पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालैको सार्वजनिक सक्रियता र राजनीतितर्फको सम्भावित पुनः प्रवेशले नेकपा (एमाले) भित्र तरंग ल्याएको देखिन्छ । एकातिर, भण्डारीको सक्रियतालाई स्वागतयोग्य ‘शुभ संकेत’ का रूपमा बुझ्नेहरू छन् भने, अर्कातिर पार्टी अध्यक्ष केपी शर्मा ओली निकटवर्ती धारलाई यो ‘टेको अधिनायकवाद’ को खतरा भन्दै प्रस्तुत गर्ने प्रयास देखा पर्छ ।
तर प्रश्न के उठ्छ भने–एक जनताको हैसियतले, के भण्डारीको राजनीतिमा फर्किने अधिकार छैन ? केपि ओली नेतृत्वमै ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमाका संवैधानिक र वैधानिक व्यवस्था पारित भएका थिए, जुन समयमै व्याख्या गर्दै त्यही प्रावधान अनुसार उनी पटक–पटक अध्यक्ष पनि भए । अहिले आफ्नै नेतृत्वमा पारित मापदण्डलाई उनले नै भत्काउँदै जानु, व्यक्तिवादी स्वार्थका निम्ति संस्थागत मर्यादामाथि प्रहार होइन र ?
यसरी विधिको शासनभन्दा व्यक्तिको शासनलाई प्राथमिकता दिनु गम्भीर खतरा हो–लोकतन्त्रका लागि, कम्युनिष्ट आन्दोलनका लागि र समग्र राजनीतिक आचारसंहिताका लागि । विद्या भण्डारी कुनै ‘नयाँ नेता’ होइनन्–उनी विगतमा एमालेको केन्द्रीय सदस्य, महिला विभाग प्रमुख र रक्षामन्त्रीसमेत भइसकेकी अनुभवी नेतृ हुन् । उनी पार्टीमा फर्किने वा नवीकरण गर्ने अधिकार राख्छिन् । राष्ट्रपति पदमा रहँदा उनले पार्टी सदस्यता त्याग्नु नेपालको संविधानले अपेक्षा गरेकै हो । त्यही कानुनी व्यवस्थाअन्तर्गत अहिले एमालेका कार्यकर्ताले पार्टी नवीकरण गरिरहेका छन् भने भण्डारीलाई मात्र लक्षित प्रश्न उठाउनु अनुचित हो ।
स्मरण रहोस्, हालका राष्ट्रपति रामचन्द्र पौडेलसमेत सभामुख, पार्टी महामन्त्री र अन्य पदहरू सम्हालेर राष्ट्रपति बनेका उदाहरण छन् । त्यतिबेला कसैले पनि उनको सक्रियतालाई आपत्ति जनाएनन् । हालै सामाजिक सञ्जालदेखि मञ्चहरूमा एमाले नेतृत्वबाट भण्डारीविरुद्ध प्रयोग भइरहेका धम्कीपूर्ण भाषा र मनोवृत्ति गम्भीर चिन्ताको विषय हो । पार्टी अध्यक्ष ओलीको वरिपरिबाट आउने कटाक्ष र आरोपले एमालेभित्र सहिष्णुता र लोकतान्त्रिक बहसको स्पेस सुक्दै गएको आभास दिन्छ ।
पार्टी नेतृत्वले आलोचना सहने लोकतान्त्रिक परिपक्वता देखाउन नसक्नु आफैंमा अधिनायकवादको संकेत हो । यदि अहिले विद्या भण्डारी पार्टीमा फर्कन खोज्दै छिन् भने त्यो लोकतान्त्रिक अभ्यास हो, जसलाई संस्थागत तहमा छलफल र बहसद्वारा सम्बोधन गर्नुपर्छ, धम्की र अपमानद्वारा होइन । कम्युनिष्ट आन्दोलनले विगतमा शक्ति हासिल गरे पनि आज संस्थागत एकता, आदर्श र स्पष्ट विचारधाराको संकटमा छ । यस्तो अवस्थामा यदि भण्डारीजस्ता अनुभवी नेतृ पार्टीमा फर्किन इच्छुक छन् भने, त्यो नकारात्मक होइन, सकारात्मक संकेत हो । भण्डारीको राजनीतिक सक्रियता पार्टी र आन्दोलन दुबैका लागि ऊर्जा बन्न सक्छ, यदि नेतृत्वले निजी आशंका होइन, सामूहिक भविष्य देख्न सक्यो भने ।
नेपालजस्तो संक्रमणकालीन लोकतन्त्रमा व्यक्तिको होइन, विधिको शासन नै टिकाउ राजनीतिक प्रणालीको आधार हो । त्यसैले विद्या भण्डारीको पार्टी सक्रियता न त अपराध हो, न त अधिनायकवाद-त्यो एउटा राजनीतिक अधिकार हो, जसलाई व्यक्तिपूजाबाट मुक्त राजनीतिक नेतृत्वले सम्मान गर्नुपर्छ । सजग र विवेकी कार्यकर्ता, समर्थक, विश्लेषक र नागरिकका हैसियतले हामी सबैले यस्ता शक्तिपरक मनोवृत्तिको भण्डाफोर गर्नुपर्छ, जसले राजनीति व्यक्तिको बन्धक बनाउँछ । त्यसैले, आजको समय विघटन होइन, संवाद र सहकार्यको आवश्यकता भएको समय हो । भित्रभित्रै बगिरहेको असहिष्णुताको खोलो थाम्न सबै कम्युनिष्ट, लोकतन्त्रवादी र प्रगतिशील चेतनाले खरो भूमिका खेल्नुपर्छ । बारा कोल्हबी, हाल काठमाडौं ।






सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास