काठमाडौं । नेपालले बंगलादेशको राजधानी ढाकामा जारी साफ (दक्षिण एसियाली फुटबल महासंघ) यू-२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग भिड्न लागेको हो । उत्कृष्ट लयमा रहेको नेपाल र बंगलादेशबीचको खेल रोचक हुने अनुमान गरिएको छ । खेल आज(आइतबार) साँझ ढाकास्थित बसुन्धरा किङ्स एरिनामा हुनेछ ।
बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ ले हराएको थियो । चार टोली सम्मिलित प्रतियोगिता डबल राउण्ड रोबिन पद्धतिमा सञ्चालन भइरहेको छ । शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन घोषित हुनेछ ।
यसैबीच, च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालका लागि स्ट्राइकर पूर्णिमा राईले सानदार प्रदर्शन गर्दै चार गोल गर्नुभएको थियो भने अट्याकिङ मिडफिल्डर सेनु परियारले दुई गोल गर्दै टिमको जितमा योगदान दिनुभयो । नेपालले दुवै हाफमा समान तीन गोल गर्दै खेलमा दबदबा कायम राख्यो ।
खेलको नवौं मिनेटमा सेनु परियारले वर्षा ओलीको पासमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभयो । बक्स बाहिरबाट गरिएको उहाँको राइट फुटेड प्रहार सिधै दोस्रो बारको जालीमा पुगेको थियो ।
१८औँ मिनेटमा वर्षा ओलीको राइट साइडबाट आएको लोफ्टेड पासलाई पूर्णिमा राईले सदुपयोग गर्दै व्यक्तिगत खाता खोल्नुभएको थियो । निर्धारित पहिलो हाफको अन्तिम मिनेटमा पुनः वर्षाको पासमै सेनुले दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाउनुभयो ।
दोस्रो हाफको सुरुवातमा भुटानले एक गोल फर्काउँदै खेलमा फर्किने संकेत दिएको थियो । केल्देन वाङ्मोले ५४औँ मिनेटमा लेफ्ट फुटेड प्रहारमार्फत् गोल गर्दै अन्तर ३-१ मा झार्नुभएको थियो । तर, खेलको ६३औँ मिनेटमा माया मास्केको लामो पासमा पूर्णिमाले दोस्रो गोल गर्दै नेपाललाई पुनः तीन गोलको अग्रता दिलाउनुभयो । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा समीक्षा मगरको पासमा उहाँले तेस्रो गोल गर्नुभयो भने पाँच मिनेटपछि मीना देउवाको पासमा चौथो गोल गर्दै आफ्नो व्यक्तिगत प्रदर्शनलाई उत्कर्षमा पुर्याउनुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि