काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री बालाराम (बलबहादुर) घर्ती मगरको ८७ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्खोस्थित बीएण्डबी अस्पतालमा शुक्रबार बिहान साढे १० बजे उपचारका क्रममा उहाँको निधन भएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
रोल्पामा जन्मिनुभएका घर्ती मगर नेपाली राजनीति तथा शासनप्रणालीको विभिन्न चरणमा ११ पटकसम्म मन्त्री बन्नु भएका थियो । स्वच्छ छवि, सादा जीवनशैली र उच्च सोच भएका व्यक्तिको पहिचान बनाउनुभएका घर्ती मगर जनसेवामा समर्पित नेताको रुपमा चिनिनुहुन्थ्यो । उहाँ प्रधानमन्त्रीहरू डा. तुल्सी गिरी, सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह र शेरबहादुर देउवाको कार्यकालमा मन्त्री बन्नुभएको थियो । साथै उहाँ प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य मन्त्रीदेखि राजपरिषद् सदस्य पनि हुनुभएको थियो ।
उहाँका राजयोग, मूल, हिजो, आज, भोलि, मानव अधिकार : एक चिन्तन, पुर्खाको चिनो, ऐतिहासिक घटनाक्रम-भाग १ लगायतका पुस्तकहरू प्रकाशित छन् । विसं २०१७ मा रोल्पाका तत्कालीन कांग्रेस नेता खडानन्द सुवेदीका सहयात्री बन्नुभएका उहाँले सुवेदीसँग मिलेर ‘गाउँ फर्क राष्ट्रिय अभियान’ सञ्चालन गर्नुभएको थियो । सुरुआती समयमा उहाँ पञ्चायती राजनीतिको रोल्पा उपसभापतिका रूपमा सक्रिय हुनुहुन्थ्यो ।
विसं २०१८ र १९ मा प्युठान, दाङ, रुकुम र सल्यानका केही भाग मिलाएर गठन गरिएको नयाँ जिल्लाको निर्माण तथा शैक्षिक विकासमा उहाँ अग्रपङ्क्तिमा हुनुहुनथ्यो । त्यसैले उहाँलाई जिल्लावासीले ‘रोल्पा विकासका पिता’ को रूपमा सम्झने गर्छन् ।
उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राप्रपाले एक विज्ञप्ति जारी गर्दै देशले कुशल, सादगीपूर्ण जीवनशैलीका प्रेरणादायी अभिभावक गुमाएको उल्लेख गरेको छ । पार्टीका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले विज्ञप्तिमा लेख्नु भएको छ, ‘बालाराम घर्ती मगर एक यस्ता नेता हुनुहुन्थ्यो, जसले सधैं सादा जीवन र उच्च विचारलाई आत्मसात् गर्नुभयो । उहाँले आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पित गर्नुभयो । विशेषगरी रोल्पाको विकट भूगोलमा जन्मिएर पनि राजनीतिको उच्च ओहदासम्म पुग्नुभएको उहाँको संघर्ष प्रेरणादायी छ ।’
शाहीका अनुसार घर्ती मगरको सरल स्वभाव, मिलनसार व्यक्तित्व र जनतासँगको गहिरो सम्बन्धले उहाँलाई रोल्पाली जनताका ढुकढुकी बनाएको थियो । मन्त्री पदमा रहँदा जनमुखी र पारदर्शी नीतिमा प्रतिबद्ध रहनु भएका घर्ती मगर भ्रष्टाचारविरोधी दृष्टिकोण राख्ने इमानदार राजनीतिज्ञको रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको योगदान नेपाली राजनीतिक वृत्तमा दीर्घकालीन सम्झनायोग्य रहनेछ । राप्रपाले घर्ती मगरको योगदानप्रति कृतज्ञता प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँका पत्नी र सात छोरी हुनुहुन्छ । एक छोरीबाहेक सबै छोरीहरू मुलुकबाहिर रहेकाले उहाँहरू फर्किएपछि मात्रै घर्तीमगरको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :