म्याग्दी । साउनको पहिलो सता वितिसक्दा पनि पर्याप्त पानी नपरेका कारण म्याग्दीमा २५ प्रतिशत खेतमा रोपाइ हुन सकेको छैन ।
जिल्लाको प्रमुख बाली हुने तल्लो क्षेत्रमा साउन महिनाको पहिलो सातासम्म प्रयाप्त बर्षा नहुदाँ सिचाईको अभावका कारणले धान रोपाइँमा कमी आएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क अनुसार जिल्ला भरमा धान रोपाइँ हुने कुल क्षेत्रफलको ७५ प्रतिशतमा रोपाइँ भएको र २५ प्रतिशत खेत अझैसम्म पनि बाँझै रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल सम्म बेनी नगरपालिकामा ७० प्रतिशत, मालिका गाउँपालिकामा ६५ प्रतिशत तथा रघुगंगा गाउँपालिकामा ८० प्रतिशत धानखेतमा रोपाइँ भएको छ ।
त्यसैगरी मंगला गाउँपालिकामा ८५ प्रतिशत, धवलागिरी गाउँपालिकामा ८० प्रतिशत र अन्नपूर्ण गाउँपालिकामा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । “विगतका वर्षहरुमा साउनको दोस्रो सातासम्म रोपाई सकिने गर्दथ्यो तर यस वर्ष प्रयाप्त बर्षा नहुदाँ पानीको मुल फुटेको छैन” प्रमुख बाँस्तोलाले भन्नुभयो ।
म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय १९ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ । त्यसमध्ये जिल्लामा ३ हजार ८ सय ०६ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा आ व २०८०/८१ म प्रति हेक्टर ३ दशमलव मेट्रिक टन धान भएको थियो ।
गएको वर्ष १३ हजार ७ सय १ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ४ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा बाँकी जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।
म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानले चासो देखाएका छैनन् । नदी किनारका फाँटहरूमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेतीसमेत गर्ने गरिएको छ ।कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिकहरू बताउँछन् ।
म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँ लगायतका बाली रहेका छन् । कुल जनसंख्याको अनुपातमा बार्षिक १५ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि