नयाँदिल्ली । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेसी डिसेम्बरमा भारत भ्रमणमा आउने हुनुभएको छ । मेसी १४ वर्षपछि भारत आउन लाग्नुभएको हो । उहाँ डिसेम्बर १३ देखि १५ सम्म भारतमा रहनुहुनेछ र कुल तीन शहरको भ्रमण गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रिपोर्टअनुसार मेसीले डिसेम्बर १३ देखि १५ सम्म कोलकाता, दिल्ली र मुम्बईको भ्रमण गर्नुहुनेछ । उहाँले डिसेम्बर १४ मा मुम्बईको वानखेडे स्टेडियममा हुने कार्यक्रममा भाग लिनुहुनेछ । मुम्बई क्रिकेट संघ (एमसिए) स्रोतले टाइम्स अफ इण्डियालाई बताएअनुसार केही क्रिकेटरहरू पनि कार्यक्रममा उपस्थित हुनेछन् ।
यसबाहेक मेसी कोलकाता पनि जाने र त्यहाँ इडेन गार्डेनमा उहाँलाई सम्मान गरिने रिपोर्टमा उल्लेख छ । मेसीले कोलकातामा बालबालिकाका लागि फुटबल कार्यशाला पनि आयोजना गर्नुहुनेछ र उहाँले फुटबल क्लिनिक पनि सुरु गर्नुहुनेछ ।
यसअघि जुन ६ मा, केरलाका खेलकुदमन्त्री वी. अब्दुरहिमानले लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना फुटबल टोली अक्टोबर वा नोभेम्बरमा मैत्रीपूर्ण खेल खेल्न केरला आउने पुष्टि गर्नुभएको थियो । यो खेल तिरुवनन्तपुरमको ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । यसबारे केरला सरकारसँग छलफल गरिएको छ ।
मेसीसहितको अर्जेन्टिना फुटबल टोली अन्तिमपटक २०११ मा भेनेजुएलाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आएको थियो । अर्जेन्टिना र भेनेजुएलाबीचको यो खेल सेप्टेम्बर २ मा कोलकाताको साल्ट लेक रंगशालामा खेलिएको थियो ।
अर्जेन्टिना हालको विश्व च्याम्पियन हो । २०२२ मा खेलिएको फिफा विश्वकप फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ ले हराएर टोलीले उपाधि जितेको थियो । यसअघि अर्जेन्टिनाले १९८६ मा उपाधि जितेको थियो । यो अर्जेन्टिनाको समग्रमा तेस्रो उपाधि थियो । टोली १९७८ मा पहिलोपटक विश्व च्याम्पियन बनेको थियो । एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र