केप टाउन । जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका प्रभावशाली ब्याट्सम्यान वियान मुल्डरले एउटा कीर्तिमान बनाउनुभएको छ । तर, उहाँ अर्को कीर्तिमान बनाउनबाट थोरै अन्तरले चुक्नुभयो । उहाँ आफैं त्यो कीर्तिमान बनाउनबाट पछि हट्नुभएको थियो ।
बुलाबायोमा जारी जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा उहाँ कप्तानको भूमिकामा हुनुहुन्छ । कप्तानको भूमिकामा यो उहाँको पहिलो टेस्ट हो । दक्षिण अफ्रिकाले पाँच विकेटको नोक्सानीमा ६२६ रन बनाएपछि वियान मुल्डरले अप्रत्यासित रूपमा पहिलो पारी समाप्तिको घोषणा गर्नुभएको थियो । त्यतिबेला उहाँ आफैं अविजित ३६७ रन बनाउँदै खेलिरहनुभएको थियो । थप ३४ रन बनाएको भए उहाँले वेस्ट इण्डिजका महान क्रिकेटर ब्रायन लाराको नाममा रहेको कीर्तिमान भंग गर्नुहुन्थ्यो । तर, उहाँले त्यसो गर्नुभएन ।
आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान लाराको कीर्तिमान तोडिनुभन्दा ३४ रनअघि नै उहाँले पारी समाप्तिको घोषणा गर्नुभयो । दक्षिण अफ्रिकाले पारी समाप्तिको घोषणा गरेपछि विश्व क्रिकेटमा विभिन्न टिप्पणी हुँदै आएको छ । धेरै क्रिकेट विश्लेषकले पारी समाप्तिको घोषणालाई खराब निर्णयका रूपमा लिएका छन् । वियान मुल्डरले लाराको कीर्तिमान तोडेरमात्र पारी समाप्तिको घोषणा गर्नुपर्ने टिप्पणी गरिरहेका छन् । अहिले आएर वियान मुल्डर आफैंले पारी घोषणा गर्नुको रहस्य खोल्नुभएको छ ।
उहाँले आफू महान् क्रिकेटर लाराको कीर्तिमान तोड्ने पक्षमा नरहेकाले पारी समाप्तिको घोषणा गरेको बताउनुभयो । ‘यो कीर्तिमान महान् खेलाडी लाराकै नाममा जोडिएको सुहाउँछ । चाहेको भए मैले त्यो कीर्तिमान तोड्न सक्थेँ । तर, अझै लामो समय त्यो कीर्तिमान लाराकै नाममा रहोस् भन्ने मेरो चाहना हो,’ उहाँले भन्नुभएको छ ।
विश्व टेस्ट क्रिकेटको एउटै पारीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान अहिले ब्रायन लाराको नाममा छ । उहाँले टेस्ट क्रिकेटको एउटै पारीमा अविजित चार सय रन बनाउनुभएको छ । वियान मुल्डरले थप ३४ रन बनाएको भए लाराको कीर्तिमान तोडिने थियो । मुल्डरले थप ३३ रन बनाएको भए उहाँले लाराको कीर्तिमानसँग बराबरी गर्नुहुन्थ्यो । तर, उहाँले त्यो कीर्तिमान आफ्नो नाममा ल्याउन चाहनुभएन ।
सन् २००४ मा एन्टिगुवामा खेलिएको इङ्ल्याण्डविरुद्धको टेस्टमा लाराले अविजित चार सय रन बनाउनुभएको थियो । तर, जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा वियान मुल्डरले अर्को विश्व कीर्तिमान भने बनाउनुभयो । उहाँले कप्तानको भूमिकामा आफ्नो ‘डेब्यु’ टेस्टमै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान आफ्नो नाममा पार्नुभयो ।
अविजित ३६७ रन बनाउने क्रममा उहाँले केवल ३३४ बलको सामना गरी चार छक्का र ४९ चौका पनि हिर्काउनुभयो । टेस्ट क्रिकेटमा पनि उहाँले सीमित ओभरको प्रतियोगिताजस्तै ब्याटिङ गर्नुभएको थियो । उहाँले ग्राहम डाउलिङको कीर्तिमान तोड्नुभयो । न्युजिल्याण्डका डाउलिङले सन् १९६८ मा खेलिएको टेस्टमा भारतविरुद्ध २३९ रन बनाउनुभएको थियो । दुई टेस्टको शृंखलामा भ्रमणकारी टोली दक्षिण अफ्रिका १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ३२८ रनले हराएको थियो । एजेन्सी ।







भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,
टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी