
बहुचर्चित आँधीखोलाको सभ्यतासँग जोडिने स्याङ्जाको भिरकोट नगरपालिका पछिल्लो समय पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका प्राथमिकतामा केन्द्रित रहेको छ । आन्तरिक आय सुदृढ नभए पनि भिरकोट नगरपालिकाले पूर्वाधार निर्माण र सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार यस पालिकामा कुल २२ हजार ६४५ जनसंख्या रहेको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण जिल्लाका रूपमा रहेको स्याङ्जाको मध्यभागमा अवस्थित यो नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ७८ करोडको बजेट विनियोजन गरेको छ । भिरकोट नगरपालिकाको पछिल्लो बजेट, गत स्थानीय निर्वाचनयताका कार्यप्रगति र आगामी योजनाबारे केन्द्रित रहेर नगरप्रमुख गोविन्दकुमार कर्माचार्यसँग हिमालय टाइम्सका लागि नकुल अर्यालले गर्नुभएको कुराकानी :-
भिरकोट नगरपालिकाको प्रमुखका रूपमा तीन वर्ष काम गरिसक्नुभएको छ । यो तीन वर्षको अनुभव कस्तो रहृयो ?
हामी निर्वाचित भएर आएको तीन वर्ष पूरा भइसकेको छ । अहिले नगरपालिकाको जनसंख्या करिब २६ हजार छ । नौवटा वडा छन् । नगरपालिकाप्रति जनताका अपेक्षाहरू धेरै छन् । जनअपेक्षा पूरा गर्ने हाम्रो प्रतिबद्धता पनि कायमै छ । यद्यपि नगरपालिकाको आन्तरिक आयस्रोत निकै कम छ । प्रदेश र संघ सरकारबाट पनि पर्याप्त बजेट हामीले पाउन सकेका छैनौं । जनताले चाहेका विकास निर्माणदेखि सेवा सुधारसम्मका सबै काम बजेटमै गएर ठोकिन्छ । सीमित स्रोत र साधनका बाबजुद हामीले बढीभन्दा बढी काम गर्ने प्रयास गरेका छौं । हामीले चुनावमा जनतामाझ गरेका वाचा बिर्सिएका छैनौं । तीन वर्षमा हामीले कतिपय काम सम्पन्न ग¥यांै । कतिपय काम जारी छ । अब दुई वर्षमा पालिकाको दीर्घजीवनमा फरक पर्ने गरी हामी विकास निर्माणको काम सम्पन्न गर्छौं ।
तीन वर्षको अवधिमा धेरै काम गर्यौं भनेर दाबी गर्नुभयो । के-कस्तो काम गर्नुभयो ?
हाम्रो मुख्य प्राथमिकता तीनवटा छन् । जसमध्ये पहिलो बयरघारीबाट बानेथोक हुँदै बिरुवा जाने बाटो निर्माण गर्नु थियो । दोस्रो प्राथमिकता बयरघारीबाट मोहनडाँडा हुँदै ठूलो भञ्ज्याङ भएर पर्वतको वाससम्म जाने बाटो बनाउने कुरा थियो । यी दुवै सडक निर्माणको कामले तीव्रता पाएको छ । तेस्रो आँधीखोला तटबन्धको विषय थियो । वर्षाको समयमा आँधीखोलाले कृषियोग्य जमिन र जनधनको क्षति गर्ने गरेको थियो । आँधीखोला र कृषियोग्य जमिन एउटै सतहमा भएकाले जुन विपद् भोग्नुपरेको थियो त्यसलाई कम गर्न तटबन्ध बनाउने काम अगाडि बढेको छ । आँधीखोलाको सात किलोमिटरजति क्षेत्र हाम्रो पालिकामा पर्छ । त्यसमध्ये यो वर्ष तीन किलोमिटर तटबन्ध गरिसकेका छौं । यी कामहरू सबैभन्दा बढी चासोका काम हुन् । यसबाहेक नियमित र भैपरी आउने तथा जनताको सुविधाका लागि गर्न सकिने कामहरू हामीले गरिरहेकै छौं ।
स्थानीय तहको नेतृत्वमा तीन वर्ष रहँदा राम्रै काम गरेका छौं
स्थानीय तहसँग जनताका अपेक्षा धेरै छन्
जनप्रतिनिधि बन्नुअघि गरेका वाचा बिर्सिएका छैनौं
तपाईंले तटबन्ध भन्नुभयो तर आँधीखोलामा त प्राकृतिक स्रोतको दोहन भइरहेको भन्ने आरोप छ नि ?
आँधीखोलामा दोहन भएको छैन । खोला र कृषियोग्य जमिनको सतह बराबर भएकाले वर्षात्को समयमा कृषिक्षेत्र डुबानमा पर्ने देखिन्छ । आँधीखोला बीचबाट सात किलोमिटर बगेको छ । वारिपारि नै हाम्रा वडाहरू रहेका छन् । आँधीखोलाको ढुंगा, गिट्टी, बालुवा अवैध रूपमा भन्दा पनि प्रचलित मापदण्डअनुसार नै केही उत्खनन् गरिएको छ । जसले वर्षात्को समयमा हुन सक्ने सम्भावित क्षति रोक्न पनि मद्दत गरेको छ ।
स्थानीय सरकार सञ्चालनका दौरान प्रदेश र संघ सरकारसँग यहाँहरूको सहकार्य र समन्वय चाहिँ कस्तो छ नि ?
संघले हामीलाई सीमित बजेट दिएको हुन्छ । त्यही बजेटलाई हामीले वडा-वडामा योजना बनाएर बाँडेका हुन्छौं । काम अगाडि बढिसकेपछि संघले बजेट पठाउन सक्दिन भन्ने गरेको छ । दिएको बजेट पनि पूरा नपठाइदिने कारणले जनतालाई पालिकाप्रति नै भ्रम पर्न सक्छ । संघ र प्रदेशले दिएको बजेट आउँछ भनेर जनताले आश गरेका हुन्छन् । हामीले काम गरिसकेका बजेट पनि भुक्तानी नहुँदा, हाम्रो कमजोरी नहुँदा पनि हामी नै शिकार बन्नुपर्ने हुन्छ । सामान्यतया स्थानीय सरकारले संघ र प्रदेशसँग गर्नुपर्ने उचित व्यवहार हामीले गरेकै छौं । हामीलाई चाहिँ पर्याप्त सहयोग र समन्वय हुन अझै बाँकी रहेको जस्तो लाग्छ ।
कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच उचित समन्वय हुन नसकेको पनि पाइन्छ । भिरकोट नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच कस्तो समन्वय छ ?
कुनै पनि पालिकाको विकास निर्माणका लागि जनप्रतिधिसँगै कर्मचारीको पनि भूमिका हुन्छ । दुवै पक्ष मिलेर जनताकै काम गर्ने हो । कहिलेकाहीँ कर्मचारी समयमै नपठाउने, प्रमुख प्रशासकीय अधिकृत नहुने, बल्लबल्ल ल्याएका पनि छिट्टै सरुवा हुने लगायतका कारणले समस्या पर्ने गरेको छ । यस्तो समस्या हुन नदिने दायित्व संघीय सरकारको हो । हामीले स्थानीयस्तरमा चाहिँ कर्मचारीसँग उचित र सुमधुर सम्बन्ध राखेरै काम गरिरहेका छौं ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम अनि बजेट कस्तो ल्याउनुभयो ? प्राथमिकताका क्षेत्रहरू के-के हुन् ?
हामीले करिब ७८ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छौं । हाम्रो मुख्य प्राथमिकता भौतिक पूर्वाधार निर्माणमै छ । हामीले सडक निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने क्षेत्रमा पनि प्राथमिकता दिएका छौं ।
भिरकोटको पर्यटकीय सम्भावना चाहिँ कस्तो छ ?
भिरकोट पर्यटकीय सम्भावना अथाह बोकेको नगरपालिका हो । हामीकहाँ एउटा बडहरे गुफा छ । यो निकै महत्वपूर्ण छ । यस्तो गुफा अन्यत्र नहोला । यसको व्यापक प्रचारप्रसार गर्ने हो भने पर्यटकीय विकास प्रचुर हुन सक्छ । मुख्य समस्या भनेको त्यहाँसम्म पुग्ने बाटोकै हो । संघ र प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रूपमा यसलाई अगाडि बढाओस् भन्ने लाग्छ । हामीकहाँ सोरेक मैदान छ । जुन प्याराग्लाइडिङका लागि निकै उपयुक्त छ । जहाँबाट उडेको त्यहीँ अवतरण हुन सक्ने सम्भवतः पहिलो प्याराग्लाइडिङ सम्भावना सोरेकमा छ । यहाँ अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता पनि भइसकेको छ । यसलाई पनि भिरकोटको पर्यटकीय सम्भावना उजागर गराउने क्षेत्रका रूपमा लैजान सकिन्छ ।
संघ र प्रदेशले पहिले बजेट तोक्ने पछि नपठाउने गर्छन्
भिरकोटमा अस्पताल छ तर संघले डाक्टर दिएन
शिक्षा, स्वास्थ्य र पर्यटनलाई सधैं प्राथमिकतामा राखेका छौं
जनताको अपेक्षा पूरा गर्ने दायित्व जनप्रतिनिधि र कर्मचारी दुवैको हो
संघ र प्रदेशका जनप्रतिनिधिहरूले कत्तिको सहयोग गर्नुभएको छ ?
संघ र प्रदेशका माननीयहरूसँग हाम्रो समन्वय राम्रै छ । धनराज गुरुङ र राजु थापा स्याङ्जाको संघीय जनप्रतिनिधि हुनुहुन्छ । उहाँहरूले पनि पर्याप्त चासो देखाउनुभएकै छ । यद्यपि हामीले पर्याप्त बजेट नपाएकै कारण यहाँ सोचेजति काम हुन नसकेको हो ।
भिरकोट नगरपालिकाभित्रको शैक्षिक अवस्था के छ ?
शैक्षिक गुणस्तर सधैं हाम्रो प्राथमिकताको विषय हो । यो वर्ष एसइईमा ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाले नै ३, ५ र ८ कक्षाको परीक्षा लिने गरेको छ । पालिकास्तरको यी परीक्षाले विद्यार्थीलाई तल्लो कक्षादेखि नै पढाइमा अब्बल बनाउँछ भन्ने लागेको छ । हाम्रो पालिका बालमैत्री स्थानीय शासन घोषणा भएको स्थानीय तह पनि हो । हामीले हरेक वर्ष राम्रो काम गर्ने शिक्षक विद्यार्थीलाई सम्मान गर्ने, प्रोत्साहन गर्ने लगायतका काम गरिरहेका छौं ।
स्वास्थ्य सेवामा भिरकोट नगरपालिकाले जनतालाई कस्तो सुविधा दिइरहेको छ ?
भिरकोट सामुदायिक अस्पताल अहिले भिरकोट नगर अस्पताल भएको छ । अहिले ३१ जना कर्मचारीहरू भिरकोट अस्पतालमा कार्यरत हुनुहुन्छ । हामीले सेवाको गुणस्तर बढाउन चाहेका छौं । संघीय सरकारले हामीलाई डाक्टर दिन सकेको छैन । पोहोर बल्लबल्ल एकजना डाक्टर ल्याएको, तलब पालिकाले नै खुवाउनुपर्छ भन्ने समस्या देखियो । पालिकाले नै स्रोत व्यवस्था गर्ने भए त संघले डाक्टर नै पठाउनुपर्दैन नि । आधारभूत स्वास्थ्य सेवा हामीले पालिकामै दिन सके पनि विशेष स्वास्थ्य सेवाका लागि संघ र प्रदेश सरकारले आवश्यक सहयोग गरिदिनुपर्ने अवस्था छ । जिल्लाकै बीच भागमा पर्ने पालिका भएकाले यहाँ डायलसिस सुविधा बढी आवश्यक छ । यहाँ संघ सरकारले डायलसिस मेसिन उपलब्ध गरायो भने आसपासका पालिकाका जनताले पनि सुविधा पाउने निश्चित छ ।
अन्त्यमा प्रदेश र संघ सरकारसँग के अपेक्षा छ ?
पहिलो अपेक्षा भनेकै दिन्छु भनेजति बजेट पूरै दिनुपर्यो भन्ने हो । बजेटमा रकम तोक्ने तर बजेट कटौती गर्ने परम्परा छ । त्यो रोक्नुप¥यो । हामीले बजेट आउँछ भनेर योजना बनाउने तर बजेट नआउने हुँदा जनतामा निराशा बढ्न सक्छ । यसै पनि भिरकोट नगरपालिकाले थोरै बजेट पाइरहेको छ । जनतासँग गरेका वाचा पूरा गर्न भिरकोट नगरपालिकाका सबै जनप्रतिनिधिहरू खटिनुभएको छ । जनप्रतिनिधिको खटन अनुसारको संघ र प्रदेशबाट योजना र बजेट हुने हो भने हाम्रो बाँकी रहेको दुई वर्षको कार्यकालमा पनि धेरै नै राम्रा कामहरू गर्न सक्छौं । भिरकोटवासी जनतालाई पनि पालिकाले बनाएका योजनामा निरन्तर साथ दिन आग्रह गर्छौं । चुनावमा गरेको वाचा हामीले बिर्सिएका छैनौं, वाचा पूरा गर्छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच