काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई स्थानीय तहमै गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मन्त्री बनेको एक वर्ष पुगेको अवसरमा सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पाँच, १० र १५ शैय्याका आधारभूत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तीव्रता दिइएको जानकारी दिनुभयो । ‘स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन कार्यविधि, २०७५ (दोस्रो संशोधन, २०८१)’ र ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ जारी गरी निर्माण प्रक्रिया व्यवस्थित बनाइएको उहाँको भनाइ छ । गत वर्ष ६ अर्ब २२ करोड रुपैयाँ बजेट निकासा भएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भइसकेको र पहिलो चरणमा ५५ वटा अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल निर्माण सम्पन्न गर्न ११ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
फागुन महिनालाई ‘नसर्ने रोग परीक्षण महिना’
मन्त्री पौडेलले नसर्ने रोगहरूको बढ्दो भार न्यूनीकरण गर्न प्रत्येक वर्षको फागुन महिनालाई ‘नसर्ने रोग परीक्षण महिना’ का रूपमा मनाउने अभियान सुरु गरिएको जानकारी दिनुभयो । यसका लागि ‘समुदायमा नसर्ने रोगहरू पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका, २०८१’ स्वीकृत भइसकेको छ । उक्त अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता रोगको प्रारम्भिक पहिचान, रोकथाम र स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वासमन्त्री पौडेलले व्यक्त गर्नुभयो ।
एचपिभी खोप अभियान सफल
पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीलाई जोगाउन देशव्यापी रूपमा एचपिभी (हृयुमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो । १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ६२ हजार किशोरीलाई निःशुल्क खोप दिइएको छ, जुन लक्षित जनसंख्याको ८७ प्रतिशत हो । ‘एचपिभी खोप सेवा सञ्चालन निर्देशिका, २०८१’ जारी गरी अभियानलाई कानुनी र प्रक्रियागत आधार दिइएको छ । भविष्यमा यो कार्यक्रमलाई नियमित खोप कार्यक्रमअन्तर्गत समेटिने र यसको दिगोपना सुनिश्चित गरिने मन्त्री पौडेलको भनाइ छ । उहाँका अनुसार, यसले हजारौँ किशोरी तथा महिलालाई क्यान्सरजस्तो घातक रोगबाट बचाउनेछ ।
आठ प्रकारका रोगमा बीमा रकम दोब्बर, गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’
मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकामध्ये कडा रोग लागेका आठ प्रकारका रोगको उपचारमा दोब्बर खर्च पाउने विषयलाई एकवर्षे उपलब्धिका रूपमा राख्नुभएको छ । एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै त्यस्ता बिरामीलाई दुई लाख रुपैयाँ उपचार खर्चको व्यवस्था उपलब्धिको रूपमा रहेको उहाँले बताउनुभएको हो । क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले स्वास्थ्य बीमाको साबिक एकलाख र थप एकलाख गरी दुई लाखसम्मको उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो । ‘कति जनतामा कडा प्रकारका रोगको उपचारका लागि तीन लाखको स्वास्थ्य बीमा भनिएको छ, त्यो होइन । स्वास्थ्य बीमाबाट प्राप्त हुने एकलाख र अर्को थप एकलाख गरी दुई लाखको उपचार सुविधा पाउने हो,’ उहाँले भन्नुभयो । स्वास्थ्य बीमाप्रति आमनागरिकको गुम्दै गएको अवस्थामा यसप्रति आशा जगाएको उहाँको भनाइ थियो ।
सरकारी अस्पतालहरूले दिने सेवा सुधार गर्न नसकिएको स्वीकार
मन्त्री पौडेलले आफ्नो एकवर्षे कार्यकालमा सरकारी अस्पतालहरूले दिने सेवा सुधार गर्न नसकिएको स्वीकार गर्नुभएको छ । ‘सरकारी अस्पतालप्रति जनताको विश्वास छ । त्यसलाई भिड भन्ने गरिएको छ । धेरै कुरा सुधार भएका छन् । तर, अस्पतालमै सेवा व्यवस्थित गरियो भने मात्रै जनतालाई अनुभूति हुने रहेछ । अनुभूति गराउन समय लाग्छ,’ मन्त्री पौडेलले भन्नुभयो । सरकारसँग मिलेर समाधान गर्नुपर्ने विषयमा डाक्टरहरू उल्टै आन्दोलनमा गएको उहाँको गुनासो थियो । ‘सरकारसँग मिलेर जानुपर्ने विषयमा पनि डाक्टरहरू आन्दोलनमा जानुहुन्छ । डाक्टरका समस्याहरू पनि छन् । तर, जनताको समस्याप्रति गम्भीर हुनुपर्छ । बिरामी अप्रेसनको मिति लिएर अस्पताल गएको हुन्छ, डाक्टर आन्दोलनमा हुन्छन्,’ उहाँले भन्नुभयो ।
आशा जगाउने काम गरेको दाबी
मन्त्रालयले आशा जगाउने काम गरेको मन्त्री पौडेलले दाबी गर्नुभएको छ । ‘उपकरण खरिद गर्ने, स्वास्थ्य क्षेत्रको सुधार र अस्पतालको क्षमता वृद्धि गर्न लागिपरेका छौँ । दुर्गममा डाक्टरहरू पठाउनका लागि अनुनय विनय गरिरहेका छौँ’, मन्त्री पौडेलले भन्नुभयो । अस्पतालमा बीमा रकमबाट दिइने उपचारमा झन्झट हुने, दृष्टिविहीन बिरामीलाई अस्पताल भर्ना लिन नचाहेको लगायतका गुनासोहरू सुन्नका लागि ‘हेल्लो स्वास्थ्य’ १११५ को व्यवस्था गरेको पनि उहाँले बताउनुभयो । स्वास्थ्यसम्बन्धी विभिन्न ऐन कार्यान्वयनमा ल्याएको पनि मन्त्री पौडेलले जानकारी गराउनुभयो । ‘समग्र स्वास्थ्य क्षेत्रमा बजेटको सुनिश्चितता गरी अगाडि बढेका छौँ । प्रत्यक्ष रूपमा जनतालाई अनुभूति नभए पनि थुप्रै कामहरू भएका छन्’, उहाँको भनाइ थियो ।







कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :