
सिर्जना मानव सौन्दर्यको अनुपम उपहार हो । यो खाज्नेले नपाउने र नखोजेका व्यक्ति विशेषमा पनि आएर लुकामारी खेल्ने अजीव शक्तिसञ्चार हो जसबाट कुनै व्यक्ति चाहेर पनि भाग्न सक्दैन र कुनै व्यक्तिले खोजेर पनि पाउन सक्दैन । महल कत्रो छ ? हेर्दैन यसले । भ्रष्टाचार कति अग्लेको छ ? नाप्दैन यसले । राजनीतिको कुन कुर्सी चढ्न सफल छ ? गोड्दैन यसले । यसैले हामी जस्ता भिखारी पनि यसमा नै पौडिँदै छौं आनन्दले सन्तुष्ट हुँदै भने रवीन्द्रनाथ टेगोर जस्ताले पनि यसमै शान्तिको सास फेरिरहेको हामी पाउँन सक्छौँ ।
कैयौं कुवेरपतिहरू यसका अभावमा आत्महत्या गरिरहेका छन् भने कैयौं सडकछापहरू यसकै भावमा जीवन नाँचीहाँसी रहेका छन् । साहित्यको खुवी नै मृत्युलाई जीवनमा परिणत गर्नु, जीवनलाई अहङ्कारमुक्त साधुपनको उचाइ प्रदान गर्नु हो । यसै सन्दर्भमा म विनोद दाहाल वत्स जो मेरा गाउँले भाइ पनि हुन् उनलाई सान्दर्भिक बनाउँदै छु आज यता ।
न्यूनतम आधारभूत आवश्यकताको रेखोभन्दा निकै तल तर मेरोभन्दा चाहिँमाथि रहेका विनोद जीवनका कठोर सङ्घर्षका पाइला उचाल्दै अघि बढे । पण्डित र बहिर्मुखी स्वभावका बाबु चन्द्रलाल दाहालका पुत्र विनोद स्वभावका दृष्टिले ठीक बाबुकाविपरीत देखिन्छन् अर्थात् अन्तर्मुखी । बाँच्नकै लागि सङ्घर्षको फराक आँगन दौडिनुपर्ने विनोदले व्यावहारिक जीवनको नौका पार लगाउन शिक्षा क्षेत्रलाई रोजे । कलेज र स्कुलीय शिक्षा क्षेत्रका मैदानमा ओठका हुङ्कार उफ्रेर थकित जीवनका पाइला वासस्थानमा पुग्दा कुन नै ऊर्जा बाँकी बँचेको हुन सक्छ र ?
विनोद वत्स सहज प्रातिभ कवि नभएर आभ्यासिक कवि हुन् । जन्मजातका अंशमा केहीमात्र कविताको अवशेष रहेका कविहरूले कवि बन्न निकै ठूलो तपस्या गर्नुपर्दछ । समाधि कस्नुपर्दछ । नयाँ विचार जन्माएर नयाँ बाटो हिँड्ने हिम्मत गर्न सक्नु पर्दछ । विद्रोहका कठोर क्षण पार गर्ने साहस जन्माउन सक्नुपर्ने हुन्छ ।
गोरखापत्रको मुना पत्रिका हुँदै युवामञ्चसम्म पाइला टेकेका विनोद वत्स अन्तरमुखी स्वभावकै मात्रा ज्यादा भएर होला यी क्षेत्रमा अगाडि बढ्न यसर्थ पनि सकेनन्–अन्तरमुखी व्यक्तित्व विद्रोहको आयाम ओकल्न सक्दैन र जोखिमी लिनसँग ऊ सधैं डराइरहेको हुन्छ । विनाजोखिम र विनाविद्रोहको सामान्य तर सुनिश्चित यात्रातिर यिनले पाइला उचाले । यस्ता खालका जीवनगति अन्यका आँखाका नानी त हुन्छन् तर उनीहरूकै स्वार्थका सीमासम्म मात्र । लग्भग यिनको जीवनयात्रा अहिलेसम्म यसै घेराबाट अगाडि बढिरहेको छ । न कुनै आकर्षण, न कुनै विकर्षण ।
अहिले बाँच्नका लागि खासै सोच्नुपर्ने आवश्यकता नरहे पनि पारिवरिक आवश्यकताका परिधीय मान्यता भिन्न चाहनाकै धमिला पोखरीमा पौडिरहने बानीका दास अघिका मान्छे झैँ यिनमा पनि भएकै कारण अनेकौं थोरै आयआर्जन धेरै समय खर्चनुपर्ने क्षेत्रसँग सम्बन्धित छन् । तिनमा पनि विशेषगरी हिमालय टाइम्स पत्रिकामा उनको गाढा आबद्धता रहेको पाउन सकिन्छ । अहिलेसम्म तीन साहित्यिक विधाउपविधाका र चारवटा साहित्येत्तर गरी सातवटा साना र केही निकै ठूलासमेत कृति प्रकाशित गरिसकेका विनोद दाहाल वत्स पत्रकारिताका क्षेत्रमा चाहिँ यिनको पूर्ण निरन्तरता रहेको पाउन सकिन्छ । शहीद, ओखलढुङ्गा जस्ता कृतिमा यिनी अन्वेषक÷अनुसन्धाताका रूपमका देखा पर्दछन् भने व्यक्ति जीवनी लेखकका रूपमा पनि सुपरिचित नाम हो विनोद दाहाल वत्स ।
पहिलो पटक २०७० सालमा कवितात्मक कृति र यसकै सिडीसमेतमा निस्कन रहर गरेका विनोद वत्स साहित्यिक रूपले प्रविधाका क्षेत्रमा निकै ठूलो र सशक्त भीड खडा गरिरहेको ओखलढुङ्गाकै सर्जक त्यसमा पनि बहुआयामिक व्यक्तित्व अमर त्यागीद्वारा आविष्कृत बाछिटा सङ्ग्रहमा देखिएका यिनी बालकविता सङ्ग्रह प्रकाशनमा पनि निकै रुचि राख्ने व्यक्तिका रूपमा आएका पाइन्छन् । रुचि हुनु अलग कुरा हो, बाध्यतामा लेखिनु फरक प्रसङ्ग । इच्छाले लेखिनु अझै महत्तम पक्ष वा प्रसङ्ग हो ।
नेपाली साहित्यमा प्रविधाका अहिले व्यापक रूपमा र फाट्टफुट्ट रूपमा मात्र देखिएका समेतको गणना गर्ने हो भने पचासका आसपासमा रहेका छन् । यी सबैका अन्तर हेराइको लग्भग नजिकमा रहेकाले म स्रष्टा मित्रहरूलाई के भन्छु भने-‘विधामा तपाईं पोख्त हुनुहोस् जम्मै प्रविधा हप्ता दिनमा नै सामान्य चासो मात्रमा तपाईं राम्ररी लेख्न सक्नुहुन्छ तर कुनै एक प्रविधाविशेषमा तपाईं पोख्त भएर सफलताको उचाइ छुनुहोस् तर विधागत क्षेत्रको एक हरफ कोर्न पनि तपाईंलाई हम्मेहम्मे पर्दछ चाहे छन्द कवितामा होस् चाहे गद्य कवितामा । यसर्थ सुरुमा नै प्रविधामा लाग्नु भनेको हामीले सधैं विधागत साहित्यबाट हात धुनु हो । साहित्यकार हौँ भन्नेसम्मको नैसर्गिक अधिकार पनि गुमाउनु हो । अहिलेका धेरै प्रविधामा मात्र केन्द्रित मित्रहरूका मनोज्ञानलाई हेर्दा, लेखन क्षमतालाई बुझ्दा म यस निष्कर्षमा पुगेको छु । कतै विनोद दाहाल वत्सलाई पनि यस रोगले सताउने त होइन ?
विनोद वत्स सहज प्रातिभ कवि नभएर आभ्यासिक कवि हुन् । जन्मजातका अंशमा केही मात्र कविताको अवशेष रहेका कविहरूले कवि बन्न निकै ठूलो तपस्या गर्नु पर्दछ । समाधि कस्नुपर्दछ । नयाँ विचार जन्माएर नयाँ बाटो हिँड्ने हिम्मत गर्न सक्नुपर्दछ । विद्रोहका कठोर क्षण पार गर्ने साहस जन्माउन सक्नुपर्ने हुन्छ । विनोदमा अन्ध आस्थाका बन्धन तोडेर नयाँ विचारका फराक मैदानमा निर्भीक उफ्रिने क्षमता कमै छ । यस पाटोको निकै अभाव छ अरूमा जस्तै । यस गतिबाट साहित्यिक द्यौराली भेट्न कठिनमात्र होइन असम्भव नै हुन पुग्छ ।
पत्रकारिता पनि सपाट साहित्यिक व्यक्तित्व विकासका निमित्त घातक नै त नभनौँ हानीकारक चाहिँ निश्चय नै हो । पत्रकारिता सामान्य जनमानसले बुझ्ने मात्रको भाषा प्रयोगमा वस्तुनिष्ठ विचारको व्यायामस्थल हो केही अपवाद-शिव अधिकारी, पाण्डे जस्ता व्यक्तिलाई छाडेर । पत्रकारितामा निरन्तरता दिनु विनोदको साहित्यिक अन्तर विकासको तगारो पक्कै हो । उनी यसमा लिसो झैँ टाँसिउन्जेल साहित्यिक उर्वर फाँट उक्लन असम्भव हुन्छ ।
विनोदका लागि सम्मान/पुरस्कार साहित्यिक व्यक्तित्व विकासका लागि नकारात्मक नै ज्यादा भएका पाउँछु म । यिनी सम्मानित/पुरस्कृत हुन्छन् पत्रकारका नामबाट । प्रकृति छ साहित्यको । यसो हुँदा यिनको ध्यान पनि नैतिक रूपले उतै केन्द्रित हुनुपर्दछ । मानवीय नैसर्गिक स्वभाव पनि हो यो मान्छेको तर विनोदलाई यसले जन्मजात सहज प्रकृतिप्राप्त व्यक्तित्व विकासमा बाधा पु¥याएको स्पष्ट छ ।
राजनीति साहित्यिक विकासको पित्तथैली हो । नबुझी पनि सुख छैन । त्यसमै लट्ठियौँ भने पनि साहित्यिक हिसाबले मृत्यु बराबर नै हुन्छ । अझ स्पष्ट उदाहरण प्रगतिशीलको शिरपेच झुण्ड्याउने र निर्विकल्पका पिछलग्गुहरू साहित्यकारका नाममा निर्लज्ज शब्दखेलमा रमाएका हुन्छन् । सत्तामोहमा अन्तरङ्ग घुले/घुलाएका कसैको पनि उचाइ चुम्ने आँट जन्मन सकेको पाइँदैन । प्रदीप ज्ञवाली, प्रदीप नेपाल, मजगैयाँहरू यसै नियतका सिकार हुन् । विनोदको उठबस, कार्यक्षेत्र र उनले वा यिनले ठानेको आवश्यकता पूर्ति यसै अनुकूलतामा भएकाले र उनी यी क्षेत्रमा नै भएकाले पनि साहित्यिक अन्तर विकासमा पछि कति चासो राख्लान् भन्न सकिँदैन अहिले नै ।
शहीदसम्बन्धी र राजनीतिसम्बन्धी भीमकाय कृति लेखनतिर अझ व्यक्तिगत जीवनवृत्तका कृति सम्पादन लेखनतिर पनि बढी केन्द्रित भएको देखिने विनोद वत्सको स्रष्टा व्यक्तित्व यसै पनि झञ्झाका झारभित्र छोपिन सक्छ उनी यसै रूपमा मात्र अगाडि बढे आफूलाई आमूल परिवर्तन गरेनन् भने । जुन जुन क्षेत्रमा यिनी सक्रिय देखिन्छन् ती ती क्षेत्रको व्यक्तित्व विनोद होइन ।
अन्तरमुखी व्यक्तित्व भनेको नै कलात्मक व्यक्तित्व हो । साहित्यिक व्यक्तित्व हो । बहिर्मुखी व्यक्तित्व दिमाखमा विश्वास गर्ने, तर्कमा रमाउने भएकाले यिनीहरू आगासँग मितेरी लगाउँछन् । ती पनि कलमले ओकल्ने शब्दका आगा नभएर ओठले फाल्ने विचारका आगासँग यिनीहरूको निकट नाता हुन्छ । यस्ता व्यक्तिहरूबाट साहित्यिक कञ्चन कलात्मक उचाइको अपेक्षा गरिँदैन, गर्नु पनि हुँदैन । विनोदको सच्चा उचाइ गम्भीर कलात्मक उचाइको भएर पनि यिनको गति ठीक उल्टो माहोलमा एकीभूत भएको छ नछुट्टिने गरी ।
यात्राका सुरुतिरै पाइने प्रशंसा र पुरस्कार पनि व्यक्तित्व विकासका लागि कसैमा सकारात्मक बन्छन् भने कसैमा नकारात्मक पनि । विनोदका लागि सम्मान/पुरस्कार साहित्यिक व्यक्तित्व विकासका लागि नकारात्मक नै ज्यादा भएका पाउँछु म । यिनी सम्मानित/पुरस्कृत हुन्छन् पत्रकारका नामबाट । प्रकृति छ साहित्यको । यसो हुँदा यिनको ध्यान पनि नैतिक रूपले उतै केन्द्रित हुनुपर्दछ । मानवीय नैसर्गिक स्वभाव पनि हो यो मान्छेको तर विनोदलाई यसले जन्मजात सहज प्रकृतिप्राप्त व्यक्तित्व विकासमा बाधा पु¥याएको स्पष्ट छ । यसबाट मुक्त भएर आफ्नो नैसर्गिक व्यक्तित्व विकासको सद्बुद्धि धुलाको ओच्छ्यान, आकाशे छानो र एक्लो जीवनमा भए पनि पलावस् भन्ने आशा राख्दै शब्द पोखरीको डिलमा निस्कन्छु म ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच