत्व–घनत्व रहेको मृत तारापिण्ड हो । यी गन्धे तेलवाला धनी मानिस पनि त्यस्तै मृत पिण्डका वारिस हुन् भन्ने यो प्रतीकात्मकता अति सादृश्य देखिन्छ यहाँ ।
यस कृतिको अन्तिम र बाउन्नौं कविता रहेको छ- ‘हरियाली संसारको पुनर्निर्माण’ । पृथ्वीको पारिस्थिकीय प्रणालीको पुनर्भरण, प्रदूषण नियन्त्रण र वृक्षरोपण महाअभियान चलाउन सकिएमा पृथ्वीलाई फेरि हराभरा बनाउन सकिन्छ भनेर हाम्रो आशा जगाउन यो कविताको रचना भएको बुझिन्छ । वास्तवमा केही असल मानिसमा हरितचेतना जागिसकेको पनि छ । नवीकरणीय ऊर्जाको उत्पादनमा जोड दिने प्रयासको थालनी पनि भइसकेको छ । वैश्विक उष्मा र वातावरणीय प्रदूषण घटाउनका निमित्त व्यक्तिगत र सामूहिक चेष्टा पनि भइरहेका छन् । त्यसैको आलोकमा नै यस कविताले अब संसार फेरि हरियालीले परिपूर्ण हुनेछ भन्ने एउटा आशाको दीपक प्रज्ज्वलित गरेको बुझिन्छ ।
मुठ्ठीभर मानिसहरूको धन र उपभोगको चरम लिप्शाका कारण आज विश्व प्रदूषणको चपेटामा परेको छ । परिणामस्वरूप जीव र वनस्पतिको जीवनका लागि प्रतिकूल हुनेगरी वैश्विक तापको वृद्धि हुँदा जलवायु परिवर्तन भई जैविक विविधतामा ह्रास आइरहेको छ र समस्त मानवजाति नै विलोपनतर्फ उन्मुख हुनपुगेको छ ।
अब यिनै वर्णन र पद्यांशहरूमा रहेर यसको सन्दर्भ, सारांश, शीर्षक, मूलभाव, भाषाशैली र निष्कर्ष जस्ता टिपोटका आधारमा पर्याप्रेमको गुञ्जनमाथि अत्यन्त सरलरेखीय समीक्षा गरौँ ।
सन्दर्भ : कवि कृष्ण बाउसेले यी पर्यावरणीय कविताहरू एक यस्तो समयमा ल्याएका छन् जसले हरियो चेतनाको आशान्वीत दीप जलाएको छ । किनकि यतिबेला संसार ग्लोबल वार्मिङको पीडामा छ । हो पृथ्वी तात्दै छ र यो तातो कराही जस्तै हुँदैछ । अब त तापमान १.५ डिग्री पनि कट्दै छ । यसले गर्दा संसार त्रिघातीय पर्यावरणीय संकट (ट्रिपल प्लानेटरी क्राइसिस) को दलनमा परेको छ । जलवायु परिवर्तन र जैविक विविधताको नोक्सानी उच्च छ । प्लास्टिकको फोहोर र कालो प्रदूषण यत्रतत्र बढेको छ । यसले गर्दा धर्तीको अस्तित्व नै संकट नजिक पुगेको छ । तसर्थ यो कवितासङ्ग्रहलाई वास्तविक कथामा बुनिएको एक उत्कृस्ट समसामायिक कथा वाचक (स्टोरी टेलर) मान्न सकिन्छ । यसमा विज्ञानसम्मत संकथनहरू छन् र यो समय सान्दर्भिक पनि छ ।
सारांश : यी बाउन्नवटा कविताहरूको शब्द र रूप फरक रहे तापनि कसरी हरियाली बढाउने, कसरी प्रदूषण नियन्त्रण गर्ने अनि कसरी पर्यावरणीय सन्तुलन र जैविक विविधता कायम गरी पृथ्वीमा मानवजातिको अस्तित्वलाई जोगाइराख्ने भन्ने ध्याउन्न नै व्याप्त छ सबैमा । यसका लागि यहाँका प्रत्येक कविताले पर्याचेत र सहअस्तित्वका विविध सन्देशहरू बोकेका छन् । अनि सर्वसाधारण सबैमा यो चेतना प्रवाहित गर्न यो कवितासङ्ग्रह सफल छ ।
शीर्षक : यस कृतिको शीर्षक ‘पर्याप्रेमको गुञ्जन’ सही, सटिक र उपयुक्त देखिन्छ । यस शीर्षकले सङ्ग्रहका ५२ वटै कविताको प्रतिनिधित्व गरेको छ । किनकि पर्याप्रेमको सल्लेरी सङ्गीत र हरियो लहरमा यो प्रवाहित छ अनि यसले अविश्राम भ्रामरी गुञ्जन (बि बज्जिङ) गर्न सकेको पनि छ र त यसले सबैतिर पर्या-तरङ्ग ल्याएको छ ।
मूलभाव : यस कवितासङ्ग्रहको मूल भाव भनेको मानव जातिलाई पृथ्वी, प्राकृतिक स्रोत, नदीनाला, वनस्पति, प्राणीलगायत समग्र पर्यावरणीय प्रणालीप्रति आदर र प्रेम गर्न गरिएको आहृवान नै हो । औद्योगिकीकरणबाट पृथ्वीको अति दोहन भई सर्वत्र विनाश हुँदै गएको सन्दर्भप्रति हामीलाई थप सचेत गराउँदै यस कृतिले हामीमा समग्र हरित चैतन्यको वृद्धि गराएको छ ।
भाषाशैली : यसमा विशुद्ध नेपाली भाषाको प्रयोग भएको छ । यसमा पर्याप्त बिम्ब र प्रतीकहरू प्रयोग भएका छन् । कविलाई मौरी र रूख बनी बाँच्न असाध्यै रहर देखिन्छ । यो कृतिमा प्राविधिक शब्दहरू पनि प्रशस्तै छन् । संरचनात्मक रूपमा उत्तरआधुनिक साहित्यको राग यसमा प्रयोग भएको देखिन्छ, जसले प्रगतिशील, क्रान्तिकारी, सामाजिक र वातावरणीय न्याय जस्ता दार्शनिक विचारलाई अपनाएको पनि छ । तसर्थ यो पर्यासाहित्यको प्रवर्गमा परेको छ ।
निष्कर्ष : समस्त मानव जातिलाई यस धर्ती र यसका स्रोतसाधनको दिगो संरक्षण गर्न सन्देश प्रवाहित गर्न यो सिर्जना सफल छ । मुठ्ठीभर मानिसहरूको धन र उपभोगको चरम लिप्शाका कारण आज विश्व प्रदूषणको चपेटामा परेको छ । परिणामस्वरूप जीव र वनस्पतिको जीवनका लागि प्रतिकूल हुनेगरी वैश्विक तापको वृद्धि हुँदा जलवायु परिवर्तन भई जैविक विविधतामा ह्रास आइरहेको छ र समस्त मानवजाति नै विलोपनतर्फ उन्मुख हुनपुगेको छ । तसर्थ, कार्बनडाइ अक्साइड एवं मिथेन जस्ता विषाक्त हरितगृह ग्यासको उत्सर्जन र डोजरे विकासलाई तत्कालै बन्द गर्न सकेमात्र हरियालीको वृद्धि र पर्यावरणको पुनर्भरण हुनसक्छ ।
सबैभन्दा बुद्धिमान प्राणीको नाताले मानिसले नै धर्तीका समस्त प्राणी, वनस्पति र प्रकृतिका अवयवहरूबीच सहअस्तिव कायम गर्न अग्रसर हुनुपर्छ । अनि त्यसको परिणामस्वरूप उपलब्ध हरित संसारमा सबै खुशी र सुखी भएर जिउन सक्छन् । समीक्षित कविता संग्रह ‘पर्याप्रेमको गुञ्जन’ ले कलात्मक भाषामा यही चेतनाको सम्प्रेषण गर्ने यथेष्ट जमर्को गरेको छ । अतः आउनुहोस् हरित स्रष्टा कृष्ण बाउसेसँगै हातेमालो गर्दै हामी पनि पृथ्वीरूपी सुन्दर बगैँचामा पर्याप्रेमको गुञ्जना गरौँ ।
(घिमिरे पर्यावरणयी सङ्कट, पर्यासाहित्य र ज्ञान मिमांशाहरूमा कलम चलाउने लेखक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच