काठमाडौं । गत मंगलबार आएको भीषण बाढीले रसुवा र नुवाकोटका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत् आयोजना र सुक्खा बन्दरगाहमा पुर्याएको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गहिरो दुःख व्यक्त गरेको छ । इप्पानले बिहीबार एक विज्ञप्ति जारी गर्दै चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेको लेहेन्दे खोला (भोटेकोशी)मा आएको भीषण बाढीले रसुवा र नुवाकोटका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत् आयोजना र सुक्खा बन्दरगाहमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।
बाढीका कारण हालसम्म सातजनाको मृत्यु र १९ जना बेपत्ता भएको भन्दै इप्पानले घटनाबाट प्रभावित जलविद्युत् आयोजना, व्यापारिक नाका र सुक्खा बन्दरगाहको पुनर्निर्माण तथा वैकल्पिक व्यवस्थाका लागि अबिलम्ब आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ । बाढीका कारण करिब दुई सय ५० मेगावाटको जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको र तीन सय ५० मेगावाटभन्दा बढीका निर्माणाधीन आयोजना ठप्प हुँदा ठूलो भौतिक र आर्थिक क्षति पुगेको इप्पानको भनाइ छ ।
इप्पानका अनुसार उत्पादन बन्द भएका प्रमुख आयोजनामा ११ मेगावाट रसुवागढी जलविद्युत्, ६० मेगावाट त्रिशूली ३ ए जलविद्युत्, २५ मेगावाट त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट चिलिमे जलविद्युत्, १४ मेगावाट माथिल्लो मैलुङ जलविद्युत्, १४ मेगावाट देवीघाट जलविद्युत् र पाँच मेगावाट मैलुङ खोला जलविद्युत् आयोजना रहेका छन् । जसमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रबाट विद्युत् प्रवाह हुने त्रिशूली ३ बी हब सबस्टेसनमा क्षति पुगेका कारण उत्पादन ठप्प भएको छ । देवीघाट, त्रिशूली र त्रिशूली ३ ए बाहेक अन्य आयोजना निजी क्षेत्रको सहभागितामा निर्माण भएका हुन् ।
निर्माणाधीन आयोजना र थप क्षति भएका आयोजनामा दुई सय १६ मेगावाट माथिल्लो त्रिशूली १, सय मेगावाट सुपर त्रिशूली र ३७ मेगावाट त्रिशूली ३ बी जलविद्युत् आयोजना रहेका छन् । त्रिशूली नदी करिडोरको प्रसारण लाइन र सबस्टेसनमा समेत क्षति पुग्दा त्यहाँबाट विद्युत् उत्पादन तथा प्रवाह आगामी केही दिनसम्म बन्द रहने र करोडौं रुपैयाँको उत्पादन घाटा हुने बताइएको छ । त्यसैगरी बाढीले टिमुरे सुक्खा बन्दरगाहमा निर्माणाधीन संरचना पूर्ण रूपमा ध्वस्त बनाउनुका साथै दर्जनौं कन्टेनर र सयौं मालबाहक गाडी बगाएको छ ।
नेपाल-चीन जोड्ने मितेरी पुलसमेत बगाएपछि वार्षिक एक खर्बभन्दा बढीको व्यापार हुने उत्तरी प्रमुख नाका पूर्ण रूपमा अवरुद्ध भएको भन्दै इप्पानले जतिसक्दो चाँडो वैकल्पिक व्यवस्था गरी व्यापारिक नाका सञ्चालनमा ल्याउन माग गरेको छ । इप्पानले बाढीका बेला रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ३६ जनासहित करिब एक सय ५० जनाको उद्धारमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको सक्रियताको प्रशंसा गरेको छ ।







जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र
मधेश प्रदेशमा छ वर्षमा २८
रिपब्लिकनले काङ्ग्रेस नियन्त्रण कायम राखे
मन्त्रिपरिषद्को बैठक बस्दै
एसीसी प्रिमियर कप क्रिकट :
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा