
विराटनगर । आर्थिक क्षेत्रको समसामयिक विषयमा उद्योग संगठन मोरङले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उपसभापति एवं प्रतिनिधिसभा सदस्य एवं अर्थविद् डा. स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँग छलफल गरेको छ । सो अवसरमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले अर्थतन्त्रका आधार स्तम्भका रूपमा रहेका स्वदेशी उद्योग व्यवसायहरू आन्तरिक तथा बाहृय क्षेत्रको प्रभावमा परेको बताउनुभयो । उहाँले वर्तमान समयमा बैंकहरूमा अधिक तरलताका साथै ब्याजदर पनि घट्दो भए तापनि उद्योग क्षेत्रले अपेक्षाअनुसारको गति लिन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । अध्यक्ष राठीले बाहृय क्षेत्रमा छाएको अस्थिरताले आयातित कच्चा पदार्थमा निर्भर रहेका स्वदेशी उद्योगको लजिष्टिक खर्च वृद्धि भई उत्पादन लागत र व्यापारघाटा बढ्न गई अर्थतन्त्रमा दबाब सिर्जना भएको उल्लेख गर्दै आर्थिक मुद्दामा सम्पूर्ण राजनीतिक दलको साझा धारणा आउनुपर्नेमा जोड दिनुभयो ।
रास्वपाका उपसभापति एवं प्रतिनिधिसभा सदस्य वाग्लेले आर्थिक विकासक्रम संकुचित हुँदै गएको, नेपालको आर्थिक क्षेत्र कठिन अवस्थामा आइपुगेको चर्चा गर्दै अब रिफर्म तीव्र गतिमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले युवा पलायन रोक्न स्वदेशमै सम्मानित रोजगारीका अवसर उपलब्ध गराई जीवन निर्वाह गर्न सक्ने वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद वाग्लेले वर्तमान समयमा उद्योगी व्यवसायीको अधिकतम समय आफ्नो व्यवसाय विकासभन्दा पनि अन्य कुराहरूमा खर्चिनु परिरहेको भन्दै उद्योगीलाई सहजतासाथ व्यवसाय विकास गर्न सक्ने वातावरण तयार गर्न राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
रास्वपाका प्रवक्ता एवं सांसद् मनीष झाले नेपालको विकास निर्माण तीव्र गतिले अघि बढाउने हो भने एकीकृत रणनीति र योजना हुनुपर्ने बताउनुभयो । उहाँले आर्थिक विकासका लागि अपरिहार्य रहेको उद्योग व्यवसाय क्षेत्रको समग्र हित हुने गरी नीति निर्माण गर्नुपर्ने र त्यसका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले विद्युत् निर्यात गरिरहेको वर्तमान समयमा पनि उद्योगमा लोडसेडिङ र बारम्बार ट्रिपिङ भइरहने अवस्था रहेको बताउँदै उद्योगलाई निरन्तर विद्युत् उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । संगठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले उद्योगी व्यवसायीले अधिकांश समय प्रक्रियागत जटिलता सरलीकरण गर्नमै खर्चिनु परेको, स-साना कामका लागि पनि महिनौं पर्खनुपर्ने जस्ता कारणले अन्य विषयमा बृहत् रूपमा सोच्न नपाइरहेको गुनासो गर्नुभयो । संगठनका कोषाध्यक्ष पारस लुनियाले कागज र कागजजन्य वस्तु निर्यात गर्दै आएको र सरकारले निर्यातका लागि गरिने उत्पादनमा प्रयोग भएका कच्चा पदार्थमा लागेको महसुल समायोजन नगरेको गुनासो गर्नुभयो । संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले एमएस वायर रडको महसुलका सन्दर्भमा नीति र कानुनमा छिटो-छिटो परिवर्तन गरिदिँदा उद्योगी अन्योलमा परी लगानीकर्तामा निराशा छाएको भन्दै नीति निर्माण गर्दा दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, कार्यसमिति सदस्य वीरेन्द्र राठी, सिर्जन प्याकुरेल, सिद्धार्थ कावरा, उकेश अग्रवाल, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास वेगवानी, महिला उद्यमीहरू, नेपाली युवा उद्यमी मञ्च विराटनगर र सुनसरी च्याप्टरका पदाधिकारीलगायत अन्य उद्योगी व्यवसायीको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच