काठमाडौं । नेपाली रजतपटमा चलचित्र ‘विजयपथ’मार्फत पाइला चाल्नुभएकी अभिनेत्री पवित्रा आचार्य हाल कास्टिङ निर्देशकको भूमिकासम्म पुग्दै आफ्ना क्षमताको विस्तार गर्नुभएको छ । निखिल उप्रेती, सुशील क्षेत्री र सञ्चिता लुइँटेलजस्ता स्टारकास्टहरूसँग डेब्यु गर्ने अवसर पाउनुभएकी आचार्य अभिनयसँगै अन्य विधामा पनि सक्रिय रहँदै आउनुभएको छ ।
चलचित्र ‘विजयपथ’पछि उहाँले ‘महानायक’ राजेश हमालसँग चलचित्र ‘राजनीति’मा अभिनय गर्नुभयो । सो चलचित्रबाट गायिका कोमल वलीले पनि ठूलो पर्दामा अभिनयमा डेब्यु गर्नुभएको थियो । त्यसपछि आचार्यले आर्यन सिग्देल अभिनीत ‘आवेग’मा समेत अभिनय गर्ने अवसर पाउनुभयो ।
नृत्यमा सानैदेखि रुचि राख्ने आचार्यले अभिनयसँगै आफ्नो रुचिलाई जीवित राख्दै कोरियोग्राफरको रूपमा पनि आफूलाई स्थापित गर्नुभयो । सन् २०७० को प्रारम्भबाट उहाँले कोरियोग्राफीमा सक्रियता बढाउँदै जानुभएको थियो । कोमल वलीको तीज गीतमार्फत उहाँले कोरियोग्राफरको रूपमा डेब्यु गर्नुभएको हो । त्यसयता उहाँले करिश्मा मानन्धर, अनुपविक्रम शाही, आँचल शर्मा, सलोन बस्नेत, अनु शाह, नीता ढुंगानालगायत चर्चित कलाकारलाई निर्देशन गरिसक्नुभएको छ ।
चलचित्र ‘कमाण्डर’ र ‘मेला’ मा पनि उहाँले नृत्य निर्देशन गर्नुभएको छ । मोडलिङमा समेत आफूलाई स्थापित गर्नुभएकी उहाँ अहिले ‘पावला’ नामले चिनिनुहुन्छ । यही नामबाट उहाँले एक अन्तर्राष्ट्रिय स्वाद बोकेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफीसमेत गर्नुभएको छ ।
हालै निर्माणाधीन चलचित्र ‘कश्यप’ले उहाँलाई कास्टिङ निर्देशकका रूपमा अनुबन्ध गरेको छ । अभिनय, नृत्य निर्देशन र मोडलिङ हुँदै अब कास्टिङ निर्देशनसम्म आइपुग्नुभएकी आचार्यका लागि यो नयाँ जिम्मेवारी थप उचाइको अवसर बन्नसक्नेछ ।
कलाकार पवित्रा आचार्य हाल नेपाल चलचित्र कलाकार संघको केन्द्रीय सह-कोषाध्यक्षसमेत रहनुभएको छ । सामाजिक क्षेत्रमा पनि उहाँ सक्रिय हुनुहुन्छ । काठमाडौंका वृद्धाश्रम तथा बालआश्रमहरूमा उहाँले निरन्तर सहयोग पुर्याउँदै आइरहनुभएको छ । ‘मिहिनेत नै सफलताको सूत्र हो’, भन्ने विश्वास राख्ने आचार्यको यो नयाँ यात्रा कता पुग्छ, त्यो भने समयले नै बताउनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच