नेपालको साहित्यिक इतिहास पल्टाउँदा एउटा यस्तो नाम देखापर्छ जसले केवल शब्द होइन, चेतनालाई आकार दिएको छ । त्यो नाम हो आदिकवि भानुभक्त आचार्य । आधुनिक नेपाली भाषाका पहिलो कविको रूपमा स्थापित भानुभक्तले न केवल कविता लेखनको सुरुवात गर्नुभयो, नेपाली भाषामै रामायण जस्तो महाकाव्य अनुवाद गरी आमजनसम्म साहित्यको ढोका खोल्ने कार्य पनि गर्नुभयो । उहाँले नेपाली भाषालाई कविता लेखनको माध्यम बनाउँदै गर्दा त्यो एउटा साधारण लेखकीय अभ्यासमात्र थिएन, त्यो एक युगान्तकारी सिर्जनात्मक बिउ थियो, जसले नेपाली साहित्यको जग बसाल्यो । रामायण जस्तो धार्मिक ग्रन्थलाई संस्कृत जस्ता शिक्षित वर्गका लागि सीमित भाषाबाट निकालेर नेपाली जनजीवनमा पुर्याउने कार्य उहाँले गर्नुभयो, जसको ऐतिहासिक, भाषिक र सांस्कृतिक महत्व अतुलनीय छ ।
भानुभक्त, पिता धनञ्जय र माता धर्मवतीदेवीको कोखबाट विसं १८७१ सालको असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएको हो । एक सम्पन्न ब्राहृमण परिवारमा जन्म भएको उहाँको प्रारम्भिक शिक्षा र लालनपालन त्यसैनुरूप धार्मिक संस्कृति अनुभाषनमा भएको थियो । पारिवारिक संस्कारले गर्दा उहाँ प्रारम्भदेखि नै संस्कृत भाषामा गहिरो दखल राख्नुहुन्थ्यो । तर, संस्कृतमा लेखिए पनि सामान्य जनताले बुझ्न नसक्ने धार्मिक ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्ने भाषामा अनुवाद गर्नुपर्छ भन्ने धारणा उहाँभित्र गहिरिँदै गयो । भानुभक्तका बाजे श्रीकृष्ण आचार्यबाट उहाँले सानैमा घरमै संस्कृत शिक्षाको आरम्भ गर्नुभएको थियो । भानुभक्तलाई सार्वजनिकरूपमा प्रचारमा ल्याउने व्यक्ति भने कवि मोतीराम भट्ट हुनुहुन्छ । अन्यथा भानुभक्त गुमनाम कवि पनि हुनसक्नुहुन्थ्यो । भानुभक्तलाई आदिकवि भनेर संज्ञा दिने व्यक्तित्व पनि कवि मोतीराम भट्ट नै हुनुहुन्छ ।
भानुभक्त आचार्य आज हुनुहुन्न तर उहाँका शब्दहरू हामीसँग छन् । उहाँका भावनाहरू, उहाँका विचारहरू, उहाँका आदर्शहरूले आज पनि नेपाली भाषाको शिर उच्च बनाइरहेका छन् । उहाँले भाषालाई केवल संवादको साधन होइन, संस्कृति, सभ्यता र चेतनाको माध्यम बनाउनुभएको थियो ।
संस्कृत भाषामा ज्ञान हुँदाहुँदै पनि भानुभक्तले आमजनताले बोल्ने भाषा, नेपालीलाई आफ्नो सिर्जनाको माध्यम बनाउनुभयो । यसले देखाउँछ कि उहाँ केवल एक कविमात्र हुनुहुन्नथ्यो । उहाँ समाजसापेक्ष सोच राख्ने साहित्यिक क्रान्तिकारी पनि हुनुहुन्थ्यो । यही कारणले उहाँले रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभयो, जुन नेपाली भाषामा रचिएको पहिलो महाकाव्य हो । यस रामायणमा उहाँले भाषामात्र अनुवाद गर्नुभएको छैन । सँगसँगै नेपाली समाज, संस्कृति र धार्मिक भावनालाई पनि आत्मसात् गर्नुभएको छ ।
६ असोज १९२५ मा मृत्युवरण गर्नुभएका भानुभक्तले आफ्नो ५४ वर्षको जीवनावधिमा ‘रामायण’, ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘बधूशिक्षा’, ‘रामगीता’ र तीन दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाउनुभएको थियो । उहाँको रामायण भाव, भक्तिभाव, सरलता र सौन्दर्यको अनुपम मिसाल हो । भानुभक्तको कविता, गीत र नीतिश्लोकहरूमा पनि गहिरो जीवनबोध पाइन्छ । ‘घाँसीको कथा’ उहाँको एक प्रसिद्ध रचना हो । जसमा उहाँले एउटा सामान्य श्रमिक घाँसीबाट प्रेरणा लिएर समाजप्रतिको दायित्वबोध र सार्थक जीवनको खोज प्रस्तुत गर्नुभएको छ । यो आजसम्म नेपाली पाठकका हृदयमा उत्तिकै प्रभावकारी छ ।
उहाँ कविमात्र हुनुहुन्नथ्यो, उहाँ त दर्शनशास्त्री, नीतिविज्ञ र समाजका सूक्ष्म अध्येता पनि हुनुहुन्थ्यो । उहाँका कवितामा नीति र धर्मको गहिरो समिश्रण देखिन्छ । उहाँले लेखेका कवितामा केवल धार्मिक भावना होइन, सामाजिक न्याय, श्रमको मूल्य, भाषिक समानता र आत्मगौरवको भावसमेत प्रकट भएको पाइन्छ । ‘आफ्नो भाषा नबुझेपछि कसरी हुन्छ देशको माया ?’ भन्ने भानुभक्तको पंक्ति आज पनि उत्तिकै सान्दर्भिक छ । भाषाले राष्ट्र निर्माणमा कस्तो भूमिका खेल्दछ भन्ने कुरा उहाँको सिर्जनाबाट बुझ्न सकिन्छ । उहाँले जनताले बुझ्ने भाषामा लेखेर सन्देश दिनु, शिक्षाको पहुँच सीमित रहेको समयमा त्यो सन्देशलाई कविता र काव्यको रूपमा जनतासमक्ष पु¥याउनु, वास्तवमै असाधारण कार्य थियो ।
भानुभक्तले सिर्जना गरेको साहित्यिक सम्पदा आज नेपालभरका विद्यालयदेखि विश्वविद्यालयसम्म पढाइन्छ । उहाँका पद्यहरू पाठ्यक्रममा समावेश छन् । उहाँप्रति श्रद्धा व्यक्त गर्न प्रत्येक वर्ष असार २९ गते भानु जयन्ती मनाइन्छ । भानु जयन्ती केवल उहाँको सम्झना होइन, त्यो नेपाली भाषाप्रतिको सम्मान हो, हाम्रो मौलिकता र आत्मपहिचानको उत्सव हो । उहाँको योगदान यति महान् छ कि उहाँलाई ‘आदिकवि’ अर्थात् ‘प्रथम कवि’ को उपाधि दिइएको छ । यो उपाधि केवल समयको हिसाबले पहिलो कवि भएकाले होइन, उहाँले नेपाली काव्य साहित्यको मूल आधार तयार गरेकाले दिइएको हो । उहाँका कविता शास्त्रीय अनुशासन अनुसार छन्दबद्ध छन्, जसले उहाँलाई आधुनिकताको संगीन छायांमा पनि पारम्परिकताको असल प्रतिनिधि बनाएको छ ।
भानुभक्त आचार्य आज हुनुहुन्न तर उहाँका शब्दहरू हामीसँग छन् । उहाँका भावनाहरू, उहाँका विचारहरू, उहाँका आदर्शहरूले आज पनि नेपाली भाषाको शिर उच्च बनाइरहेका छन् । उहाँले भाषालाई केवल संवादको साधन होइन, संस्कृति, सभ्यता र चेतनाको माध्यम बनाउनुभएको थियो । उहाँले देखाएको बाटोमा हिँड्दै नेपाली साहित्यले आज अनगिन्ती फाँटहरू फेरेको छ तर जरा अझै उहाँमै गाडिएको छ । त्यसैले, जबसम्म नेपाली भाषा बाँचिरहन्छ, भानुभक्तको स्मृति पनि जीवित रहनेछ । जबसम्म नेपाली कविता गुञ्जिरहन्छ, उहाँका पद्यहरू पनि गुञ्जिरहनेछन् । र, जबसम्म हामी हाम्रो मौलिकताको खोजी गरिरहन्छौँ, भानुभक्त आचार्य हाम्रो मार्गदर्शक बनेर रहिरहनुहुनेछ ।
भानुभक्तले तत्कालीन प्रशंसाका लागि होइन, पुस्तौंसम्म सम्झिने अमर सिर्जना गर्नुभयो । आजको पुस्ताले पनि क्षणिक चर्चाभन्दा दीर्घकालीन योगदान दिने सोच राखे, त्यसको प्रभाव पुस्तौं-पुस्तासम्म रहन्छ । आजका युवापुस्ताले भानुभक्त केवल एक कविका रूपमा होइन, एक विचार, एक दर्शन र एक अभियानका रूपमा बुझ्न जरुरी छ ।
भानुभक्त आचार्य केवल विगतका महान् कवि होइनन्, उहाँ हाम्रा लागि आज पनि एक प्रेरणा, एक दृष्टिकोण र एक गहिरो पाठ हुनुहुन्छ । २०० वर्षभन्दा अघिको समयको समाज र वर्तमानको पुस्ता फरक भए पनि भानुभक्तका मूल्य, विचार र सिर्जनाबाट आजको पुस्ताले सिक्ने गहिरा पाठहरू छन् । भानुभक्त संस्कृतजस्तो प्रतिष्ठित भाषाका विद्वान हुनुहुन्थ्यो तर उहाँले नेपाली भाषा चुन्नुभयो जनतासँग सिधा संवाद गर्न । आजको पुस्ताले विशेषतः अंग्रेजी वा अन्य विदेशी भाषाको मोहमा मातृभाषा बिर्सँदै गएको अवस्था छ । तर, भानुभक्त भन्नुहुन्थ्यो, आफ्नो भाषामात्र सांस्कृतिक पहिचान होइन, आत्मसम्मानको सवाल हो । मातृभाषालाई सम्मान गरेरै विश्वसामु अगाडि बढ्न सकिन्छ ।
व्यक्ति महान् हुन धर्मग्रन्थ कण्ठै नहुन सक्छ तर समाजका लागि केही योगदान गर्नुपर्छ, ‘घाँसीको कथा’ मार्फत भानुभक्तले सन्देश दिनुभएको थियो । आजको पुस्ताले बुझ्नुपर्छ कि सामाजिक उत्तरदायित्व केवल नेताहरूको वा संस्थाहरूको होइन, हरेक सचेत नागरिकको हो । भानुभक्तका कविताहरू सरल छन्, तर सन्देशमा गहिरा । उहाँका पदहरू जटिल शैली होइन, नैतिकता र मूल्यप्रतिको आस्थामा गहिरिएका छन् । आजका युवाले भौतिक सफलतामात्र होइन, सदाचार, आत्मअनुशासन र आत्मगौरव जस्ता मूल्यहरू पनि जीवनमा उतार्न आवश्यक छ ।
भानुभक्तले जब रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभयो, त्यो कार्य नवीन थियो । उहाँले केवल अनुवादमात्र गर्नुभएन, नेपाली संस्कृतिमा ‘फिट’ हुनेगरी मौलिक बनाइदिनुभयो । आजको पुस्ता, विशेषतः साहित्य, कला, प्रविधि वा व्यवसायमा लागेकाहरूले आफ्नो काममा मौलिकता मिसाएर नयाँपन ल्याउन सक्छन् भन्ने उदाहरण उहाँले नै दिनुभएको हो । भानुभक्तले संस्कृतको पहुँच नभएको समाजलाई शिक्षित बनाउन कहिले गुनासो गर्नुभएन । त्यसको समाधान निकालेर नेपाली भाषामा सिर्जना गर्नुभयो । आजका युवाले पनि समाज, देश वा व्यवस्थाका कमजोरीहरूलाई लिएरमात्र आलोचना गर्ने होइन । समाधानको बाटो आफैं खोल्ने साहस राख्नुपर्छ ।
भानुभक्तले तत्कालीन प्रशंसाका लागि होइन, पुस्तौंसम्म सम्झिने अमर सिर्जना गर्नुभयो । आजको पुस्ताले पनि क्षणिक चर्चाभन्दा दीर्घकालीन योगदान दिने सोच राखे, त्यसको प्रभाव पुस्तौं-पुस्तासम्म रहन्छ । आजका युवापुस्ताले भानुभक्त केवल एक कविका रूपमा होइन, एक विचार, एक दर्शन र एक अभियानका रूपमा बुझ्न जरुरी छ । हामी जे जतिअघि बढे पनि, हाम्रो जरो, हाम्रो भाषा, हाम्रो समाज र हाम्रो मूल्यबोधप्रति निष्ठा नरहेसम्म त्यो प्रगति अधुरो हुन्छ, उहाँले देखाएको मार्गले सिकाउँछ । हामीले जुनसुकै क्षेत्रमा भए पनि सिर्जनशीलता, सरलता र समाजप्रतिको उत्तरदायित्व जीवनभर बोकी हिँड्न सक्नुपर्छ । तबमात्र हामी आफ्नो पुस्ताका लागि साँच्चिकै आधुनिक भानुभक्त बन्न सक्छौं ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र