दाङ । बिरामीको नाममा ठगी गर्ने गिरोहको गतिविधि बढ्दै गएका बेला दाङ प्रहरीले घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । बोनम्यारो सुक्ने रोगबाट पीडित एक बिरामीको नाममा नक्कली रसिद र पर्चा बनाएर सहयोग संकलन गरिरहेको अवस्थामा प्रहरीले ईश्वर अधिकारी नामक व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका २७ वर्षीय अधिकारी मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१८ का बासिन्दा हुन् । उनी मकवानपुरको बकैया गाउँपालिका-१०, नौकामी स्थायी घर भई हाल ललितपुरमा बस्दै आउनुभएका ३६ वर्षीय युवराज भोलनको नाममा रकम उठाइरहेका थिए । भोलन हाल काठमाडौंस्थित सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपणको तयारीमा हुनुहुन्छ ।
दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार, अधिकारी बिरामीको फोटो देखाएर देशभरि पैसा उठाइरहेका थिए तर बिरामी पक्षलाई एक रुपैयाँ पनि दिइएको छैन । प्रहरी अनुसन्धानबाट अधिकारी मात्र नभई ठूलो गिरोह नै संलग्न रहेको खुलेको छ । अधिकारीले मासिक १८ हजार रुपैयाँ दिने प्रलोभनमा पारी १२ जना युवालाई नियुक्त गरेर पश्चिम नेपालका विभिन्न जिल्लामा सहयोग संकलन गर्न पठाएको खुलेको छ ।
प्रहरीका अनुसार गिरोहका मुख्य योजनाकार इटहरीका सुवास बिक हुन् । बिकले ‘राष्ट्रिय स्वयंसेवक समाज’ नामक संस्थाको नाममा सहयोग संकलन गरिरहेका छन् । तर, उक्त संस्था कतै पनि आधिकारिक रूपमा दर्ता नभएको पाइएको छ । संकलित रकम गिरोहका सदस्यहरूले बिकलाई पठाउने गरेका छन्, तर बिरामीलाई रकम हस्तान्तरण गरिएको छैन ।
एसपी तिमिल्सिनाका अनुसार, अधिकारीले मात्र बिकलाई केही दिनअघि ४० हजार रुपैयाँ पठाएका थिए । अन्य व्यक्तिहरूले पनि रकम संकलन गरेर बिकलाई नै पठाएको पाइएको छ । ‘बिरामीको नाममा संकलन गरिएको रकम सोमबारसम्म दिन भनेको थियौँ, तर अहिलेसम्म दिइएको छैन,’ एसपी तिमिल्सिनाले जानकारी दिनुभयो । हालसम्म भोलनले एक रुपैयाँ पनि नपाएको बताउनुभएको छ ।
भोलनको बोनम्यारो प्रत्यारोपणका लागि अस्पतालले ४० लाख रुपैयाँ लाग्ने जनाएको छ । उहाँकी १४ वर्षीया छोरीले बोनम्यारो दिन तयार हुनुभएको छ, तर आर्थिक अभावका कारण उपचार सम्भव भएको छैन । मुख्य योजनाकार सुवास बिक हाल सम्पर्कविहीन छन् भने प्रहरीले उनीसहित अन्य संलग्न व्यक्तिहरूको पहिचान गरेर अनुसन्धान अगाडि बढाएको छ । बिरामीको नाममा रकम संकलन गर्ने यस्ता ठग समूहबारे सतर्क रहन प्रहरीको आग्रह छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं