
काठमाडौं । चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ को भूमिकाबाट लोकप्रिय बन्नुभएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहँदै आउनुभएकी श्रेष्ठको शुक्रबार राति निधन भएको हो । लामो समयदेखि क्यान्सरसहितका रोगबाट पीडित लक्ष्मीलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । तर, स्वास्थ्य स्थिति बिग्रँदै जाँदा अस्पतालले उपचार सम्भव नभएको बताउँदै उहाँलाई घरमै राख्न सुझाव दिएको थियो । त्यसयता उहाँ कपन, बालुवाखानीस्थित घरमै रहनुभएको थियो ।
‘मेरी बास्सै’मा लक्ष्मीले सीताराम कट्टेलले निभाउने ‘खड्काजी’ को श्रीमती ‘अप्सरा आमा’को भूमिकामा अभिनय गर्नुभएको थियो । खड्काजी र अप्सरा आमाको छुच्चो, हास्यपूर्ण जोडी दर्शकमाझ अत्यन्त लोकप्रिय थियो ।
लक्ष्मी श्रेष्ठले ‘मेरी बास्सै’बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’ लगायतका टेलिशृंखला तथा थुप्रै चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । हास्यकलामा सशक्त अभिनय प्रस्तुत गर्दै नेपाली दर्शकको मन जितेकी लक्ष्मी श्रेष्ठको निधनले नेपाली कला क्षेत्रले एक कुशल अभिनेत्री गुमाएको छ ।
शनिबार बिहान पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिएको हो । त्यसअघि उहाँको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर सम्मान गरिएको थियो । उहाँको अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला, गायिका राधिका हमाललगायत कलाकार सहभागी हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच