‘लगतीति लग्नम्’ अर्थात् क्रान्तिवृत्तको जुन भाग हाम्रो पूर्वी क्षितिजमा लाग्छ त्यही लग्न हुन्छ । ‘लग्’ धातुमा ‘क्त’ प्रत्यय लागेर (शब्दकल्पद्रुम) लग्न शब्दको निर्माण हुन्छ । जसको अर्थ पनि लाग्ने भन्ने हुन्छ । हाम्रा हरेक शुभकर्ममा लग्नको आवश्यकता पर्ने गर्दछ । राशि र नक्षत्रसहितको आकाशीय सूर्य हिँड्ने वृत्त (बाटो)लाई क्रान्तिवृत्त भनिन्छ । सोही वृत्तको जुन भाग हाम्रो पूर्वी क्षितिजमा लाग्छ त्यही लागेको राशिको बिन्दु प्रथमलग्न हुन्छ । सोही प्रथमलग्नबाट नै हाम्रा चिना कुण्डलीको विश्लेषण शुभाशुभ फलादेश हुने गर्दछ । यसैगरी विवाह, व्रतबन्ध आदिमा पनि यिनै लग्नको समय निर्धारण गरिएको हुन्छ जुन धर्मशास्त्रअनुकूल रहन्छ ।
‘यत्र लग्नमपमण्डलं कुजे तद्गृहाद्यमिह लग्नमुच्यते । प्राचि पश्चिमकुजेद्रस्तलग्नकं मध्यलग्नमिति दक्षिणोत्तरे ।।’ (भास्कराचार्य, सिद्धान्तशिरोमणि, गोलाध्यायः, त्रिप्रश्नवासना, श्लो.२५) अर्थात् जहाँ क्षितिज र क्रान्तिवृत्त मिल्छन् त्यो बिन्दु उक्त स्थानको लग्न हुन्छ । पूर्वक्षितिजमा क्रान्तिवृत्तको (सूर्य हिँड्ने बाटोको) जुन भाग लाग्छ त्यो उदय वा प्रथमलग्न हुन्छ । उक्त अवस्थामा अस्त क्षितिजमा लागेको क्रान्तिवृत्तको भाग वा राशि अस्त वा सप्तमलग्न हुन्छ । लग्न र सप्तमलग्नको अन्तर १८० अंशको हुने गर्दछ । सोही अवस्थामा याम्योत्तर (दक्षिणउत्तर) वृत्तमा क्रान्तिवृत्तको जुन प्रदेश रहन्छ त्यो मध्यलग्न अर्थात् चतुर्थ र दशमलग्न हुन्छ ।
लग्नको परिभाषा गरेर ज्योतिषशास्त्रमा लग्नानयनका अनेक सूत्र प्रतिपादित छन् । निरक्षोदय असु पठित छन् । जसबाट चर अनुसार स्वदेशोदय असु वा कला बनाइन्छ र सायन सूर्यका आधारमा भुक्त वा भोग्यप्रकारले तात्कालिक समयमा कुन लग्न छ भनी निकालिन्छ । यसरी निकालिने लग्न केवल ६६ अक्षांशभन्दा कम स्थानका लागि मात्र हो ।
यसरी लग्नको परिभाषा गरेर ज्योतिषशास्त्रमा लग्नानयनका अनेक सूत्र प्रतिपादित छन् । निरक्षोदय असु पठित छन् । जसबाट चर अनुसार स्वदेशोदय असु वा कला बनाइन्छ र सायन सूर्यका आधारमा भुक्त वा भोग्यप्रकारले तात्कालिक समयमा कुन लग्न छ भनी निकालिन्छ । यसरी निकालिने लग्न केवल ६६ अक्षांशभन्दा कम स्थानका लागि मात्र हो । त्यसभन्दा धेरै अक्षांश रहने स्थानका लागि होइन भनी कमलाकरले सिद्धान्ततत्त्वविवेकमा यसरी बताएका छन् :
‘इत्थमुक्तं हि याम्याक्षविषयेष्विह तच्च वै ।
रसषट्काक्षतः पूर्वं ज्ञेयं तत्परतो नहि ।।’
(सितवि., त्रिप्रश्नाधिकार, श्लो.१४२) अर्थात् लगनानयनका प्रक्रिया दक्षिणी गोलमा पनि ६६ अक्षांशसम्म सोही रहन्छन् । त्यसभन्दा परको लग्नयानयनमा अर्थात् ६६-९० अक्षांश हुने स्थानमा यो सुत्र लागू हुँदैन । जुन देशको वा स्थानको ६६ अंशभन्दा अधिक अक्षांश हुन्छ त्यहाँ विशेष रहन्छ । सूर्यको उत्तरक्रान्ति त्यहाँ जबसम्म लम्बांशभन्दा अधिक हुन्छ तबसम्म त्यहाँ लगातार दिन रहन्छ । यसै गरी जबसम्म दक्षिणी क्रान्ति लम्बांशभन्दा अधिक हुन्छ तबसम्म त्यहाँ लगातार रात रहन्छ । मेरुस्थानमा (ध्रुवस्थानमा) छ महिना दिन र छ महिना रात रहन्छ :
‘षट्षष्टिभागाभ्यधिकाः पलांशा यथात्र तत्रास्त्यपरो विशेषः ।।
लम्बाधिका क्रान्तिरुदक् च यावत् तावद्दिनं सन्ततमेव तत्र ।
यावच्च याम्या सततं तमिस्त्रा ततश्च मेरौ सततं समर्धम् ।।’ (सिद्धान्तशिरोमणिः, भूगोलाध्यायः, त्रिप्रश्नवासना, श्लो ६,७)
किनकि दक्षिण क्षितिजमाथि नाडीवृत्त लम्बांश अन्तरित रहन्छ । लम्बांश अन्तरित स्थान नै उत्तरी क्षितिजको तल रहन्छ । अतः नाडीवृत्तबाट लम्बांशभन्दा अधिक उत्तर क्रान्ति हुँदा त्यसको अग्रस्थानमा जो अहोरात्रवृत्त हुन्छ त्यो उत्तर क्षितिजबाट माथि रहन्छ । नाडीवृत्तबाट त्यति नै दक्षिणक्रान्तिमा जो अहोरात्रवृत्त हुन्छ त्यो दक्षिण क्षितिजबाट तल रहन्छ । अतः क्षितिजमाथि अहोरात्रवृत्तमा भ्रमण गर्ने सूर्य सर्वदा दृश्य नै रहन्छन् र क्षितिजबाट तल हुने अहोरात्रवृत्तमा भ्रमण गर्ने सूर्य सधैँ अदृश्य रहन्छन् । जहाँ ७० अक्षांश छ त्यहाँ लम्बांश २० हुन्छ । उक्त देशमा विषुवत्वृत्त दक्षिण क्षितिजको माथि २० अंशतुल्य रहन्छ । तथा उत्तर क्षितिजमुनि त्यति नै रहन्छ ।
यदि सूर्यको उत्तरीक्रान्ति २० अंश छ भने उत्तर क्षितिजबाट सूर्यको बिम्बार्ध उदित भएर मध्याहृनमा दक्षिण क्षितिजको माथि याम्योत्तरमण्डलमा ४० अंशसम्म उन्नत रहन्छ । तब ३० घडीको दिनार्ध हुन्छ । अतः ६० घडीको दिन हुन्छ र रात्रि शून्य हुन्छ । यसको अघिल्लो दिनमा क्रान्ति अधिक हुने भएकाले सूर्यले उत्तर क्षितिजलाई स्पर्श गर्न सक्दैनन् । यसप्रकार प्रतिदिन भ्रमण गर्दै जब त्यो उसको परमक्रान्तितुल्य माथि भ्रमण गर्दछ तब मिथुनान्तमा उत्तर क्षितिजबाट ४ अंश माथि रहन्छ (२४-२०=४) । पुनः यही क्रमले अवरोहित हुँदै २० अंशभन्दा अधिक क्रान्ति रहुञ्जेलसम्म त्यो सतत दृश्य रहन्छ जसले सधैँ दिन हुन्छ ।
यही प्रक्रियाले यति समयसम्म सूर्य दक्षिण गोलमा क्षितिजको तल रहँदासम्म रात्रि रहिरहन्छ । यसै प्रकार मेरुमा अर्थात् ध्रुवस्थानमा वा ९० अक्षांश हुने स्थानमा छ महिनासम्म दिन रहन्छ । देश वा स्थान विशेषमा राशिको सदोदित वा निश्चित समयसम्म दुई तीन राशिको उदय भइरहने वा लग्न रहिरहेने हुन्छ । जसको उदाहरणपूर्वक भास्कराचार्यले यसरी बताएका छन् :
‘त्र्यंशयुङ्नवरसा ६९।२० पलांशका यत्र तत्र विषये कदाचन ।
दृश्यते न मकरो न कार्मुकं किंच कर्किमिथुनौ सदोदितौ ।।
यत्र साङ्घ्रिगजवाजिसंमिता ७८।१५स्तत्र वृश्चिकचतुष्टयं न च ।
दृश्यतेद्रथ वृषभाच्चतुष्टयं सर्वदा समुदितं च लक्ष्यते ।।
यत्र तेद्रथ नवतिः पलांशकास्तत्र काञ्चनगिरौ कदाचन ।
दृश्यते न भदलं तुलादिकं सर्वदा समुदितं क्रियादिकम् ।।’ (सिद्धान्तशिरोमणि, गोलाध्याय, त्रिप्रश्नवासना, श्लो.२८-३०)
जुन स्थानमा ६९।२० अंशतुल्य अक्षांश हुन्छ त्यहाँ धनु तथा मकर राशि कहिल्यै उदित हुँदैनन् तथा मिथुन एवं कर्कट राशि सदा उदित रहन्छन् । यहाँ उदित हुनु भनेको लग्न रहनु हो भने उदित नहुनु भनेको लग्न नरहनु हो । जुन स्थानको अक्षांश ७८।१७ अंशतुल्य हुन्छ त्यहाँ वृश्चिकादि चार (वृश्चिक, धनु, मकर, कुम्भ) राशि कहिल्यै उदित हुँदैनन् र वृषबाट चार राशि (वृष, मिथुन, कर्कट, सिंह) सदा उदित रहन्छन् । जहाँ अक्षांश ९० अंशतुल्य हुन्छ त्यो मेरुस्थान हो । त्यहाँ तुलादि ६ राशि दृश्य हुँदैनन् तथा मेषादि छ राशि सदा उदित रहन्छन् ।
जुन राशि क्षितिज मुनि सदा रहन्छन् ती उदित नहुने भएकाले अदृश्य रहन्छन् तथा जुन राशि क्षितिजभन्दा माथि रहन्छन् ती सदा उदित रहन्छन् । ब्रहमगुप्त, श्रीपतिले पनि यही कुराको समर्थन गरेका छन् । लल्लाचार्यको मत भने भास्काराचार्यले खण्डन गरेको पाइन्छ । कमलाकरले पनि सधैँ उदित भइरहने राशिका बारेमा यसरी धारणा राखेका छन् : जसको जब (उत्तरी गोलमा) उत्तरक्रान्ति लम्बांशभन्दा धेरै हुन्छ तबसम्म त्यो (सूर्यादि चल नक्षत्र) क्षितिजको माथि रहन्छ । यसैगरी लम्बांशबाट दक्षिणक्रान्ति अधिक हुञ्जेल त्यो ग्रह नक्षत्र क्षितिजमुनि हुन्छ । अर्थात्
‘लम्बाधिका क्रान्तिरुदक् च यस्य यावच्च तावत् क्षितिजोध्र्वगः सः ।
एवं हि लम्बाभ्यधिकाद्रनुकक्स्था क्रान्तिश्च तावत् स कुजादधः स्थः ।।’ (सिद्धान्ततत्त्वविवेक, त्रिप्रश्नाधिकार, श्लो.१५३)
क्रान्ति लम्बांशभन्दा अधिक हुँदा द्युज्याचापांश अक्षांशभन्दा कम हुन्छ । उत्तरगोलमा अक्षांशभन्दा कम द्युज्याचापांश हुने भएकाले अहोरात्रवृत्त क्षितिजमाथि रहन्छ । जसले गर्दा ६६ अक्षांशभन्दा माथिका स्थानमा लग्नको एउटै रूप हुँदैन ।
खगोल गणनाको महत्वपूर्ण कार्य लग्नानयन प्रक्रिया हो । लग्नबाटै हाम्रा शुभकर्मको साइत तय गरिन्छ । यसैगरी लग्नबाट नै चिना जन्मपत्रिका बनाएर व्यक्तिको फलादेश पनि हुने गर्दछ । यसरी बनाइने लग्नमा खगोलीय परिस्थिति प्रत्यक्षीभूत हुनुपर्दछ । ६६ अक्षांशभन्दा कम अक्षांश हुने स्थानमा ६० घडी वा २४ घण्टाको दिनरात हुने भएकाले एउटै लग्नानयन प्रक्रिया अवलम्बन हुन्छ ।
क्रान्तिवृत्तको जुन प्रदेश उदयक्षितिजमा लाग्छ त्यही प्रथमलग्न हुन्छ । यसरी हेर्दा ध्रुवस्थानको क्षितिजमा केवल क्रान्तिवृत्तका दुई बिन्दु मेष र तुला लाग्ने भएकाले सायनसूर्य मेषमा हुँदादेखि सायनसूर्य तुलामा नजाउञ्जेल सम्म क्षितिजमाथि ६ वटा लग्न उदित वा देखिइरहने भए । किनकि ध्रुवका लागि क्षितिज नाडीवृत्त हो । नाडीभन्दा क्रान्ति ६ महिना माथि र छ महिना तल रहने भएकाले उदयक्षितिजमा क्रान्तिवृत्तका ६ राशि वा १८० अंशभाग क्षितिजमाथि उदित रहेने भए छ राशिकै लग्न हुने भयो ।
यसैगरी ६६ अक्षांशभन्दा माथिका स्थानमा कतै दुई महिनाको दिन, कतै चार महिनाको दिन त कतै छ महिनको दिन रहन्छ । यस्तो हुनुको पछाडि सूर्यको निश्चित अयन चलन नै हो । कर्कट र मकर रेखामा सूर्यको अयन चलन सीमित रहनु अनि क्षितिजमाथि नै क्रान्तिवृत्तका निश्चित प्रदेश सधैँ देखिरहने भएकाले पनि हो । अतः ६६ अक्षांशाधिक स्थानमा एकभन्दा अधिक राशिका लग्न हुन्छन् त कुनै राशिको लग्न नै रहँदैन । किनिकि ती उदय क्षितिजमा कहिल्यै देखिन आउँदैनन् । लग्नको परिभाषाअनुसार क्रान्तिवृत्तको भाग क्षितिजमा देखिने अवस्था प्रथमलग्न हो । ६६ अक्षांशभन्दा धेरै हुने स्थानमा क्रान्तिवृत्तका एक राशि अधिक भाग सधैँ देखिने अनि कतिपय राशि सधैँ नदेखिने हुन पुग्छ । यसैले त्यहाँ अस्त, चतुर्थ, दशम लग्न पनि नहुने स्थितिको सिर्जना हुन्छ ।
सूर्य क्रान्तिवृत्तमा घुम्छन् । यसैले सायन सूर्यलाई नै आधार मानेर लग्नस्थान निकाल्ने गरिन्छ । जुन राशिमा सूर्य छन् त्यो महिनाभरि बिहानको सूर्योदय कालमा त्यही राशिको लग्न हुन्छ । जस्तो कि वैशाख महिनामा सूर्योदयकालमा सधैँ मेषलग्न नै हुने गर्दछ । जति–जति दिन बित्दै वा अंश सकिँदै जान्छन् त्यति त्यति लग्न परिवर्तन हुने समय पनि घट्दै जाने गर्दछ । यसैगरी जेठमहिनाको सूर्योदयकालमा वृष लग्न, असार महिनाको सूर्योदयकालमा मिथुन लग्न एवं क्रमले चैत महिनाको सूर्योदयकालमा मीनलग्न हुन्छ । यस्तो हुनुको कारण भचक्र (राशि एवं नक्षत्र कक्षासहितको चक्र)लाई नित्य प्रवह वायुबेगले पश्चिम दिशातर्फ घुमाउने भएर हो । यस्तो स्थिति ६६ अक्षांश हुने स्थानसम्म रहन्छ ।
खगोल गणनाको महत्वपूर्ण कार्य लग्नानयन प्रक्रिया हो । लग्नबाटै हाम्रा शुभकर्मको साइत तय गरिन्छ । यसैगरी लग्नबाट नै चिना जन्मपत्रिका बनाएर व्यक्तिको फलादेश पनि हुनेगर्दछ । यसरी बनाइने लग्नमा खगोलीय परिस्थिति प्रत्यक्षीभूत हुनुपर्दछ । ६६ अक्षांशभन्दा कम अक्षांश हुने स्थानमा ६० घडी वा २४ घण्टाको दिनरात हुने भएकाले एउटै लग्नानयन प्रक्रिया अवलम्बन हुन्छ । तर सोभन्दा माथिका स्थानमा दिन रातको भिन्न व्यवस्था रहने भएकाले लग्नमा पनि भिन्नता रहने गर्दछ । लग्नको परिभाषा अनुसार तत् सथानमा एकभन्दा अधिक राशिको लग्न हुन पुग्ने देखिन्छ । यस विषयमा विद्वान्बीच विमर्श आवश्यक देखिन्छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :