न्युयोर्क । युएस ओपन टेनिस प्रतियोगितामा इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशि घोषणा गरिएको छ । पुरुष तथा महिला एकल विजेताहरूले जनही पाँच मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने बिबिसीले जनाएको छ । यसपालिको कुल पुरस्कार राशि ९० मिलियन डलर रहेको समाचारमा उल्लेख छ ।
यो राशि सन् २०२४ को तुलनामा ३९ प्रतिशतले बढी हो, जसमा विजेताहरूले ३.६ मिलियन डलर प्राप्त गरेका थिए । त्यस्तै, कुल पुरस्कार राशि पनि पछिल्लो वर्षको ७५ मिलियन डलरको तुलनामा २० प्रतिशतले वृद्धि गरिएको छ ।
तुलनात्मक रूपमा यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको कुल पुरस्कार राशि ५३.५ मिलियन पाउण्ड थियो, जसमा पुरुष र महिला एकल विजेताले जनही तीन मिलियन पाउण्ड पाएका थिए । युएस ओपनको पहिलो चरणमा पराजित हुने खेलाडीहरूलाई एक लाख १० हजार डलर दिइनेछ, जुन विगतको तुलनामा १० प्रतिशतले बढी हो ।
यस वर्षको सुरुवातमा शीर्ष २० पुरुष तथा महिला खेलाडीहरूले चार ग्राण्डस्लाम आयोजकहरूलाई पत्र पठाएर प्रतियोगिताबाट हुने आम्दानीमा आफूहरूलाई उचित हिस्सा दिन आग्रह गरेका थिए । ‘सन् २०२४ को तुलनामा सबै चरणका सबै खेलाडीका लागि कम्तीमा दोहोरो अंकको प्रतिशत वृद्धिको सुनिश्चितता गरिएको छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, एकल स्पर्धाको अन्तिम चरणसम्म पुग्ने खेलाडीहरूको पुरस्कारमा उल्लेख्य वृद्धि गरिएको छ ।’
यसपटक पुरुष र महिला डबल्समा उपलब्ध पुरस्कार राशि ४.७८ मिलियन डलर (३.६ मिलियन पाउण्ड) हुनेछ, जुन गत वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । युएस ओपनले यस वर्ष मुख्य ‘ड्र’मा रहेका खेलाडीहरूको यात्रा तथा अन्य खर्चका लागि पाँच मिलियन डलरको सहयोग पनि उपलब्ध गराउनेछ । सन् २०२५ को युएस ओपन २४ अगष्टदेखि ७ सेप्टेम्बरसम्म फ्लशिङ मिडोज, न्युयोर्कमा आयोजना हुनेछ । एजेन्सी




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच