
काठमाडौं । कृषिप्रधान देश भनेर चिनिने नेपालको आधाभन्दा बढी जनसंख्या कृषिमा आश्रित छ । जसमा धान सबैभन्दा बढी क्षेत्रफल ओगट्ने बाली हो । नेपालमा वार्षिक झण्डै ५० लाख बढी मेट्रिक टन धान उत्पादन हुन्छ । तर, मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष अर्बौंको धान चामल आयात गर्नुपर्ने बाध्यता छ । असार महिना मनसुन सुरु हुने समय हो । यसपालि त झन् असार नलाग्नै नेपालमा मनसुन भित्रिएको थियो । झरी, हिलो र हरियालीले भरिएको मौसम कृषकहरूका लागि रोपाइँको मुख्य सिजन हो । विशेषगरी मध्य र पूर्वी पहाड तथा तराईका जिल्लाहरूमा धान रोपाइँ यही समयमा सुरु हुन्छ । असारलाई मानो रोपेर मुरी फलाउने महिनाका रूपमा समेत चित्रण गर्ने गरिन्छ ।
धान रोपाइँ हुने धेरै क्षेत्रमा सिँचाइको व्यवस्था छैन । आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँ नेपालमा प्रशस्तै छन् । तर, मनसुन भित्रिएको एक महिना हुँदासमेत देशभर एकनाश पानी पर्न सकेको छैन । समयमा पर्याप्त वर्षा नहुँदा तराईं-मधेसका धेरै ठाउँमा असार सकिनै लाग्दासमेत वर्षा हुन सकेको छैन । दुईतिहाइ असार सकिँदा तराई-मधेसका धेरै खेत बाँझै छन् । ब्याडमा राखेको बीउ छिप्पिन लाग्दासमेत रोप्न नपाएपछि किसान चिन्तत बनेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय असार तेस्रो सातासम्म एकतिहाइ क्षेत्रमा मात्रै रोपाइँ भएको छ । देशभरि १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । तर, असार २१ गतेसम्म तीन लाख हेक्टर जमिनमा मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । अझै असार १५ गतेसम्म त करिब २० प्रतिशत मात्रै रोपाइँ सकिएको थियो ।
हालसम्म सुदूरपश्चिममा मात्रै करिब आधा भूभागमा रोपाइँ सकिएको छ । कर्णालीमा पनि आधाआधी रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम र कर्णालीबाहेक अरू प्रदेशमा एकतिहाइ हाराहारी पनि । रोपाइँ हुन सकेको छैन । मधेस र कोसी प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । मधेसलाई अन्नको भण्डार नै मानिन्छ । तर, पर्याप्त पानी नपर्दा अन्नको भण्डार मानिने मधेसमै रोपाइँ हुन सकेको छैन ।
किसान भन्छन्- पानी नपर्दा खेत रोप्नै पाइएन
असार बित्नलाग्दा समेत पानी नपर्दा रोपाइँ हुन नसकेपछि किसान चिन्तित बनेका छन् । असार मध्यसम्म रोपाइँ गरिसक्ने किसान असार सकिन लाग्दासमेत पानी नपरेपछि चिन्तित बनेका हुन् । खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा बसिरहेका छन् । समयमै बर्खा नहुँदा धान रोपाइँ गर्न नपाइएको लहानका किसान रामकुमार यादवले बताउनुभयो । खेत जोतेर तयार पारे पनि पानी नपर्दा रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार पहिले पहिले असारको सुरुमै रोपाइँ सकिन्थ्यो । तर, यसपालि पानी नपर्दा असार सकिनै लाग्दा पनि किसानले खेत रोप्न पाएका छैनन् । चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ ।
सिजनमा सधैँ मल अभाव
पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । रोपाइँको बेला किसानले भोग्ने मुख्यतः दुईटा समस्या हुन् । सिँचाइ र मल अभाव । जुन यसपालि पनि दोहोरिएको छ । पर्याप्त वर्षा नहुँदा धान रोप्न नपाएका किसानले यसपालि पनि चाहे जति मल पाउन सकेका छैनन् । कृषिप्रधान देश नेपालमा रासायनिक मलको आपूर्ति हरेक वर्ष राष्ट्रिय लज्जाको विषय बन्ने गरेको छ । मुख्यबाली धान रोप्ने सिजन सुरु हुनासाथ रासायनिक मलको अभाव हुने गरेको छ । असार १५ गते कृषिमन्त्री रामनाथ अधिकारी स्वयंले रासायनिक मलको अभाव रहेको स्वीकारोक्ति सार्वजनिक कार्यक्रममै गर्नुभएको थियो । यसलगत्तै कृषिमन्त्री अधिकारीले करिब ६० हजार मेट्रिक टन मौज्दात रहेको र एक लाख १६ हजार मेट्रिकटन आउने क्रममा रहेको बताउनुभयो । तर, किसानले पर्याप्त मल पाएका छैनन् । धान रोप्ने सिजनमा आउँछ भनिएको मल गहुँ छर्ने सिजनमा समेत नआएको विगतको अनुभव छ ।
घट्दै खेतीयोग्य जमिन
नेपालमा बर्सेनि खेतीयोग्य जमिन पनि घट्दै गएको छ । घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तारजस्ता कारणले खेतीयोग्य जमिन घट्दै गएको हो । पछिल्लो १० वर्षमा नेपालमा खेतीयोग्य जमिन तीन लाख सात हजार २२९ हेक्टर जग्गा घटेको छ । तथ्यांक कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ को सार्वजनिक प्रतिवेदनले नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुने गरेको जनाएको छ । ४१ लाख ३० हजार ७८९ परिवारले उक्त क्षेत्रफलको जमिनमा खेती गरिरहेको विभागको तथ्यांक छ । अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार कृषक परिवारले २५ लाख २५ हजार हेक्टर क्षेत्रफलमा कृषि कार्य गरेका थिए । यो १० वर्षको अवधिमा नेपालमा कृषि गर्ने परिवारको संख्या नौ प्रतिशतले घटेको हो । कृषि गणना २०७८ अनुसार नेपालमा रहेका जनसंख्याको ६२ प्रतिशत परिवार कृषक रहेका छन् । ०६८ को कृषि गणनामा कृषक परिवारको संख्या ७१ प्रतिशत रहेको थियो ।
अब मल अभाव हुँदैन : कृषि मन्त्री अधिकारी
कृषिमन्त्री रामनाथ अधिकारीले भने मल अभाव नहुने बताउनुभएको छ । शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा उहाँले शनिबारदेखि मल अभाव नहुने दाबी गर्नुभएको हो । बैठकमा मन्त्रीका रूपमा गरेका कार्यहरू जानकारी गराउने क्रममा अधिकारीले एक लाख १० हजार टन मल नेपाल प्रवेश गरिसकेको दाबी गर्नुभएको हो । नेपाल आएको मल ३७ ठाउँमा रहेका गोदामबाट धमाधम बाँडिने उहाँको भनाइ थियो । ‘शनिबार साँझसम्म लोड भएर मल गोदाममा पुग्दै छ,’ मन्त्री अधिकारीले भन्नुभएको थियो, ‘मलाई लाग्छ शनिबारबाट मलको समस्या बजारमा नआउला ।’ कृषि मन्त्रालयमा आएको बजेटबाट २७ अर्ब रासायनिक मलका लागि दिइएको थियो । त्यसमध्ये योजनाको पैसा कटाएर एक अर्ब ८२ करोड रुपैयाँ समावेश गरिएका कारण अर्को वर्ष रासायनिक मलको समस्या नहुने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच