जनताको इच्छा अनुसार, जनताको सहभागितामा र विधिको शासन अनुसार देशको बागडोर जसले सम्हाल्छ, त्यो नै लोकतान्त्रिक नेता हो । लोकतान्त्रिक नेतृत्वको आधार संवाद, उत्तरदायित्व, पारदर्शिता, सहभागिता र इमानदारी हुन् । लोकतन्त्रमा नेता शासक बन्दैन ऊ वास्तवमा जनताको सेवक बन्छ । उसका व्यक्तिगत इच्छा र आकांक्षा गौण हुन्छन् भने ऊ सदैव जनताको सर्वोपरी हित र कल्याणमा केद्रित हुन्छ । लोकतान्त्रिक नेतृत्वले जनताको मत, आवाज, भावना, चाहना र सरोकार अनुसार निर्णय लिन्छ । निर्णयहरू प्रक्रियागत र कानुनसम्मत हुन्छन् । व्यक्तिको लहडमा कुनै निर्णयहरू हुँदैनन् । लोकतान्त्रिक नेताले आफूलाई सधैं कानुनको अधिनमा राख्छ ।
आलोचनालाई उपेक्षा होइन गम्भीरतापूर्वक सम्मान गर्छ र आफ्नो काम, व्यवहारलाई सधैं पुनर्विचार गर्न तत्परता देखाउँछ । आलोचनाका कारणमा सधैं घोत्लन्छ र निदानका उपायलाई साझा प्रयासका माध्यमले जतिसक्दो छिटो समाधान खोज्छ । जनता र देशप्रतिको उत्तरदायित्व बोध भएको विषयलाई मन, वचन र कर्मद्वारा अनुवाद गर्छ । हावादारी भाषण र जनतालाई भुलभुलैयारूपी आश्वासन बाँड्ने कुकर्ममा कहिल्यै समय, साधन र स्रोतलाई दुरुपयोग गर्दैन । निर्णयहरूप्रति जवाफदेहिता र पारदर्शिता लोकतान्त्रिक नेतृत्वका मुख्य विशेषता हुन् ।
लोकतान्त्रिक नेतृत्वको सार भनेको नै सेवा, समर्पण, इमानदारी र संवाद हुन् । सत्ताको स्रोत जनता भएकाले नेताको शक्ति जनताको भरोसा, साथ, समर्थन र कानुनी प्रक्रियाबाट प्राप्त हुन्छ । तसर्थ लोकतान्त्रिक नेता त्यो हो जसले सर्वथा जनताको भावना, चाहना र आवाजलाई केन्द्रमा राख्छ ।
लोकतान्त्रिक पद्धतिमा नेतृत्वको मुख्य विशेषता भनेको शासन व्यवस्था सञ्चालनको सन्दर्भमा साझा निर्णय प्रक्रियानुसार अगाडि बढ्ने, समस्यालाई मुखले होइन व्यवहार र विधिले समाधान गर्ने चरित्र हुन्छ । व्यवहारबाट जतिसक्दो छिटो समाधान खोज्न राज्यका संरचनालाई सशक्त परिचालन गर्छ । एकल निर्णय जहाँ हुन्छ त्यहाँ लोकतन्त्रको चीरहरण हुन्छ । त्यसैले सम्बन्धित निकायको कार्यदल विशेषज्ञ वा संसदीय समिति वा परामर्शदातामार्फत सबै निर्णय साझा सहमतिमा गर्नु लोकतान्त्रिक शासकको चारित्रिक विशेषता हो । लोकतन्त्रको मुख्य विशेषता भनेकै बहुमतको शासन, अल्पमतको सम्मान तथा सुरक्षा र सन्तुलनको समुचित व्यवस्था हो । लोकतान्त्रिक नेतृत्वले आफ्नो र पराइबीच विभेदकारी व्यवहार गर्दैन ।
लोकतान्त्रिक पद्धतिका शासकमा व्यक्ति होइन संस्थालाई कसरी बलियो र सक्षम बनाउने भन्ने ध्याउन्न हुन्छ । स्वतन्त्र प्रेस, न्यायपालिका र निर्वाचन आयोग जस्ता संवैधानिक संस्थाहरूको कार्यसम्पादनमा हुने हस्तक्षेपलाई अपराध मान्छ । ती संस्थाहरूलाई पूर्ण सम्मान र स्वतन्त्र रूपमा काम गर्ने उचित वातावरण निर्माण गर्नु उसको कर्तव्य हुन्छ । लोकतान्त्रिक नेतृत्व निजी स्वार्थमा होइन सार्वजनिक हितमा केन्द्रित र समर्पित हुन्छ । भ्रष्टाचार, पक्षपात, नातावाद, अहंकार आदि लोकतान्त्रिक नेतृत्वका दुर्गुणमात्रै होइनन् ती सबै देश र जनताका शत्रु हुन् ।
लोकतान्त्रिक नेतृत्वको सार भनेको नै सेवा, समर्पण, इमानदारी र संवाद हुन् । सत्ताको स्रोत जनता भएकाले नेताको शक्ति जनताको भरोसा, साथ, समर्थन र कानुनी प्रक्रियाबाट प्राप्त हुन्छ । तसर्थ लोकतान्त्रिक नेता त्यो हो जसले सर्वथा जनताको भावना, चाहना र आवाजलाई केन्द्रमा राख्छ । संसारमा मुख्य दुई धारहरूको शासन व्यवस्थाहरू प्रचलनमा छन् ।
लोकतान्त्रिक र अधिनायकवादी धार : अधिनायकवादीहरूले समेत स्वघोषित लोकतान्त्रिक नेतृत्वको आवरणमा अधिनायकवादको पक्षपोषण गर्दछन् । संसारमा कुनै पनि शासकले आफूलाई अधिनायकवादी हुँ भन्दैन तर वंशानुगत वा सैनिक तानाशाहहरूमा मात्रै होइन निर्वाचित नेतृत्वमा समेत अधिनायकवादका दुर्गुण भेटिनु दुर्भाग्यपूर्ण भन्नुपर्छ ।
अहिले संविधानतः लोकतान्त्रिक भनिएका नेपाली शासकहरूको व्यवहारमा अनुभूत हुने अधिनायकवादी प्रवृत्ति र चरित्रका कारण लोकतन्त्रको दहन भएको छ । लोकतन्त्रको दहनको कारण नेतृत्वको अहंकार मुख्य जिम्मेवार छ । नेतृत्वमा विद्यमान अहंकार र लोकतान्त्रिक शासन पद्धति वास्तवमा परस्परविरोधी विषय हुन् । त्यसैले जहाँका शासकमा व्यक्तिगत स्वार्थ र अहंकार हुन्छ ती शासकहरूबाट लोकतान्त्रिक शासनको अपेक्षा गर्नुभनेको मुर्दाभित्र जीव खोज्नु जस्तै निरर्थक मानिन्छ । लोकतन्त्र एक निरन्तर अभ्यास हो । यो चेतन र विवेकको यात्रा हो । साथै यो जनतामाथिको विश्वास र जनताप्रति जवाफदेहिताको संयोजन पनि हो ।
नेतृत्वको अहंकारले लोकतन्त्र कमजोर हुन्छ, त्यस्तो अवस्थामा जनताले सचेत नागरिकको भूमिका निर्वाह गर्न सक्नुपर्छ । लोकतन्त्र तब बाँच्छ जब जनताको आवाज र स्वतन्त्र विचार जीवित रहन्छ । लोकतन्त्रको आत्मा भनेको सहभागिता, सहिष्णुता, पारदर्शिता र जवाफदेहिता हो । जब-जब नेतृत्वमा अहंकार हावी हुन्छ तब-तब शक्तिको खेलमा लोकतन्त्र पराजित हुन्छ । लोकतन्त्र जनताको शासन प्रणाली हो जहाँ हरेक व्यक्तिको मतले मुलुकको नेतृत्व चुनिन्छ । लोकतान्त्रिक प्रणालीमा जनताको आवाज सुन्ने, आलोचना स्वीकार गर्ने र सबैको सहभागितालाई सुनिश्चित गर्ने संस्कृति र अभ्यास आवश्यक पर्छ । तर, जब नेतृत्वमा रहेका व्यक्तिहरूमा अहंकार हावी हुन्छ, उनीहरू आफूलाई सर्वोपरि र त्रिकालदर्शी ठान्न थाल्दछन्, आलोचनालाई तिरस्कार भन्ने बुझ्दछन, आफ्नो विचारलाई अन्तिम सत्य ठान्दछन् । यो प्रवृत्ति र संस्कृतिले लोकतान्त्रिक शासनमा विपत्ति उत्पन्न हुन्छ ।
राजनीतिक नेतृत्वको काम जनताका इच्छा र आवश्यकतालाई बुझेर नीति निर्माण गर्नु हो तर सत्तामा पुगेपछि अहंकारी नेतृत्वले आफूलाई अपराजेय, सर्वगुण सम्पन्न र आलोचनाबाट टाढा बनाउँछ, त्यसबेला ऊ जनताको सन्देश बुझ्न नसक्नेमात्रै होइन जनतालाई तिरस्कार गर्नेसम्मको अवस्थामा पुग्छ । परिणामस्वरूप त्यो नेतृत्व निरंकुशतातर्फ उन्मुख हुन्छ । लोकतन्त्रको सार वास्तवमा सहमति, संवाद र समावेशी निर्णय प्रक्रियामा आधारित हुन्छ । आलोचना सहनसक्ने क्षमता र बहसमा विश्वास नै लोकतन्त्रको प्राण तत्व हो तर अहंकारी नेतृत्व आलोचना सहन सक्दैन । बहसमा भाग लिन चाहँदैन । प्रतिपक्षलाई सत्ताको बाधक ठान्छ ।
यस्तो प्रवृत्ति जब हावी हुन्छ त्यहाँ विधिको शासनभन्दा व्यक्तिको शासन सुुरु हुन्छ जुन लोकतन्त्रको अन्त्यतर्फको संकेतमात्रै होइन त्यो प्रमाण पनि हो । नेपालको राजनीतिक इतिहास हेर्दा नेतृत्वमा अहंकारका असंख्य दृष्टान्तहरू छन् । जो नेतृत्वमा जान्छ त्यसले आफूलाई राष्ट्रकै उद्धारकर्ता ठानेर प्रतिपक्षलाई हेप्ने, प्रेसलाई दबाउने र जनतालाई मुर्ख ठान्ने प्रवृत्तिले लोकतन्त्र कमजोरमात्रै भएको छैन निकम्मा प्रमाणित भएको छ । संसदीय प्रक्रियाको उपेक्षा, विधिको शासनको अवज्ञा र जनअपेक्षाको अपमान यी अहंकारी सोचका परिणाम हुन् ।
लोकतन्त्रको आत्मा विचार हो व्यक्ति किमार्थ होइन । लोकतन्त्रमा नीतिको बहस हुनुपर्छ । मूल्यको आधारमा नेतृत्वको मूल्यांकन हुनुपर्छ तर राजनीति विचार मुद्दामूलक हुनुपर्नेमा व्यक्तिमूलक बनेको छ । के भन्यो भन्ने विषय गौण र कसले भन्यो भन्ने कुराले ठीक-बेठीक छुट्टयाउने परिपाटीको विकास र प्रयोग हुने दिनबाट लोकतन्त्रले विचार शून्य राजनीतिको रूप धारणा गर्छ । कार्यकर्तामा मेरो नेता चोर भए पनि राष्ट्रवादी हो र तेरो नेता इमानदार भए पनि देशद्रोही हो भन्ने बहसको जुहारी पार्टीका कार्यकर्ताबीच चल्छ । त्यसले लोकतन्त्र र लोकतान्त्रिक संस्कार र संस्कृतिको पतनसँगै लोकतन्त्र संकटग्रस्त हुन्छ ? जहाँ सत्यको पक्षमा होइन आफ्नो नेताको पक्षमा कार्यकर्ता लामबद्ध हुन्छन्, त्यहाँ नैतिकता, पारदर्शिता, इमानदारी, जवाफदेही र इन्टिग्रिटी आदिको मूल्य, मान्यता र महत्व समाप्त हुन्छ ।
आफ्नो पार्टीको नेताले जति अपराध गरे पनि समर्थन गर्ने र अर्को पार्टीको नेताले जतिसुकै राम्रो काम गर्दा पनि विरोध गर्ने साथै आलोचनालाई तिरष्कार गर्ने र आलोचकलाई शत्रु ठान्ने संस्कार र संस्कृतिको विकासले लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्था निःसन्देह संकटग्रस्त हुन्छ । तेरो नेता सधैं बेठीक मेरो नेता सधैं ठीक भन्ने कार्यकर्ताको व्यवहार र मनस्थितिले कार्यकर्तामा विवेक हराउँछ । परिणामस्वरूप जनताको र कार्यकर्ताको आलोचनात्मक चेत समाप्त हुन्छ । त्यसपछि कार्यकर्तामा दलदास प्रवृत्ति र संस्कृति हावी हुन्छ । नेतृत्वलाई गाली वा पूजामात्र गर्न थालिन्छ ।
मूल्य र सन्देशको सट्टा व्यक्तिको आराधना हुने बित्तिकै लोकतान्त्रिक नेतृत्व अधिनायकत्वमा रूपान्तरित हुन्छ । समाजमा सामाजिक ध्रुवीकरण र वैमनस्यको बोलबाला हुन्छ । लोकतान्त्रिक बहस मैत्रीपूर्ण र विचारमा केन्द्रित हुनुपर्नेमा व्यक्तिगत आरोपप्रत्यारोपबाट धम्की हुँदै हिंसात्मक रूप लिएका थुप्रै उदाहरण छन् । कुनै नेता वा कुनै पार्टीले राम्रो काम गरे पनि प्रतिपक्षका नेता वा कार्यकर्ताले त्यसलाई समर्थन गर्दैनन् । केवल हाम्रो र तपाईंको आधारमा व्याख्यान, विश्लेषण र मूल्यांकन हुन्छ । कार्यकर्ता र नेताहरूको यस्तो मुढ–विवेक र बुद्धिले न कहिल्यै राष्ट्रिय हित हुनसक्छ न लोकतन्त्रको सुदृढीकरण नै ।
अब प्रश्न उठ्छ समाधान के ? राजनीतिक व्यक्ति र कार्यकर्तामा असल, खराबको निरपेक्ष व्याख्या, विश्लेषण र मूल्यांकन गर्ने विचार, सिद्धान्तमा आधारित राजनीतिको बीजारोपण गर्ने पद्धतिको सुरुवात गर्न सबै राजनीति दलहरू, नेताहरूमा सत्य, न्यायप्रतिको निष्ठा र समर्पणलाई व्यवहारमा अनुवाद गर्ने चरित्रको विकास हुन अनिवार्य हुन्छ । व्यक्ति होइन आचरण, मूल्यलाई प्राथमिकता, मान्यता दिने, संस्कारको विकासमा प्राथमिकता दिने साझा चरित्र निर्माण हुँदा समाधान निस्कन्छ ।
नेताहरू शालीन भए, कार्यकर्ता मर्यादित हुन्छन् । नेताहरू अहंकारी भए कार्यकर्ता दम्भी र अराजक बन्छन् । विनम्र नेतृत्व र सचेत कार्यकर्ता सशक्त लोकतन्त्रका लागि अनिवार्य शर्त हुन् । अन्यथा सत्ताको घमण्ड र भिडको दम्भले लोकतान्त्रिक व्यवस्था निःसन्देह अधिनायकवादको भासमा जाकिन्छ ।
अहिलेसम्म हुँदै आएको आफ्नो पार्टीको नेताको अन्ध समर्थन र अर्को पार्टीको नेताले जतिसुकै राम्रो काम गर्दा विरोध गर्ने संस्कृतिबाट कार्यकर्ताले नीतिको समर्थन, विरोध गर्ने चरित्रको विकास गर्ने विषयमा साझा धारणा बन्न जरुरी हुन्छ ।
नेतृत्वले आलोचनालाई गाली होइन सुझावको रूपमा ग्रहण गर्ने स्वभाव, संस्कार र बानीको बीजारोपणले समस्या बिस्तारै साँघुरिँदै जान्छन् । तिमी हाम्रो नेता हौं तर तिम्रो गल्तीको प्रवक्ता हामी किमार्थ हुनसक्दैनौं र हँुदैनौं । गल्ती आखिर गल्ती नै हो भन्नसक्ने आँट, साहस र नागरिक विवेकको जागरणविना लोकतान्त्रिक शासन न त दिगो हुन्छ न त यसले जनताको कल्याणमा नेतृत्वलाई केन्द्रित हुन जबर्जस्त दबाब सिर्जना गर्न सक्छ ।
मेरो नेता ठीक तेरो नेता बेठीक भन्ने एकोहोरो मानसिकताले राजनीतिलाई जनमुखी होइन व्यक्तिपरस्त बनाउँछ । यसले लोकतन्त्रलाई विचरशून्य, मूल्यहीन बनाउँछ भने कार्यकर्तालाई दलदास बनाउँछ । लोकतन्त्रमा कुनै नेताको वा पार्टीको पक्ष विपक्षमा होइन सत्यको पक्षमा उभिने, विचार प्रकट गर्नसक्ने र मतदान गर्नसक्ने नागरिक नै लोकतन्त्रका साँचो पहरेदार हुन् । तसर्थ सशक्त लोकतन्त्रका लागि अब हामी सबैले भन्न सक्नुपर्छ कि म अमुक नेताको अन्धो पक्षधर होइन म सधैं स्थिति र नीतिको पक्षमा हुन्छु । म सधैं अमूक पार्टीको पक्षमा होइन सत्य र न्यायको पक्षमा निर्भिकताका साथ तर्क, बहस र मत प्रकट गर्छु ।
नेताहरू शालीन भए, कार्यकर्ता मर्यादित हुन्छन् । नेताहरू अहंकारी भए कार्यकर्ता दम्भी र अराजक बन्छन् । विनम्र नेतृत्व र सचेत कार्यकर्ता सशक्त लोकतन्त्रका लागि अनिवार्य शर्त हुन् । अन्यथा सत्ताको घमण्ड, भीडको दम्भले लोकतान्त्रिक व्यवस्था निःसन्देह अधिनायकवादको भासमा जाकिन्छ । नेपाली राजनीतिको नेतृत्व तहमा रहनेहरूको अहंकार र पार्टीहरूका कार्यकर्ताहरूको अराजकतालाई सुधार्न सकिएन भने हाम्रो लोकतान्त्रिक पद्धतिको विनाश निश्चित छ । लोकतन्त्रको आत्मा भनेकै विचार, अभिव्यक्तिको स्वतन्त्रता, बहसको संस्कृति र आलोचनाको सम्मान हो । यिनै आधारबाट लोकतान्त्रिक पद्धतिको परिपक्वताको मापन हुन्छ ।
आलोचनालाई अपमान ठान्ने र भीडलाई दबाबको संज्ञा दिँदा लोकतन्त्र मुर्झाउँछ अनि अधिनायकवादको बिउ उम्रन्छ । आलोचना भनेको लोकतान्त्रिक पद्धतिलाई दुर्घटना हुनबाट रोक्ने रातो झण्डाको प्रदर्शन हो । सत्ताको कमजोरी र ज्यादतीप्रति खबरदारी जनताको लोकतान्त्रिक अधिकार हो तर नेताहरूले आलोचकलाई दुश्मन सम्झने र कार्यकर्ताले आलोचना गर्नेहरूलाई गाली र धम्की दिन थाले भने त्यो लोकतान्त्रिक शासन किमार्थ होइन, अहंकारको शासन हो । जहाँ आलोचना दबाइन्छ त्यहाँ डर पैदा हुन्छ । डरले सत्य लुक्छ । सत्य लुक्दा सुधारको बिउ मर्छ । परिणामस्वरूप शासक भ्रष्टाचारमा चुर्लुम्म डुब्छ ।
अन्ततः देश संकटग्रस्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष आलोचनालाई सुन्नसक्ने संस्कार हो । लोकतन्त्र त्यति बेला सशक्त हुन्छ जब सत्तामा बसेकाहरूले जनताका तीखा प्रश्नहरूलाई आदरपूर्वक सुन्छन्, आत्ममूल्यांकन गर्छन् र सुधारमा तत्काल अग्रसरता देखाउँछन् । आलोचना दबाउनु अधिनायकवादको सुरुवात हो भने त्यसलाई सम्मान गर्नु लोकतन्त्रको समृद्धि हो । लोकतन्त्रको समृद्धि प्रकारान्तरले जनता र देशको समृद्धिको भरपर्दाे पूर्वाधार हो । तसर्थ जहाँको राजनीतिक नेतृत्वमा अहंकारको उत्पत्ति हुन्छ त्यहाँको लोकतान्त्रिक पद्धतिमा विपत्ति अवश्यम्भावी छ । जबसम्म राजनीतिमा सेवा, सम्वाद, विनम्रताको संस्कार र संस्कृति पुनस्र्थापित हुँदैन तबसम्म त्यो देशमा साँचो अर्थमा लोकतान्त्रिक शासन बहाल हुनै सक्दैन ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक