अंग्रेजीमा प्राध्यापन गर्ने कुमारी लामाले तीन कृति प्रकाशन गरिसकेकी छिन् । उनी आफ्नो लेखनीमा स्वजातीय अस्तित्वका कुरा गर्छिन् । जातीय पहिचानकी पक्षधर लाग्छिन् । मानवताको अर्थ खोज्छिन् । पर्यावरण संरक्षणमा जोड दिएर कलम चलाउँछिन् । यसैक्रममा पछिल्लो कृति ‘दज्र्यु संलाप’ तामाङ समुदायको सांस्कृतिक बिम्बमा शीर्षकृत भएर आएको छ । मनमा उब्जिएका भाव र विचारहरूलाई गजबले अभिव्यक्त गर्न सिपालु लामा निबन्धमा कलात्मकता लेपन गर्न पनि औधि खप्पिस देखिन्छिन् । भावना र कल्पनाशीलता थप्दै संवेदनाप्रधान निबन्ध बनाउने उनको प्रयास पनि सफल देखिन्छ ।
कृतिभित्र पाठक अल्मलिने अवस्थाका निबन्ध छैनन् । तर्कका माखेजंजालबाट कोशौं दूर लाग्छन् । आफ्ना कमजोरी पनि निबन्धले निफनेका छन् । काव्यतत्वले भरिपूर्ण कविले कविताका बिउहरू जतनले छरेजस्तो । जति छोडाएर खायो उति स्वादिला सुन्तलाका केस्रा जस्ता । के छैनन् र दार्शनिक चेत छ । चिन्तन छ । भावनाको पराकाष्ठा भन्नै परेन् । पहिचानका मुद्दालाई पनि निबन्धले उठाएको छ । सामाजिक समावेशिताको पृष्ठपोषण गरेर सिर्जना भएका निबन्धहरूको प्रधानता छ । भोगाईमा चिन्तनलाई मिसाएर सुस्वादु बनाइएका निबन्ध जति पढ्यो अघि बढ्न मन लाग्छ । स्वार्थको पराकाष्ठापूर्ण वर्तमान युगबोध गरेर निबन्ध लेखिएको छ । मान्छेका अनेकानेक आयाममा निबन्धहरूको रचना भएको जस्तो लाग्छ । जबरजस्ती शब्दहरू कलमले थोपरिएका होेइनन् । कतै भावनाका गुम्फन छन् । कतै निर्वाध रूपमा हृदयका धुनहरू निष्फ्रिक्री र्याइँर्याइँ रेटिएर लेखिएका छन् । अनि कतै चाँहि मनको आँशु जम्मा पारेर कलममा भरी त्यही मनको आँशुरूपी कलमले लेखिएका अक्षरहरूको ताँती छ । भनुँम म ? मेरो मन त चरी झैं भुर्र तिनै निबन्धतिर पो उड्यो हजुर ।
मूलधारका सञ्चारहरूको पहुँच नपुगेको ती सुन्दर दैनिकी र अपरिमित प्राकृतिक सुन्दरताभित्रका जीवनको मनमोहक चर्चा गर्छन् । ती झ्याउरेभाका सम्झाउँछन् । कोदोको जिर्मा र मकैको जाडको कुरा गर्छन् । कुमारीले हिजोको मकैको ढिँडोको संस्कृतिको चर्चाले मनै आल्हादित गराउँछिन् । यसैगरी हाम्रै आँटी, पधेँरा र चौताराहरू । ती वनफूलहरू अनि लछप्पै ढाकेका भूइँकुहिरोले फैलाएको मादकता याद दिलाउँछन् ।
कतै यथेष्ट प्रश्नहरूको खात छ किन यस्तो हुन्छ भनेर । कतै निबन्धकारले आफ्नो आस्थालाई पोखेकी छिन् । कतै मनका भाकाहरू खिपेकी छिन् । उनले सीमान्तकृत भनिएकाहरूको पक्षमा आफूलाई उभ्याएजस्तो लाग्छ । अनि सीमान्तकृतको कोपविभाजनका तीखा काँडाहरूले चिथोरिएका मनहरूको आफ्नै दुःख, दर्द र अभावका कथाहरू भनिएजस्तो । कस्तो कस्तो । खै मेरो विचारमा यस्तै यस्तै भावभंगीका निबन्धहरू बलिष्ठ धागोमा उनेर संग्रह उनिएको जस्तो लाग्छ-दर्जु संलाप । कतै दुःखका वर्षाहरूमा निथ्रुक्कै भएर भिजिएका पलका अर्गानिक सुन्दरताका झलकहरूको दर्शन गर्न पाइन्छ ।
कहिलेकाहीँ मूल प्रवाहका निबन्धहरूको लाइनमा केही फरक देखिने, मनले केही फरकपन महसुस गर्ने निबन्धहरू झुल्किने गर्छन् दज्र्यु संलाप त्यस्तै कोटीमा लामबद्ध देखिन्छ । सबल निबन्धकारीताकी धनी लाग्छिन् कुमारी । निबन्धको मूलभूत विशेषता लाग्छ सिमान्तकृत, सामाजिक समाजवेशीकरणका विभिन्न सवालहरू । मौलिक शैलीले सुन्दर लेपन गरिएको यो कृतिमा पठनीय रोचकतामात्र नभएर एक जातिको विभिन्न सामाजिक र सांस्कृतिक पक्षको जानकारी पनि पाठकले पाउँछ । यति भएपछि भन्न सकियो फरक स्वाद र अनुभूतिको समिश्रण भाव निबन्धले प्रदान गर्छ । निबन्धमा भोगाइका अन्र्तव्यथा पनि परेका छन् ।
तीन भागमा विभाजित सुन्दर निबन्धावली दज्र्यु संलापभित्र सत्र थान विविध शीर्षकका निबन्ध परेका छन् । सीमान्त आवाजहरू गुञ्जिएका निबन्धहरूको बाहुल्यता भएको कृतिमा तीक्ष्ण बौद्धिक चेत पोखिएको छ । बेथितिलाई निर्मम भएर उनले उजागर गरेकी छिन् । सामाजिक-सांस्कृतिक पक्षको चिन्तन आत्मीकरण भएर उनका निबन्धहरू छाएका छन् ।
समाज संवार्ताभित्र समावेश गरिएका सात थान निबन्धहरूले गाउँका अर्गानिक कुराहरू स्मरण गराउँछन् । ती गाउँ दूरदराजका कथा व्यथाहरू पोख्छन् । मूलधारका सञ्चारहरूको पहुँच नपुगेको ती सुन्दर दैनिकी र अपरिमित प्राकृतिक सुन्दरताभित्रका जीवनको मनमोहक चर्चा गर्छन् । ती झ्याउरेभाका सम्झाउँछन् । कोदोको जिर्मा र मकैको जाडको कुरा गर्छन् । कुमारीले हिजोको मकैको ढिँडोको संस्कृतिको चर्चाले मनै आल्हादित गराउँछिन् । यसैगरी हाम्रै आँटी, पधेँरा र चौताराहरू । ती वनफूलहरू अनि लछप्पै ढाकेका भूइँकुहिरोले फैलाएको मादकता याद दिलाउँछन् । ती तामाङसेलोमा मस्किँदै नाचिएका विभिन्न पर्वहरूको चर्चा गर्छन् । जाँतो, पानीघट्ट, फलैंचा, सन्दुक जस्ता हाम्रा पुरातन लोपोन्मुख कुराहरू अब एकादेशका कथा भएकोमा निबन्धकारको मन चिन्तित भएको छ ।
हिजोको सुन्दरता आजको डोजरे विकासले खाएको छ । हिजोका खान्की आज चाउचाउ र विभिन्न जङ्क फूडमा रूपान्तरित भएको छ । हिजोको हलगोरुको स्थान आज ट्याक्टर र कुन्नी के जाति मेसिनले लिएको छ । बारीका लमतन्ने सुन्दर पाटाहरू भत्केका छन् । लडेका छन् र सुर्कामा परिवर्तन भएका छन् । यस्तै मसिना तर अर्गानिक कुराहरूले निबन्धकारको मनमा फिरफिरे घुमेका छन् ।
प्राचीन कोलिग्राममा आजको काठमाडौं पोखिएको छ । अलिकति प्राचीन इतिहास कोट्याइएको छ । अलिकति आधुनिक शहरको चर्चा चलाइएको छ । पोखरी, इनार, धाराहरू लोपोन्मुख छन् । हिजोको कोलिग्राममा यिनको बैभवता र संस्कृतिको वलिष्ठता थियो तर आज......। निबन्धकार आफूमात्र नभएर पाठकहरूलाई पनि हाम्रा प्राचीन मौलिक चीजवीज र बस्तुहरूको स्मरण गराएर नोष्टाल्जिक गराउँछिन् ।
दिलमायामार्फत मिहेनती महिलाको दिनचर्चा बताउँछिन् लामा-‘दृश्य-आयाम’मा । ‘नतानिएको सटर’ मार्फत भूइँमान्छेको व्यथा चित्रण गर्छिन् । जहाँ गरिब भएर पनि गरिबको सूचीमा सूचीकृत हुन नसकेको व्यक्तिको यथार्थको सत्यापन गरिएको जस्तो लाग्छ । ‘चियाको गिलास’मा कथित जातीय विभेदको कुरा उप्काइएको छ । गैह्रदलित छोरा र कथित दलित छोरीबीचको मायाप्रेम जात नमिलेको जोडीको रूपमा चित्रण गरिएको छ । समाजमा यत्रतत्र हुने यस्ता घट्नाहरू जोडेर विभेदमा धर्मले काम गरेको हुनाले धर्म परिवर्तन हुनेगरेको समाजको यथार्थ उजागर गरिएको छ र सँगै प्रश्न पनि तेस्र्याइएको छ धर्म परिवर्तनले मात्र जातीय मनोविज्ञानको अन्त्य कति होला ? यो समानताको निम्ति लेखिएको निबन्ध हो ।
गैह्रदलित छोरा र कथित दलित छोरीबीचको मायाप्रेम जात नमिलेको जोडीको रूपमा चित्रण गरिएको छ । समाजमा यत्रतत्र हुने यस्ता घट्नाहरू जोडेर विभेदमा धर्मले काम गरेको हुनाले धर्म परिवर्तन हुनेगरेको समाजको यथार्थ उजागर गरिएको छ र सँगै प्रश्न पनि तेस्र्याइएको छ धर्म परिवर्तनले मात्र जातीय मनोविज्ञानको अन्त्य कति होला ?
शीर्षकृत दर्जु संलाप निबन्धमा ओझेल परेका पुराना कुराहरू पुर्नताजगी गराउने प्रयास पाइन्छ । हाम्रा ग्रामीण अर्गानिक वातावरणसहितका सुन्दर प्रकृतिको काव्यात्मक चित्रण पाइन्छ माझघट्टको दुई थुँगा फूल, घराख्यान जस्ता निबन्धमा । ‘सुकन्यासँगै बाँचिरहेकी ‘केही’ पारिजात–व्यक्तिपरक निबन्ध’ हो । ‘आगो बोकेर मनमा’ आम भूइँमहिलाहरूको आफ्नै दैनिकी लाग्छ । उनीहरूको पीडा र छटपटीमा आएको विद्रोही चेतमा निबन्ध लेखिएजस्तो लाग्छ । मनको अन्तर्यबाट आएका बेजोड अनुभूतिहरू पढ्न सकिन्छ-‘दृश्य-दृश्यांश’मा ।
दज्र्यु संलापभित्र आत्मतत्वको प्रधानता रहेका निबन्धहरूमा अनुभूतिको सुन्दर रंगको कुची चलाइएको छ । कुनै निबन्ध भावनात्मक अभिव्यञ्जनाको सन्निकट छन् त कुनै विभिन्न चरित्र, घट्ना, परिवेशको वर्णनले आख्यानात्मक पनि लाग्न सक्छन् । ती निबन्धहरू व्यक्तिगत जीवनका भोगाइ र अनुभवतिर पनि लक्षित हो भन्ने लाग्छन् । कतिपयले आत्मप्रकाशन गरेका छन् । बिम्ब र प्रतिकले भरिएका काव्यनिकट छन् । दार्शनिक चेतसहित तार्किक सादृश्यमूलक निबन्ध पनि पढ्न मज्जा लाग्छन् । भावपक्षलाई जोडिएर लेखिएका कुमारीका निबन्धहरू तर्क, चिन्तन र बौद्धिकताका त्रिवेणी देखिएका छन् । निबन्ध सौकुमार्य, तार्किक र खँदिला भएको भन्न मलाई अप्ठ्यारो लागेन् ।
कुमारीका निबन्धहरू विचारोत्तेजक पक्कै छन् । महिलाका सवालमा संवेदनशील उस्तै । समाजका विविध आयामका फेहरिस्त लाग्ने काव्यात्मक चेत भएका, कलात्मकताको लेप लागेका छन् । अनुभूतिमा लछप्पै भिजेर सिर्जना गरिएका बलिष्ठ वैयक्तिक पक्षयुक्त पनि छन् । यस्ता अभिलक्षणले भरिएका दज्र्यु संलापभित्रका निबन्धहरू आन्तरिक सौन्दर्यले समेत सुन्दर छन् । आख्यानजस्ता लाग्ने कतिपयले आफ्नै थातथलोका कथाव्यथा गुञ्जाउँछन् ।
जातीय मुद्दा, पहिचान र समावेशीकरण जस्ता विषय अहिले पनि पेचिला नै भएको समयमा कुमारी लामा त्यही कित्तामा उभिएर लेख्ने हिम्मत गरिरहेकी छिन् । विचारलाई सहज ढंगले प्रस्तुत गर्नसक्नु कुमारीका निबन्धका विशेषता लाग्छ । सामाजिक असमानताप्रतिको प्रहार, सरल भाषाको माध्यमबाट समाजको जटिल विषयहरूमा बौद्धिक अभिव्यक्ति आउनु कुमारी लामाका निबन्धहरूको सफलता हो ।






हार्दिक आभारी छु हिमालय टाइम्सप्रति