काठमाडौं । विद्यालय तहका किशोरलक्षित गरी सञ्चालित ‘विमेन क्लब जुनियर्स’ परियोजनाको दोस्रो चरण सम्पन्न भएको छ । २०८१ जेठदेखि २०८२ असारसम्म सञ्चालन भएको परियोजना‘हामी दाजुभाइ’ संस्थाद्वारा डिकेए अष्ट्रियाको साझेदारी र ललितपुर महानगरपालिकाको समन्वयमा भएको थियो । बिहीबार सम्पन्न परियोजनाको समापन कार्यक्रममा ५५ जना किशोरकिशोरीको सहभागिता थियो ।
कार्यक्रमको उद्देश्य किशोरहरूमा सकारात्मक पुरुषत्व, लैंगिक समानता, आत्म अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु रहेको विमेन क्लब जुनियर्स परियोजना संयोजक वर्षा थापा मगरले जानकारी दिनुभयो । पाटन हाईस्कुलका रनेश चौधरीले भन्नुभयो, ‘पहिले घरायसी काम महिलाको मात्र हो भन्ने धारणा थियो तर अहिले विमेन क्लबमा सहभागी भएपछि मेरो सोचमा ठूलो परिवर्तन आयो । मैले अहिले घरायसी काममा पनि सघाउने गरेको छु ।’
त्यस्तै, दैलेखका सुरेश थापा हाल ललितपुरको टिका विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ । उहाँले एक घटना सुनाउँदै भन्नुभयो, ‘कक्षाकी एक छात्रालाई मन पराएकोमा वर्ण र क्षेत्रीय पहिचानकै आधारमा गिज्याइएपछि साथी विद्यालय नै परिवर्तन गर्न बाध्य हुनुभयो । कोही कहाँ जन्मिन्छ, कस्तो वर्ण वा कदको हुन्छ भन्ने कुराले कुनै पनि व्यक्तिको सम्मान र गरिमा घटाउँदैन । सबैको रगत एउटै हो– रातो ।’ बालविवाहको मुद्दामा सचेतना फैलाउँदै एक सहभागीले गाउँ जाँदा देखेको घटना सुनाए । नाबालिकाको विवाहको तयारी भइरहेको देख्दा उनले आफ्नी आमालाई सो विवाह रोक्न पहल गर्न सुझाएको बताउनुभयो । थापाले त्यस्तो ज्ञान ललितपुरमा वा नेपालको एउटा कुनामा मात्र सीमित नभएर देशका सबै ठाउँमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । परियोजनाअन्तर्गत ललितपुरका विभिन्न विद्यालयमा सत्रहरू सञ्चालन गरिएको थियो ।
सहभागीहरूले सिर्जनात्मक अभ्यास, संवाद, सामूहिक छलफल र मूल्य शिक्षाका माध्यमबाट परिवर्तन र सामाजिक चेतनाको विकास गरेको आयोजकले जनाएको छ । ललितपुर महानगरपालिका ६ का सदस्य एवं सामाजिक विकास समिति शाखा सदस्य, बालअधिकार समिति अध्यक्ष उमा बज्राचार्यले आगामी दिनमा पनि वडाबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिका महिला विकास शाखा प्रमुख शोभादेवी खरेलले ‘विमेन क्लब जुनियर्स’ परियोजनाबाट किशोरहरूलाई प्रदान गरिएको शिक्षा अत्यन्त सराहनीय भएको बताउनुभएको थियो । आयोजकका अनुसार पहिलो वर्ष विमेन क्लब जुनियर्स ललितपुर महानगरपालिका ६, ८, ९, ११, १७, १८ मा सञ्चालन भएको थियो । दोस्रो वर्ष महालक्ष्मी नगरपालिका ४, ८ र गोदावरी नगरपालिका ८, र ११ र ललितपुर महानगरपालिका २, ६ नम्बर वडामा सञ्चालन भएको र अर्को चरण आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने विमेन क्लब जुनियर्स कार्यक्रम संयोजक वर्षा थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ललितपुर जिल्लाका १२ विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि