नेपालीमा ‘आमाका कुरा मामालाई’ भन्ने उखान निकै चर्चित छ । आफ्नो निकटका मानिस वा घरपरिवारका कुरा छरछिमेकीसँग, अथवा अलिक परकालाई सुनाएको अवस्थामा उद्धरण हुने उखान हो यो । आफ्नी आमाभन्दा मामा अलिक परकै हुन् तर आमाको पोल मामालाई लगाउने अवस्था पनि आउनसक्छ । त्यो कतै बाध्यता होला त कतै चाहना । नेपाली राजनीतिमा पनि यस्तै परिदृश्य बेलाबेलामा दोहोरिइरहेको पाइन्छ । वर्तमान अवस्था पनि यस्तै परिस्थितिबाट गुज्रिरहेको छ । सबैभन्दा पुरानो र नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसको एउटा पक्ष आफ्नो पार्टीसँग खुलेर आन्तरिक सम्वादमा जुट्नुभन्दा अर्को पार्टीसँग नजिक हुन चाहिरहेको देखिन्छ भने नेकपा एमालेको एउटा पक्ष पनि यसरी नै आफ्नो पार्टीसँग निकट सम्वाद गर्नुभन्दा नेपाली कांग्रेस निकट हुन खोजिरहेको छ । राजनीतिको यो एउटा अनौठो पक्ष हो । यद्यपि राजनीति सम्भावनाको खेल हो । प्रसंग फरक भए पनि हिटलरले भने जस्तै असम्भव भन्ने कुनै पनि शब्द कुनै पनि राजनीतिको शब्दकोषमा भेटिँदैन ।
राजनीति सधैं यसरी नै गुज्रिरहने हो भने ती पक्षहरूको सम्बन्ध आफ्नासँग भन्दा अरूसँग निकट रहेको देखिन आउँछ । त्यस्तो अवस्थामा तिनले आफ्ना पार्टीका कमीकमजोरी र गोपनीयताहरू समेत भंग गरी अर्को पक्षलाई सुनाउँदैनन् भन्ने कुनै प्रत्याभूति रहन सक्दैन । हुन त सबै पार्टीको अवस्था उस्तै हो र ती सबैलाई एकै ड्याङका मुला हुन्भन्दा पनि फरक पर्दैन । तर अग्रपंक्तिका ठूला पार्टी भएका कारण नेपाली कांग्रेस र नेकपा एमालेमा अहिले टड्कारो रूपमा यस्तो अवस्था देखिएको छ । केही समयअगाडिदेखि नेकपा एमालेकी नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कुनै समारोह आयोजना गरी घोषणा गरेरै पुनः एमालेको राजनीतिमा सक्रिय हुन थाल्नुभएको छ । तर पार्टीभित्र उहाँको प्रवेश यतिखेर गम्भीर विवादको विषय हुन लागेको हुनाले नेपाली कांग्रेसको असन्तुष्ट पक्षदेखि माओवादीसम्म सम्पर्क बढाउने क्रममा उहाँ हुनुहुन्छ ।
भण्डारीको एमाले पुनरागमनको घोषणाले नेकपा एमालेमा निकै ठूलो तरंग पैदा भएको छ भने एउटा ठूलो पार्टीभित्रको यस तरंगले समग्र नेपाली राष्ट्रिय राजनीतिलाई समेत प्रभावित बनाइरहेको छ । सम्मानपूर्वक राष्ट्रले उपलब्ध गराएको सेवासुविधा प्रयोग गरी सबैको अभिभावक भएर बस्नुपर्ने अवस्थामा उहाँले पार्टीमै फर्किएर पुनःराजनीति गर्ने कुराले धेरैको चित्त बुझेको छैन । एमालेभित्र त झन् पार्टी दुईवटा विचारबाट डोहोरिँदै छ, दुई पक्ष बनेको छ । भण्डारीको घोषणापछि एक पक्ष खुशीले प्रफुल्ल बनेको छ भने अर्को पक्ष इष्र्याले उत्तेजित बन्नपुगेको छ । केपी ओली पक्षधरहरू भण्डारीको विरोधमा सक्रिय छन् । भण्डारीले आफ्ना पार्टीकालाई मात्र होइन अन्य पार्टीकालाई समेत भेटघाट गरेर आकर्षित गर्न खोजिरहनुभएको छ ।
यस क्रममा उहाँले नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई समेत भेटेर सहयोगको आग्रह गर्नुभएको सार्वजनिक भएको छ । राजनीतिक साथसहयोग आफ्नो पार्टीबाट मात्र पाइने होइन अरूबाट पनि पाउन सकिन्छ । राजनीति गर्नेहरूले यो कुरा बुझेका हुँदैनन् भन्ने होइन । नेपाली कांग्रेसभित्र सस्ंथापन–इतर समूहको नेतृत्व गर्दै आउनुभएका डा.कोइराला आफ्नो अस्तित्वको लडाइँ लड्दै आउनुभएको छ । कोइराला परिवारको विरासत धानेका विद्यमान केही नेताहरूमा उहाँ अगाडि देखिनुभएको छ । ‘जहाँ कोइराला परिवार त्यहाँ कांग्रेस र जहाँ कांग्रेस त्यहाँ कोइराला परिवार’ भन्नेहरू कांग्रेसमा अझै पनि केही संख्यामा पाइन्छन् । तीबाट डा.शेखर समूहलाई साथ र समर्थन प्राप्त हुँदै आएको छ तर त्यो पक्ष सानो छ ।
देउवाको नेतृत्वमा रहेको कांग्रेसको संस्थापन समूहसँग सधैं मतमतान्तर गर्दै आएको यस पक्षलाई आपूm सानो छु भन्ने जानकारी छ । त्यसैले संस्थापन पक्षसँग जेसुकै अधिकार माग गर्दा पनि ६० र ४० को अनुपातमा माग गर्छ । गिरिजाप्रसाद कोइराला शक्तिमा छँदा टेकाइएका कोइराला परिवारसँग संबद्ध केही नेताहरू उहाँको अवसानपछि नेपाली राजनीतिक वृत्तबाट ओझेल पर्दैै गए । अहिले तिनको नाम कमै मात्र सुनिने गर्छ । भरोसामा डा.शेखरमात्र देखिँदै हुनुहुन्छ । उहाँ पनि आफ्नो पार्टीसँग धेरै कुरामा विमति जनाउनु हुन्छ । हालै उहाँले एमालेकी नेतृ विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको छ । एउटा राजनीतिक पार्टी वा पक्षले अर्को पार्टी वा पक्षसँग भेटघाट गर्नै हुँदैन भन्ने छैन तर भेटको विषय र उद्देश्यले भने यसमा महत्व राख्छ ।
हालको उहाँहरूको भेटघाट यस्तै आफ्ना पार्टीबाट हेपिएकाहरूको अरूसँगको गुहारका रूपमा देखिन आउँछ । डा.कोइरालाले यस पहिले माओवादीका अध्यक्ष तथा पूर्वपूधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटघाट गर्नुभएको थियो । उहाँले दाहाललाई त यो सरकार ढाल्नका लागि प्रयास गर्नसमेत आग्रह गर्नुभएको चर्चा थियो । यसैगरी भण्डारीले डा.कोइरालासँग आफू पुनः सक्रिय राजनीतिमा आएको र यसका लागि आफूलाई नैतिक सहयोग गर्न आग्रह गर्नुभएको थियो । स्वतन्त्र सांसद अमरेशकुमार सिंहका अनुसार यो सरकार ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ । यी सबै वर्तमान राजनीतिक परिदृश्यबाट राजनीति भनेको जेलिएको धागो जस्तो हुने र त्यसलाई फुकाउन निकै असजिलो हुने रहेछ भन्ने देखिन्छ ।
राजनीतिमा अर्को पार्टीका नेताहरूसँग भेटघाट गरिरहनु मतमतान्तर तर्कवितर्क पनि गरिरहनु, आफ्नो वर्चश्व स्थापित गर्न खोज्नु, अरूलाई लडाउने प्रयास गर्नु सामान्य कुरा हुन् । एक प्रकारले भन्ने हो भने राजनीति भनेकै यही हो । सरकार गिराउन र आपूm सरकारमा पुग्न प्रयास गर्नु पनि स्वाभाविक हो । राजनीतिको पर्याय र अभ्यास यही हो । यसमा आश्चर्य मान्नु पर्दैन । नेपालमा भइरहेको पनि यस्तै छ । सरकार बनाउन र गिराउनका लागि मात्र होइन फरक पार्टीसँग चुनावी गठबन्धनसमेत भएको छ । यसरी राजनीतिमा असम्भव भनेको केही छैन भन्ने मान्यता नेपालमै स्थापित भएको छ तर राजनाीति गर्नेहरूबाट भएका यस्ता कार्यहरू जनताको भावनामाथि आँच आउने खालका भने हुनुहुँदैन । त्यस्ता कार्यहरू देश र जनताको हितमा हुनुपर्दछ भन्ने हामी सबैको आग्रह हो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न