तिमी सोच्छौ-
म मौन छु, शून्यता जस्तो...
तर म त मौनताभित्रको गर्जन हुँ
क्रान्तिको साँघुरो सास,
आफ्नै गहिराइमा उम्लिरहेको,
अवयवहरूमा कम्पन बोकेको..
शक्तिशाली हिमशिखरजस्तै
नझुक्ने-नडगमगाउने अडान हुँ ।
मेरो अन्तर्यमा छ
नदेखिएको चिनगारी,
धर्तीझैँ स्निग्ध स्वभाव छ मेरो
शान्त उडान भर्छु कर्तव्यको
जब अन्याय हुन्छ लोकमा
त्यो दिन बन्न सक्छु
समयलाई नै खरानी बनाउने आगो ।
शब्द अस्त्रले विश्व हल्लाउँछु
शब्द सम्प्रेषणले सत्ता पल्टाउँछु
शान्तिको खोजीमा मौन आँधी भइ
यदाकदा आफैँ हराँउछु,
तर तुरुन्त
रक्त बीज भएर पुनः पलाउँछु ।
म बाँच्दछु शाान्तिको कामनामा
पर्दिन रतिभर भ्रान्तिको दुश्चक्रमा
ज्वाला बन्छु शोषणको प्रतिरोधमा
म बाँच्दछु केवल न्यायको संकल्पमा,
म नाचिरहेछु स्वयम्भूको आँखामा
आत्मा लुकेको छ मातृभूमिको ध्वजामा
वीरताको इतिहास र गौरवको गाथामा
आँसु, रगत र मायाको स्निग्ध संकल्पमा
तिमीले जति कँस्छौ ?
म उति फैलिन्छु सञ्जालमा,
तिमीले जति थिच्छौ,
हिमालझैँ चुलिन्छु झन् आकाशमा
उठेको शिर झुक्ने छैन अब
स्वाभिमानको ज्वाला छ साथमा
शब्दको एकमुष्ट घोषणापत्र हो यो
अन्याय, दमन र अत्याचारको विरोधमा ।।
तिमी मान वा नमान
अन्याय प्रतिरोधका लागि
मेरा एक-एक शब्द गोली हुन्
दृश्यबिम्बहरू बमबर्षक विमान हुन्
नठान मेरा शब्द विम्बलाई निःशस्त्र
किनकि ती त विद्रोहका संवाहक हुन्
हो ! म कलम बोकेर हिँड्छु,
त्यसैले म मौन देखिन्छु
मौनतामै शब्द केलाउँछु
त्यहीमार्फत
बोली खोसिनेको बोलि फर्काउँछु
अस्मिता हराउनेमा न्याय दिलाउँछु
असहायको अभिभावक बन्छु
वेसहाराको सहारा बन्छु ।
म बोल्दछु जब
सत्ताले आवाज हराउँछ
राष्ट्रियता बन्धक राखेर
स्वार्थमा रमाउँछ
बेथितिको सम्राट सम्झेर
गाइजात्रे ताण्डवमा रमाउँछ
त्यस बेला अहोरात्र भन्दिनँ
जब सत्ताले विवेक हराउँछ
तत्काल विद्रोह जन्माउँछु,
सत्ता ढाल्न कलम खियाउँछु
अथक प्रयत्नले आन्दोलन जन्माउँछु
त्यसैलाई शब्दको मलजलले हुर्काउँछु
सत्ता पल्टाउँछु
म स्वाभिमानमा बाँच्दछु
हुन दिन्न कत्ति घात
आमाको अस्मितामा
विदेशीको इसारामा
आफ्नो अस्तित्व विर्सनेलाई
राष्ट्रवादको द्योतक मान्ने छैन
राष्ट्रद्रोही भन्न छोड्ने छैन
म विद्रोहको झिल्का हुँ देशको,
नवसृजनाको नयाँ संकल्प
नयाँ युगको नयाँ आवाजको
यही हो मेरा बाटो
तसर्थ म मौन आँधी हुँ ।।
शब्दहीन हुरीजस्तै शान्त, तर भयानक
तिम्रा अन्यायका प्रहार चुँडाल्न
म हृदयमा सल्किएको क्रान्तिको ज्वाला हुँ ।
मलाई नझुकाऊ कम्जोरीको दृष्टिले
मेरो मौनताको गहिराइमा
प्रतिवादको गर्जन बाँधिएको छ ।
तिमीले च्यातेका सपना,
षड्यन्त्रको भारीले दबिएका ती आकांक्षा
अब म पुनः बिउँताउने अठोट हुँ ।
म त्यो बिजुली हुँ
जसको चमक तिमीले देख्न सक्दैनौ,
र म जनताको त्यो मौन चिच्याहट हुँ
जसलाई तिमी बुझ्न सक्दैनौ ।
तिमी यदि सत्ता भएर आकाशबाट बर्सन्छौ भने,
म धरतीको छाती हुँ,
जहाँ आम मानिसको आत्मा धड्किन्छ ।
बनाउनुछ अब यो माटोलाई स्वर्गसरी-
जहाँ मानवता होस् धर्म,
प्रेम होस् परम्परा,
र न्याय नै बनोस् नीति ।
बसाउनु छ यस्तो समाज
सभ्यताको सुगन्धले भरिएको,
जहाँ न जातको दुर्गन्ध होस्,
न विभाजनको कुनै रेखा ।
चिनाउनु छ हामीलाई संसारले
एक अनुपम र अद्वितीय अस्तित्वको रूपमा,
जहाँ हामी गाथा मात्र होइन,
प्रेरणा बन्न सकौं
जिउँदो उदाहरण बन्न सकौं ।
तर अहिलेलाई म चुप छु-
किनभने मलाई सधैं बोल्न मिल्दैन ।
त्यसैले मौन आँधी भएर
समयको आकाशमा घुमिरहेछु ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक