काठमाडौं । सहकारीः सुन्दर विश्व निर्माणमा समावेशी र दिगो समाधानतर्फको यात्रा भन्ने नाराका साथ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो । सो अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था बरहथवा-१५ सर्लाहीका अध्यक्ष गोविन्दप्रसाद उप्रेतीलाई प्रदान गरिएको छ । उहाँलाई मन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान प्रदान गर्नुभएको हो । केन्द्रीय सहकारी संघतर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत भएको छ भने जिल्ला तहमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गर्यो । सातै प्रदेशका प्रारम्भिक सहकारी संस्था पनि पुरस्कृत भएका छन् ।
यसरी पुरस्कृत हुनेमा कोशी प्रदेशमा मेची कृषक बहुमुखी सहकारी संस्था, झापा, मधेस प्रदेशमा महिला साना किसान कृषि सहकारी संस्था, धनुषा, बागमती प्रदेशमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौती, काभ्रे, गण्डकी प्रदेशमा ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा, लुम्बिनीमा इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था, रूपन्देही, कर्णालीमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्ला र सुदूरपश्चिम प्रदेशमा जीवनज्योति बचत तथा ऋण सहकारी संस्था, बैतडी रहेका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेसनलले तयार पारेको सहकारीसम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरिएको थियो । सहकारी क्षेत्रका महिला नेतृत्वकर्ताहरू निर्मला दंगाल, दिलमाया सारु र निलम विकले आफ्ना संघर्षका कथा प्रस्तुत गर्नुभएको थियो भने सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले मुख्य कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री बलराम अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको भन्दै सहकार्य र एकताको आवश्यकता औंल्याउनुभयो । महासंघ अध्यक्ष ओमदेवी मल्लले अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विविध कार्यक्रमसहित मनाइएको जानकारी गराउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासंघका सल्लाहकारहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, डा. उषा झा, लिलामणि पोखरेल, नेफस्कुन अध्यक्ष चन्द ढकाल, हेफर इन्टरनेसनलका कन्ट्री डाइरेक्टर डा. तीर्थराज रेग्मीलगायतको उपस्थिति थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच