परोपदेशे पाण्डित्यम्
आफ्ना आङको भैंसी नदेख्ने अर्काका आङको जुम्रो देख्ने भन्ने एउटा नेपाली उखान छ । संस्कृत श्लोकले पनि अर्कालाई उपदेश दिँदा पण्डित र सर्वज्ञ बन्ने तर आफ्नो आचरण र चिन्तन चाहिँ चाण्डालको जस्तो भए पनि आफूलाई अरूले महान् भनिदिऊन् भन्ने लालचा चाहिँ हुँदो नै रहेछ । अहिले नेपाली राजनीतिक दलका दलनायकहरूका कथनी र करनीलाई विचार गरेर हेर्दा माथिको संस्कृत र नेपाली सूक्तिले भनेको अर्थ नै स्पष्ट हुन्छ । प्रजातन्त्रको रटान लाउने तर आचरण, चिन्तन र विधानको परिपालनदेखि सरकार सञ्चालनमा समेत यिनले व्यवहारमा ल्याएका कुरा गर्दा यिनलाई पनि प्रजातन्त्रका योद्धा र जनताका प्रतिनिधि भन्नुपर्दा लाजले पनि मुन्टो निहुँर्याएर भग्ला कि जस्तो लाग्छ ।
सबैभन्दा ठूलो पुरानो पार्टी नेपाली कांग्रेसमा वैयक्तिक स्वतन्त्रता सबैभन्दा बढी छ भनेर संसारले मानेको स्वीकारेको कुरो थियो तर आजका आदरणीय सभापतिजीको पहिलो नौ वर्षे कार्यकाल प्रजातन्त्रको विश्वव्यापी आचरसंहितालाई च्यातेर जलाएर धुजाबाती पारिएथ्यो । बाघ, बाख्रो, सर्प, बिच्छी, भ्यागुतो र गँगटाका बीचमा गठबन्धनको अभ्यास भयो । चालु कार्यकालमा त्यो विवेक अन्धताको विकास भएर केही समय सबैभन्दा कम सिट भएकालाई नायक बनाएर पहिलो र दोस्रो तहको सिट पाएका गोरु बनेर जोतिएका दृश्य पनि देखिए तर पनि गफले भने यिनले आकाश पाताल जोड्न भने छाडेका थिएनन् ‘एकां लज्जांपरित्यक्त्वा सर्वत्र विजयी भवेत्’ भन्ने व्यंग्योक्तिलाई उहाँहरूले आचरणमा र व्यवहारमा नै उतारेर देखाउने हिम्मत गर्नुभयो ।
नेपाली कांग्रेसको लामो उकाली ओराली भोगेर आएका वर्तमान सभापति ग्रुप, पत्नीपुत्रको सुरक्षणका साथै सत्ताशक्तिका अघिल्तिर मूल्य र आदर्शलाई तिलाञ्जलि दिन पनि तयार रहेको देखिनु अति नै दुर्भाग्यको कुरो भएको छ । अतः अनैतिक, अराजनीतिक, अव्यवस्थाले भरिएको कदम भए पनि पूर्वराष्ट्रपति विद्या भण्डारीका आगमनले दम्भ, व्यभिचार, सनक र धाकधम्कीको राजनीतिक दब्दबा एमालेबाट पनि सकिएला कि ?
दल बदलु र गठबन्धनका रोगग्रस्त देश त भारत पनि हो तर पनि त्यहाँ सबैभन्दा साना आकारका दललाई नेतृत्व दिएको र सबैभन्दा धेरै सिट भएको र दोस्रो संख्याको सिट भएका दल एकै पटक सत्तामा बसेर जुन प्रकारले प्रजातान्त्रिक पद्धतिलाई दागबत्ती दिइयो त्यो यस युगकै विश्वको प्रजातन्त्रको जननी भनिने बेलायतीले पनि कल्पना गर्न नसक्ने आचरण अहिले पनि उहाँहरू व्यवहारमा उतारेर छाती फुलाएर हामी प्रजातन्त्रका मसिहा हौं भनिरहनुभएको छ ।
जनता उहाँहरूले पालेका भेडाबाख्रा हुन् । उहाँहरूका इच्छा र इसारामा हिँड्नैपर्छ । नहिँड्ने नमान्नेलाई कारबाहीको डन्डा वर्षाएर तर्साउने काम उहाँहरू छिनछिनमा गर्न भुल्नुहुन्न । एकजाना आजको विश्वका सबैभन्दा चमत्कारी कुटिल, सर्वसत्तावादी देखिएका पुटिनपन्थमा लागेर बिस्तारै आफूलाई अद्वितीय शक्तिशाली साबित गर्दै हुनुहुन्छ त अर्का महामानव साँढे दुई वर्षअघिका पोलका पुन्तुरा समातेर सत्ता र शक्तिको तानाबाना बुन्दै हुनुहुन्छ ।
राजनीतिका तीन सत्य
पहिला विधिपूर्वक नाडीशोधन, आसनशोधन र प्राणशोधन नगरीकन योगसाधना असम्भव हुन्छ । त्यसैगरी राजनीति गर्नेले पनि पहिला जनताको चाहना, आवश्यक्ता र तिनको दुःख दर्द बुझेर नजिकको सम्बन्ध कायम गर्नसक्नुपर्दछ । यसरी राजनीतिकर्मी र जनताको धुक्धुकी मिलेपछि जनतालाई आश्वस्त पार्ने काम गर्नुपर्छ । जनताको विश्वास जितेपछि जनतालाई संगठनको आदर्शमा आबद्ध गराउन आरम्भ गर्नुपर्छ । यो काम पिताजी कृष्णप्रसाद कोइरालाबाट आरम्भ भएर बीपी, सुवर्ण, सूर्यप्रसाद, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद कोइरालाले गरिसकेका थिए तर बीचमा गिरिजाप्रसाद कोइरालाले नै राजा जस्तो निकम्माले पनि ‘अक्षम’ भनिएका व्यक्तिलाई चौआने सदस्यबाट समेत निकाल्ने जस्तो अबौद्धिक आवेगयुक्त काम गर्नाले नेपाली कांग्रेसमा सहानुभूतिको हावा चलेर आज तमाम प्रजातन्त्रका जरा गबारे कीराले करकरी खाएको छ ।
आचरण नैतिकता हराएर स्वार्थ र नेतानेतृका इच्छामा आफूलाई आहुति दिने वामाचरण कांग्रेसमा पनि लागू भएको छ । आफूले अर्कालाई भनेका कुरा आफैंमा आउँदा पालन गर्नु नपर्ने मानक तयार पार्न खोजिएको छ । जसरी जे गरेर पनि सत्ता र शक्तिमा टिक्नका लागि पुटिन, ब्रेजनेभ, जेलेनेस्की, ट्राटस्की, लेलिन, माओ, सिजी पिङ जस्ताका करनी र कथनी अहिलेका तीन टाउकेले यो देशमा पनि लागू गरेका छन् । यसलाई बिस्तारै चुनौती दिने काम डा.शेखरले आरम्भ गरे भने यसैगरी आफ्नो ज्येष्ठ राजनीतिज्ञताका परिधिभित्र रहेर अर्जुननरसिंह केसीले पनि मूल्ययुक्त राजनीतिक लिकमा नेपाली कांग्रेसलाई फर्काउन प्रयास गरेको देखिन्छ ।
नेपाली कांग्रेसको लामो उकाली ओराली भोगेर आएका वर्तमान सभापति भने ग्रुप, पत्नीपुत्रको सुरक्षणका साथै सत्ताशक्तिका अघिल्तिर मूल्य र आदर्शलाई तिलाञ्जलि दिन पनि तयार रहेको देखिनु अति नै दुर्भाग्यको कुरो भएको छ । अतः अनैतिक, अराजनीतिक, अव्यवस्थाले भरिएको कदम भए पनि पूर्वराष्ट्रपति विद्या भण्डारीका आगमनले दम्भ, व्यभिचार, सनक र धाकधम्कीको राजनीतिक दब्दबा एमालेबाट पनि सकिएला कि ? भनेर आशा गरेका बेला ओलीको उपस्थिति बाख्राका बथानमा बाघको जस्तो देखियो । सचिवालयदेखि पोलिटब्युरोमा दिग्विजय गर्ने ओलीका दम्भलाई एमालेका सांगठनिक निकायले कंसका शैलीलाई नै स्वीकारेको देखिन लाग्दैछ ।
मिसन ८४ भनेर व्याधाले परेवालाई कनिका छरेका जालमा फसाए झैँ ओलीका महत्वाकांक्षका जालमा एमाले संगठन फसेर बरवाद होला कि भन्ने त्रास उब्जिएको छ । संगठनको राम्रो आधार भएको थोरबहुत अनुशासनको बन्धन पनि मजबुत भएको राजनीतिक संगठन थियो एमाले । यो देशका धेरै असल त्यागी र बौद्धिक मान्छेले पनि आशा भरोसा गरेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै सत्ता, शक्ति, भ्रष्टाचार, झुठ, गलत आचरण, दम्भ, सनक आदिका कारणले अधोमुखी यात्रामा रहेका छन् । विधान बोल्नुपर्ने ठाउँमा व्यक्ति बोल्नु, दलका सदस्यमा असमान व्यवहार गर्नु, सामूहिक नेतृत्वका ठाउँमा एक व्यक्तिको दब्दबा कायम गर्न खोज्नुजस्ता व्यवहार नसुधार्ने हो भने नेपाली जनताले अब यी दलको औचित्य नरहेको साबित गरिदिन सक्छन् चुनावका माध्यमले ।
प्रयास र आस
आजका दिनसम्म आउँदा नेपाली कांग्रेसमा सुधारका प्रयास आरम्भ भएका छन् । यसले दिनानुदिन आफ्नो आकार, आचरण र निष्ठाका परिधिमा संगठन, त्यसका तलदेखि माथिसम्मका आधारभूत निकायलाई आवश्यक्ता अनुसार व्यक्ति कम बोल्ने, विधानको पालन गर्ने, समान व्यवहार गर्ने, रमेश लेखक र बालकृष्ण खाँडमाजस्तो, राजकुमार र बलराम अधिकारीमा जस्तो, गिरिबन्धु, ओम्नी, कम्बोडिया, होटल हिल्टन, विद्या भट्टराई र रघुजी पन्त, साढे दुई वर्ष पहिलाका निवेदनमा छानीछानी अनुशासनको तरबार चलाउने कांग्रेस अनुशासन समितिका क्रियाकलाप जस्ता व्यवहारलाई परिशोधन गर्नैपर्छ । दुःखको कुरो एमाले अहिले पनि मध्यकालीन उन्निद्रामा रहेर स्वामी कुर्नेश गर्दैछ ।
देशका सर्वाधिक लोकप्रिय राजनीतिक दलमध्ये एउटामा पुनर्जागरणका स्वर मुखरित भए पनि अर्को मध्यकालीन विवेकहीन स्वामीभक्तिको चरणोदक पान गरेर बसिदियो भने देशका समग्र अंगमा परिवर्तन आउन समय लाग्नसक्छ । आजका समयमा पनि जंगबहादुर, हिटलर, दादा इदि अमिनका आचरणको पुनरावृत्ति वस्तुतः देश र जनताका लागि हतभाग्यात्मक अवस्था नै हो । आशा गरौँ डा.शेखर कम बोल्नेछन् । बोलेका कुरा पुर्याउन गिरिजाप्रसाद कोइराला समान चट्टानी अडानमा टिक्ने छन् । सत्ता र शक्तिमा जाने भनेको विकृति हटाउन, जनताका दैनिक आवश्यक्ता पूरा गराउन नसके सत्ता त्यागको आदर्श पालन गर्ने र शासनले जनताको अभिभावकीय भूमिका निर्वाह गरेको अनुभूति दिलाउन उद्यत् हुनेछन् ।
आश्वासन र निर्देशन होइन, सम्बद्ध स्थानमा भएगरेका प्रयत्न जनता र सञ्चारले प्रत्यक्ष देख्न र भोग्न पाउने व्यवस्था मिलाउनेछन् । हिजो सत्तामा गएर दुर्नाम कमाएका, कमाउन जान्ने तर सेवाभाव नभएका मान्छेले प्राथमिकता पाउने छैनन् । योग्य स्थानमा योग्य व्यक्तिलाई लैजान भुल्ने छैनन् । आफ्नाका लागि ओलीले झैं ठाउँ खाली गराउने छैनन् । राज्यका हर ठाउँमा पद्धतिको विकास आरम्भ गराउने छन् । विश्वविद्यालयको सभामा कुलपतिले आफ्नै आवासमा होईन सम्बद्ध विश्वविद्यालयका परिसरमै सभासम्पन्न गराउने अभ्यासको आरम्भ गर्नेछन् । शिक्षक सेवा आयोगका साथै विश्वविद्यालय सेवालाई चुस्तदुरुस्त र विश्वासिलो बनाउनेछन् ।
दलको अधिवेशन समयमा नगरेको धेरै भयो कांग्रेसले असहजताका दिनमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र सुदृढ गर्न पहिला–पहिला समयमा महाधिवेशन नभएका हुन् । अहिले कब्जा गर्न र लामो समय सत्ता र शक्ति हत्याउनका लागि कांग्रेसलगायत भ्रातृ, सहृद, पेशा व्यावसायिक संघको पनि बेलामा चुनाव नगराउनाले पार्टी थंथिलो भएको छ ।
पार्टीमा सांसदलाई टिकट बेच्ने प्रथा अन्त्य हुनेछ । व्यापारी बिचौलियालाई नेता होइन उसका क्षेत्रको विज्ञताको कदरका लागि उपयुक्त उपयोग गर्ने नीति बनाउनेछन् । नेपाली जनतालाई संविधान संशोधनमा अहिलेकाले जनतालाई ढाँटेका छन् अतः संविधान संशोधनलाई कार्यान्वयन गराउनेछन् । ७५ वर्षभन्दा माथिका उमेरको, बौद्धिक, लब्धप्रतिष्ठित, राष्ट्रभक्ति र अनुशासन पालनमा अडिग चरित्र भएकामध्येका व्यक्तिलाई मात्र राष्ट्रपतिमा उमेदवार बन्न पाउने व्यवस्था गर्नुपर्छ । प्रधानमन्त्री भएको, गृहमन्त्री भएको र रक्षामन्त्री भएको व्यक्ति राष्ट्रपति बन्न नपाउने व्यवस्था गराउनेछन् । एक पटकमा एक व्यक्ति एक पदको नीति कडाइका साथ पालन गराउनेछन् भन्ने पनि आस गरौँ ।
दलको अधिवेशन समयमा नगरेको धेरै भयो कांग्रेसले असहजताका दिनमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र सुदृढ गर्न पहिला पहिला समयमा महाधिवेशन नभएका हुन् । अहिले कब्जा गर्न र लामो समय सत्ता र शक्ति हत्याउनका लागि कांग्रेसलगायत भ्रातृ, सहृद, पेसाव्यावसायिक संघको पनि बेलामा चुनाव नगराउनाले पाटी थंथिलो भएको छ । यस बेला डा.शेखरले अलिकति मात्रै राजनीतिक कुराकानीलाई गति दिँदा पनि जनता र कांग्रेसमा नयाँ लहर सल्बलाएको देखिनथालेको सर्वत्र महसुस गरिएका चर्चापरिचर्चा सुनिन थालेका छन् ।
डा.शेखरले गर्नैपर्ने संकल्प
डा.शेखरले आजको विश्व राम्ररी बुझेका छन् । उनी आफैं एउटा संस्कारयुक्त परिवारमा जन्मे हुर्केका मान्छे भएका कारणले उनलाई राजनीति र व्यवहारका धेरै कुरा आफ्नै पितामाता ठूला बा र काकाकाकीबाट पनि सिक्ने मौका मिलेको हुनाले गल्ती नगर्लान् गल्ती गरे पनि गल्ता र गल्तो गर्नेछैनन् भनेर विश्वासका साथ भन्न सकिन्छ । नेपाली सरकार, नेपाली राजनीतिक दल, नेपाली सार्वजनिक प्रशासन, सामाजिक संस्था, प्रादेशिक संस्थादेखि स्थानीय तहका संघसंस्था निकाय काहिँ पनि पद्धति प्रक्रिया र थितिनामको चिज छैन । अतः सबैभन्दा पहिले थिति बसाउन आरम्भ गर्दा नै उनले विस्थापन गरेका, खान खुवाउन पल्केकाहरूले नै विरोधका आवाज उराल्नेछन् । कर्मचारी मुखले ठीक्क कामले दिक्क गराउने बाटामा लाग्ने छन् ।
राज्यसुशासन समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे प्रतीक्षा विधेयकमा अनैतिक किसिमले आफ्ना मान्छे लाएर संशोधन प्रस्ताव हाल्न लाउने ओली जस्ता चपर्चण्डालको यो देशमा कमी छैन । भारत र चीनलाई पनि यिनले दलाली गरीगरी दलाली नीतिमा पारंगत गराएका छन् । अतः डा.शेखरले पहिले नै सारा कुरा बदल्न सके पनि छिमेकी बदल्न सकिँदैन ।
अतः तिमीहरूका कुरामात्र होइन हाम्रो नेपालीको हित र सुखसुविधाका निमित्त आवश्यक पर्ने काम कुरा हामी लिन्छौं÷माग्छौं तर शत्रु या आदेश पालक नेपाल नेपली बन्दैनन् भनेर स्पष्ट कुरा गर्नुपर्छ । जसरी बीपीले गरेका थिए । सार्वजनिक प्रशासन, सामाजिक नीति नियम, धर्म, संस्कृति र संस्कार तथा राजनीतिक र सामाजिक जीवनमा आचारनीति ल्याउने गरी अघि बढ्नु जरुरी छ । पुराण पढेर, उखानटुक्का हालेर, लेनदेन र गठबन्धन गरेर होइन समाज रूपान्तरक दर्शनका आधारमा राजनीतिलाई चलाउनुपर्छ अन्यथा पुनर्मुषिको भव भन्ने संस्कृत सूक्ति नदोहोरिएला भन्न सकिँदैन । अप्पदीपो भव । सदा पशुपति रक्षतु शेखराय ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच