काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केवल सीमित व्यक्ति वा समूहका लागि नभई आम जनताले महसुस गर्नेगरी हुनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले भन्नुभयो, ‘हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्दछ ।’ भण्डारीले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण गरेर मात्रै देशमा लगानी भित्र्याउन सकिने र त्यसको प्रतिफल सबै नागरिकसम्म पुर्याउनुपर्ने बताउनुभयो । भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक रहेको धारणा राख्नुभयो । लगानीसँगै रोजगारी, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारी जस्ता विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको उहाँको जोड थियो ।
पूर्वराष्ट्रपति भण्डारीले लगानीको ढोका खोल्नु भनेको केवल पुँजी र मुनाफाका लागि मात्र नभई न्याय, सम्भावना र विश्वासका लागि पनि भएको बताउनुभयो, ‘देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो’ उहाँले भन्नुभयो, ‘नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन आवश्यक छन्, तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ ।’
उहाँले नेपालले अरूको विकास मोडेलको नक्कल गर्नुभन्दा पनि आफ्नै समाजको आवश्यकता, स्रोत, साधन र सम्भावनालाई विश्लेषण गरेर समृद्धिको मार्ग तय गर्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्नु अर्थतन्त्रको मुख्य आधार भएको भण्डारीको भनाइ थियो ।
स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आहृवान गर्दै भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिरहेको बताउनुभयो । ‘यहाँ लगानी गर्नु केवल मुनाफा कमाउने कुरा मात्र होइन, इतिहासको साझेदार बन्ने अवसर पनि भएको भन्दै नेपालमा गरिएको लगानीले गरिबलाई रोजगारी दिने, एक उद्यमीलाई हौसला दिने र गाउँलाई उज्यालो दिने काम गर्ने बताउनुभयो । समृद्धि अब सपना मात्र नभई सबैको संकल्प बन्नुपर्ने बताउँदै आर्थिक समृद्धिको यात्रामा सबैलाई सक्रियतापूर्वक लाग्न उहाँको आग्रह थियो ।
नेपालमा केही सम्भावना छैन भन्ने भाष्य बदल्दै छौँ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी पुँजी परिचालन गर्न निजी क्षेत्र लागिपरेको बताउनुभएको छ । राइजिङ नेपाल समिट २०२५ लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघको नेतृत्वमा पब्लिक कम्पनी स्थापना गरी काम गरिरहेको बताउनुभएको हो । ‘महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरी स्वदेशी पुँजी परिचालनलाई पनि जोड दिएका छौँ’, उहाँले समिटलाई सम्बोधन गर्दै भन्नुभयो, ‘निजी क्षेत्रले सेवा, पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेका छौँ । यस्ता प्रयासहरूले निजी क्षेत्रको सम्भावना र प्रतिबद्धतालाई झल्काउँछ ।’
अध्यक्ष ढकालले अबको मिसन २०८४ ‘दोब्बर लगानी, दोब्बर रोजगारी’ हुनुपर्ने बताउँदै राजनीतिक दलहरूले यसलाई एजेण्डा बनाउनुपर्ने बताउनुभयो । सबैको साझा प्रयासले लगानीको ढोका खोल्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसबाट समृद्धिको बाटोमा अगाडि बढ्न सकिने बताउनुभयो । ढकालले नेपालमा केही सम्भावना छैन भन्ने भाष्य बदल्न निजी क्षेत्रले सरकारसँग सहकार्य गरिरहेको बताउनुभएको छ ।
उहाँले घरेलु पुँजी परिचालनबाटै ठूला आयोजना बनाउन सकिने उल्लेख गर्नुभएको हो । अध्यक्ष ढकालले देशमै सम्भावना छ र देशकै पुँजी परिचालन गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । कोभिड महामारीले थिलोथिलो पारेको अर्थतन्त्रलाई संकुचनबाट जोगाउन महासंघको नेतृत्वमा रहेको हिसाबमा र आफैँ पनि लगानीकर्ता र व्यवसायी भएको हिसाबमा देशका लागि दिने योगदानबारे सोचेको बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच