
काठमाडौं । आजदेखि तुलसी पूजाको चारमहिने धार्मिक यात्रा सुरु भएको छ। प्रत्येक वर्षको आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सरेर विशेष पूजा आराधनाको थालनी गरिन्छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको बिरुवा आज तुलसीको मोठमा सारिन्छ। वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ र आजबाट कार्तिक शुक्ल एकादशीसम्म चार महिना पूजा गरिन्छ।
धार्मिक विश्वासअनुसार, आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही अवधिलाई चतुर्मास पनि भनिन्छ।
एक वर्षमा २४ वटा एकादशी पर्छन्। जसले सक्दछन्, उनीहरूले सबै एकादशीमा फलाहार गर्दै व्रत बस्छन्। नसक्नेहरू भने चतुर्मासमा पर्ने आठ एकादशीमा मात्र व्रत बस्छन्। अझ व्यस्त जीवनशैली भएका धेरैजना श्रद्धालुहरू केवल आजको हरिशयनी र कार्तिक शुक्लको हरिबोधिनी एकादशीमा मात्र व्रत बस्छन्।
आजको दिन विशेषगरी काठमाडौंको बूढानीलकण्ठ, चार नारायण, र देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ। व्रत बस्नेहरूले चामलजन्य परिकार नखाई फलाहार वा रोटी–ढिँडो खाएर पूजा गर्छन्।
तुलसी धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। तुलसीको आसपास शुद्ध हावा पाइने, अक्सिजनको मात्रा उच्च हुने, र विभिन्न रोग फैलाउने कीटाणु नआउने वैज्ञानिक प्रमाण छन्। वास्तुशास्त्रअनुसार तुलसीको मोठ राख्दा घरमा सकारात्मक ऊर्जा आउँछ।
चतुर्मास समाप्त भएसँगै कार्तिक शुक्ल एकादशीका दिन तुलसीको दामोदर (विष्णु) सँग विधिपूर्वक विवाह गरिन्छ। त्यसपछिको हवनसहितको पूजाले चतुर्मास व्रतको समापन गरिन्छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच