काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि सुरु भएको नेकपा एमालेभित्रको आन्तरिक संघर्ष चुलिँदै गएको छ । गतसाता सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता हटाएर सक्रिय राजनीतिमा आउन नदिने घोषणा गरेसँगै आन्तरिक संघर्ष थप जटिल बन्दै गएको हो । भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिन एमाले संस्थापन पक्षले निरन्तर बैठक र छलफल गरिरहेको छ । केन्द्रीय कमिटी बैठकअघिबाटै सुरु भएको छलफल निरन्तर चलिरहेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा संस्थापन पक्षका नेताले शुक्रबार साँझ कर्णाली प्रदेशका उपलब्ध केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् । त्यसपछि पनि संस्थापन पक्षको आन्तरिक छलफल निरन्तर अगाडि बढिरहेको छ । खासगरी पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीमा सक्रिय राजनीति गर्न खोजेको र उहाँले पार्टीभित्र धु्रवीकरण गरी कार्यकर्तालाई अलमलमा पार्न खोजेको विषयमा छलफल भएको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् ।
शनिबार सम्बन्धित प्रदेशका इन्चार्जसहितका नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवासमै बोलाएर एमाले अध्यक्ष ओलीले विद्या भण्डारीका लागि पार्टीभित्र कुनै स्थान नराख्न निर्देशनसमेत दिनुभएको छ । विद्या भण्डारी ‘मदन भण्डारी फाउण्डेशन’बाट सक्रिय हुने कोसिस गरिरहेका बेला ओलीले हावाको झोंक्काको संज्ञा दिँदै बालुवाटारको बैठकमा भन्नुभयो, ‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेता संघर्षपूर्ण इतिहासमा ठूलाठूला आँधी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं । अहिले बाहिर देखिएको यो सानो हावाको झोंक्का हो । सामान्य रूपमा समाधान हुन्छ । तपाईंहरू यसमा अल्मलिनुभन्दा आफ्नो जिम्मेवारीको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’
शुक्रबार पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले आफूमाथि पार्टी केन्द्रबाट अन्याय भएको आरोप लगाउँदै तल्लो तहसम्म जाने घोषणा गर्नुभएको थियो । भण्डारीको यो अभियानलाई रोक्न पनि संस्थापन पक्षले अवरोध खडा गर्ने तयारी गरिरहेको छ । संस्थापन पक्षले महासचिव शंकर पोखरेलको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनहुँ छलफल गरिरहेको स्रोतको भनाइ छ । संस्थापन पक्षले भण्डारीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा कार्यकर्तालाई नजान र प्रतिवाद गर्न निर्देशन दिएको छ ।
राजनीतिमा आउन रोक्ने एमालेको निर्णयपछि भण्डारी पार्टीका नेता-कार्यकर्ताबीच अभियान लिएर जाने तयारी गरिरहनुभएको छ । आफूविरुद्ध संस्थापन पक्षले निरन्तर बैठक गरेको थाहा पाएपछि भण्डारी पक्षका नेताहरू पनि भंगालस्थित भण्डारी निवासमा दिनदिनै छलफल गरिरहेका छन् । उनीहरूले पनि संस्थापन पक्षको अवरोध चिर्न रणनीति बनाइरहेको स्रोतको दाबी छ ।
राजनीतिमा विद्याको पुनरागमन अस्वीकार्य : गौतम
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको टिप्पणी गर्नुभएको छ । भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिमा पुनः सक्रियता एमालेका लागि गौण विषय भएको उहाँको भनाइ छ । एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत् र घनीभूत छलफलपछि निर्णय गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको जिकिर गर्दै प्रचार विभाग प्रमुख गौतमले बैठक सर्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको दाबी गर्नुभयो ।
पद पाइँदैन कि भन्ने डरले सत्य छाड्न सकिँदैन : थापा
विद्या भण्डारी पक्षधर नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्र जारी ७० वर्षे उमेर र दुई कार्यकालको सीमासम्बन्धी बहस आगामी महाधिवेशनसम्मै जारी रहने बताउनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै ‘जबज र पार्टीको लोकतान्त्रीकरण’ पुस्तकको तस्वीरसहित सामाजिक सञ्जाल फेसबुकमा थापाले लेख्नुभएको छ, ‘यस पुस्तकलाई सकेजति गहिरिएर पढ्नू । अनि बहस गर्न आउनू । यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रित होइन, नेपाली विशेषताको समाजवादबारे हुने थियो । गाली गलौजवालाहरूले ठाउँ नै पाउने थिएनन् गाली गरेका भरमा, पद पाइँदैन कि भन्ने डरले सत्य छोड्न त सकिँदैन है ।’
भण्डारी पक्षमा खुलेका कार्यकर्ता धमाधम निलम्बित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा पर्नुभएको छ । संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ । युवा संघ नेपालले केन्द्रीय सदस्य युवान्तिका कुलुङमाथि पनि कारबाही गरेको छ । निलम्बित केन्द्रीय सदस्य कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेरे चरित्र हत्या गर्ने काम भएको आरोप लगाउँदै भन्नुभयो, ‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका मलाई ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैले स्पष्टीकरण दिइसकेको थिएँ । मलाई कारबाही गर्न खोजेको चाहिँ धेरै समय भइसक्यो । मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्र हत्या गर्न खोजेकै हो । षड्यन्त्र गरेर मेरो राजनीति सकाउने प्रयास भएको छ ।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित