बझाङ । जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बझाङको बागथला–चैनपुर सडक खण्डको अवस्था अहिले चरम दयनीय बनेको छ । करिब ४५ किलोमिटरको यात्रामा यात्रुहरूले गन्तव्यभन्दा पहिले सास्तीको यात्रा गर्नुपर्ने बाध्यता छ । सडकभरी व्यापक खाल्डाखुल्डी र वर्षातको समयमा ती खाल्डामा पानी जम्ने समस्या चुलिँदा यात्रा थप जोखिमपूर्ण बनेको छ । कतै पानीले भरिएका गहिरा खाल्डा, कतै चिप्ला मोडले गर्दा बिरामीका लागि त ‘सडक’ आफैँ रोगको जड बनेको स्थानीयवासीको गुनासो छ ।
जालेबगर, बालुवाटार, भ्यागुते खोला लगायतका स्थानमा हिउँदमा सुक्खा पहिरो र वर्षातमा पहिरो खस्दा बेलाबेला सडक अवरुद्ध हुने अवस्था आउँछ । विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोड रुपैयाँ खर्चेर ओटासिल प्रविधिमार्फत कालोपत्रे गरिएको यो सडक निर्माण कार्य सम्पन्न नहुँदै बिग्रिएको हो ।
स्थानीय बासिन्दा र यातायात व्यवसायीहरूले कालोपत्रे कार्य ‘गुणस्तरहीन’ भएको आरोप लगाउँदै ठेकेदार कम्पनी र आयोजना कार्यालयमाथि गम्भीर प्रश्न उठाएका छन् । स्थानीय दीपकराज जोशीका अनुसार, सडक सुधारका लागि पटक-पटक निर्वाचित सांसदहरूलाई ध्यानाकर्षण गराए पनि कुनै चासो नदिइएको गुनासो छ । ‘ठेकेदारको मनपरी, नेताको बेवास्ता र सरकारी निकायको लापरबाहीले आम नागरिकको दैनिक जीवन कष्टकर भएको छ’, उहाँले भन्नुभयो ।
गाडी व्यवसायी चक्र बोहराका अनुसार, बागथलादेखि चैनपुर पुग्न डेढ घण्टामा सकिने बाटो अहिले पाँच घण्टासम्म लाग्ने गरेको छ । खराब सडकका कारण सवारीसाधनको इञ्जिन बिग्रनु, पार्टपुर्जा जाम हुनु र हर्न काम नगर्नु जस्ता समस्या सामान्य जस्तै बनेको व्यवसायीहरूको भनाइ छ ।
यद्यपि, सडक डिभिजन कार्यालय बैतडीका निमित्त प्रमुख लक्ष्मणदत्त जोशीले भने खाल्डाखुल्डी पुर्ने र सडक मर्मतका लागि आगामी बजेटमा योजना समावेश गरिएको जानकारी दिनुभयो । ‘साउन महिनामै ठेक्का प्रक्रिया अघि बढाउने गरी तयारी भइरहेको छ । साथै, वर्षातको समयमा पहिरोले अवरुद्ध हुने स्थानहरूमा दुईवटा स्काभेटर खटाएर सडक खुलाउने काम भइरहेकै छ’, उहाँले जानकारी दिनुभयो ।
रणनीतिक सडक र पूर्वाधार विकासका नाममा बर्सेनि करोडौँ रुपैयाँ खर्च भइरहँदा पनि प्रभावकारी कार्यान्वयन नहुँदा बझाङवासीको सास्ती घट्ने अवस्था देखिँदैन । जयपृथ्वी राजमार्गको बागथला–चैनपुर सडकखण्ड अहिले जनताका लागि दुःखको पर्याय बनेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच