
पोखरा । स्याङ्जा जिल्लाले गण्डकी प्रदेश टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रोपटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङ्जाले नगद एक लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पूरा ग¥यो । स्याङ्जाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेल्नुभयो । उहाँले २२ बलमा १ चौका प्रहार गर्नुभयो । कुसुम गोदार ११ रनमा अविजित रहनुभयो । उहाँले १३ बलमा १ चौका प्रहार गर्नुभयो । ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट हुनुभयो । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १÷१ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोड्न सफल भयो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्नुभयो । रचनाले २५ बलमा २ चौका प्रहार गर्नुभयो । ओपनर सिर्जना पौडेल ५, विनिता नेपाली, शिखा दवाडी र रिया तामाङ शून्यमा आउट हुनुभयो । विनिता सिग्देल २, चन्द्रमाया बराल २ रनमा आउट हुँदा यशोदा भुजेल, सुशीला डिम्टुक पनि शून्यमै पेभिलियन फर्किनुभयो । सोनिमा पुन मगर शून्यमा नटआउट रहनुभयो । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो । सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिनुभयो ।
स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँ खेलको ‘वुमन अफ दी म्याच’सँगै उत्कृष्ट बलरसमेत घोषित हुनुभयो । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदीयमान खेलाडी घोषित हुनुभयो । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच