
इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीको आयोजनामा ‘पृतनापति ट्रफी २०८२’ खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीले एक विशेष समारोहका बीच गर्नुभयो ।
उद्घाटन अवसरमा उपरथी केसीले खेलकुदलाई शारीरिक तन्दुरुस्ती, समर्पण र अनुशासनको प्रतीकका रूपमा वर्णन गर्दै यसले सैनिक क्षमताको विकासमात्र नभई राष्ट्रिय गौरव अभिवृद्धिमा पनि योगदान पुर्याउने बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम उज्ज्वल बनाउँदै आएका छन् ।
उपरथी केसीले सैनिक अनुशासन र खेलकुदको संयोजनबाट सेनाभित्र एकता, अनुशासन र स्वास्थ्य सुदृढीकरणमा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्नुभयो । यसप्रकारको प्रतियोगिताले सेनाभित्र आपसी सद्भाव, भाइचारा र प्रतिस्पर्धात्मक क्षमताको विकासमा मद्दत पुग्ने विश्वास उपरथी केसीले व्यक्त गर्नुभयो ।
प्रतियोगिता आगामी असार ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सामूहिक विधातर्फ फुटबल, भलिबल र बास्केटबल तथा एकल विधातर्फ एथलेटिक्स, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोका प्रतिस्पर्धा समावेश छन् । पूर्वी पृतनाअन्तर्गतका नम्बर २ बाहिनी अड्डा हिले, नम्बर १८ बाहिनी अड्डा गाइघाट र नम्बर २१ बाहिनी अड्डा चुलाचुलीअन्तर्गतका गण तथा गुल्मका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रतियोगिताबाट उत्कृष्ट ठहरिएका खेलाडीहरूले आगामी भदौमा काठमाडौंमा आयोजना हुने ‘प्रधान सेनापति ट्रफी २०८२’ मा प्रतिस्पर्धा गर्नेछन् । नेपाली सेनाले हरेक वर्ष यस्ता आन्तरिक प्रतियोगिता आयोजना गर्दै आएको छ । यस्तै, सेनाको खेलकुद विभागमा आबद्ध खेलाडीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी हुँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच