काठमाडौं । नेपालमा पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई) सम्वन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचार संहिता २०८२’ सार्वजनिक गर्दै मिडिया क्षेत्रमा एआईको प्रयोगलाई मर्यादित र उत्तरदायी बनाउने उद्देश्य राखेको छ ।
सोमबार काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार एआईको बढ्दो प्रयोगसँगै त्यसको दुरुपयोग रोक्न तथा उत्तरदायी पत्रकारितालाई प्रवद्र्धन गर्न आचारसंहिता आवश्यक भएको हो ।
भण्डारीले एआई सम्वन्धी नेपालको पहिलो औपचारिक आचार संहिता यही भएको दाबी गर्दै अनलाइन टिभीकर्मीहरूलाई समयमै सचेत र जिम्मेवार बनाउने उद्देश्यसहित संहिताको तयारी गरिएको बताउनुभयो ।
सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी अधिकारीले पनि यो नै नेपालको पहिलो एआई आचारसंहिता भएको उल्लेख गर्नुभयो । उहाँले हालसम्म कुनै पनि निकाय वा संस्थाले एआई सम्वन्धी आचारसंहिता जारी नगरेको जानकारी दिँदै अनलाइन टिभी पत्रकार संघको प्रयास अनुकरणीय भएको बताउनुभयो ।
संघले जारी गरेको संहितामा प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्देश्यलाई ध्यानमा राखिएको उल्लेख गरिएको छ । संहिताको पहिलो बुँदामा एआईको सहायताले बनाइएका सामग्रीको अन्तिम परीक्षण, सम्पादन र अनुमोदन मानव स्रोत, विशेषगरी सम्पादकबाटै हुने प्रावधान छ । साथै, एआईद्वारा सिर्जित सामग्रीप्रति सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले नै जिम्मेवारी लिने व्यवस्था गरिएको छ ।
एआईको प्रयोग भएको सामग्रीमा स्पष्ट जानकारी दिनुपर्ने, प्रचलित कानुनको पालना गर्दै व्यक्तिगत गोपनीयता तथा सुरक्षासम्बन्धी संवेदनशील विषयमा विशेष सावधानी अपनाइने र झुटा वा भ्रमपूर्ण सूचना प्रवाह गर्न नपाइने जस्ता मापदण्डहरू संहितामा समावेश छन् ।
संघका वरिष्ठ उपाध्यक्ष संजीव रेग्मीका अनुसार आचारसंहिता संघमा आवद्ध सबै पत्रकारका लागि अनिवार्य लागू हुनेछ भने त्यसको अनुगमन संघले नै गर्नेछ । महासचिव पवन फुयालले यो संहिता अन्य एआई प्रयोगकर्ताहरूका लागि पनि अनुकरणीय हुने बताउनुभयो । सञ्चारकर्मीहरूको साझा संस्था अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमै अनलाइन टिभी स्वनियमन निर्देशिका पनि जारी गरिसकेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच