काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीचको विवाद चर्किएको छ । हालै एसिया क्वालिफायर्सअन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानी चयनमा उत्पन्न अन्योललाई लिएर एन्फाले बुधबार पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गरेको हो ।
प्रशिक्षक वाइल्डले केही दिनअघि एन्फाप्रति तीव्र असन्तुष्टि पोख्नुभएको थियो । खेलाडीहरूलाई न्यूनतम सुविधा र आवश्यक पूर्वाधार नदिइएको आरोप लगाउँदै उहाँले टिम व्यवस्थापनमा गम्भीर कमजोरी रहेको बताउनुभएको थियो । साथै, उहाँ टिमबाट अलग हुन सक्ने संकेतसमेत दिनुभएको थियो । त्यसको जवाफ स्वरूप एन्फाले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
उज्वेकिस्तान गएको टोलीकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मलेखुले पत्रकार सम्मेलनमा कप्तानी चयनसम्बन्धी प्रष्टीकरण दिनुभयो । उहाँका अनुसार कप्तान घोषणा गर्ने विषयमा प्रशिक्षकले अन्तिम क्षणसम्म पनि निर्णय नलिएपछि अन्योलको स्थिति सिर्जना भयो । ‘हामीले चाहेका थियौँ कि कप्तान टिम बिदाइ कार्यक्रममा नै घोषणा होस् तर प्रशिक्षकले खेलस्थलमा निर्णय गर्ने भनेपछि हामी सहमत भयौं । तर, खेल सुरु हुनुभन्दा ९० मिनेटअघि कप्तानीसहितको नामावली बुझाउनुपर्ने एएफसीको नियम थियो । प्रशिक्षकले त्यो समयसीमाभित्र नाम दिनुभएन,’ श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार प्रशिक्षकले खेल सुरु हुनु पाँच मिनेटमात्र बाँकी रहँदा भिडिओमार्फत् स्टार्टिङ ११ देखाउनुभएको थियो । त्यसमा पनि कप्तानको नाम उल्लेख गरिएको थिएन । जब कप्तानको नाम सोधिएको थियो, उहाँले जवाफ दिन मान्नुभएन । त्यसपछि नियमअनुसार सबैभन्दा अनुभवी खेलाडी रेनुका नगरकोटीलाई कप्तान भनेर नाम पठाइएको थियो ।
पछि ‘प्रे’ गर्ने समय साम्बालाई कप्तान बनाउने भनिएको थियो । तर, नामावलीमा पहिले नै रेनुकाको नाम पठाइसकिएकाले त्यसबेला फेरबदल गर्दा फाइन तिर्नुपर्ने सम्भावना थियो । यसै विषयमा प्रशिक्षक र व्यवस्थापनबीच विवाद भएको हो ।
यस घटनाले प्रशिक्षक र संघबीच कार्य समन्वयको अभाव देखाएको छ । एन्फाले प्रशिक्षक वाइल्डको अभिव्यक्तिलाई गैरजिम्मेवार ठहर गर्दै घटनाको समग्र मूल्यांकन भइरहेको बताएको छ । प्रशिक्षक वाइल्ड भने व्यवस्थापनमा सुधार नभए आफू टिमबाट अलग हुने अडानमा हुनुहुन्छ ।







विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल