मानिसका अन्तर्क्रिया, मानिसका बीचका अन्तरनीहित विभिन्न प्रकारका सम्बन्ध र गतिविधि कवितामा उधिन्नु सहज हुँदैन् । झनै आजको मान्छे मानिस प्रशंसा मन पराउँछ । गाली मन पराउँदैन् । ताली मन पराउँछ । मानिस आलोचनामा रमाउँदैन् । त्यही भएर त मानिस हमेशा प्रशंसाको भोको हुन्छ । त्यसैले तपाईं कसैको प्रशंसामा समय खर्चिनुस वा उसको वाहावाहीको पुल बाँधिदिनुस् ऊ तपाईंसँग खुशी हुन्छ । तालीको महिमा गजब छैन् त ! विश्व सिग्देल यस्तै तालीको समाजशास्त्र लिएर नेपाली कविताको आकाशमा उदाएका छन् ।
विश्व भुइँमान्छेका मन लेख्छन् । तिनका मनोदशाको गहिराई मज्जैले नाप्ने खुवी छ उनमा । अभाव, पीडा र छट्पटीको महसुस गर्न सक्छन् । छामेका छन्-हर गरिब दुःखीका नाडी उनले । हमेशा चिन्ता हुन्छ मिहेनतकश मान्छेको उनलाई । श्रमलाई सम्मान गर्न जानेका उनी आफैं पनि मानसिक श्रम बेच्छन् । यसैले श्रम र पसिनाको मूल्यवोध छ । उनी मानवीयताका पक्षपाती हुन् ।
कविताहरू सकारात्मक आयतनले भरिएका छन् । भन्न सकिन्छ वर्तमान समाजका ऐना लाग्छन् कविता । कविताले यथार्थलाई पाठकसामु सत्यापन गरेका छन् । उनी मानिसका अन्तरसम्बन्धका बास्तविकतालाई उजागर गर्ने कवि हुन् । फोस्रो आडम्बरको विरुद्ध सतिशाल बनेर उभिने कविका कविता पनि त्यतैतिर लक्षित छन् ।
भुइँमान्छेका सपनामा खेलवाड गर्ने शासकहरूसँग उनी आक्रोशित भएर विद्रोह ओकल्छन् । कविताहरू समयका पदचाप लाग्छन् । उनी मनको भित्रीतहदेखि मानवताका पक्षमा शब्दको खेती गर्छन् । यथार्थवादी लाग्छन् । विकृति र विसंगति कविलाई पटक्कै मन पर्दैन् । यसैले त्यस्ताका विरुद्ध कविमन विद्रोही बन्छ ।
असाध्यै थोरै लेख्छन् । बलशाली लेख्छन् । कविता कोर्छन् मनदेखि । भावना सकारात्मक छ । यसैले कविताहरू सकारात्मक आयतनले भरिएका छन् । भन्न सकिन्छ वर्तमान समाजका ऐना लाग्छन् कविता । कविताले यथार्थलाई पाठकसामु सत्यापन गरेका छन् । उनी मानिसका अन्तरसम्बन्धका बास्तविकतालाई उजागर गर्ने कवि हुन् । फोस्रो आडम्बरको विरुद्ध सतिशाल बनेर उभिने कविका कविता पनि त्यतैतिर लक्षित छन् । तपाईं मान्नुस वा नमान्नुहोस तपाईंको मर्जी । विकृति र विसंतिको विरुद्ध जेहाद छेड्ने सामाथ्र्यका कविता छन् यसमा । परिवर्तनको पक्षमा लाग्नेको भावनाहरू छन् । यथार्थताको सत्यापन गर्ने कविका मष्तिस्क मन्थनका उपजको रुपमा कविता आएका छन् । सकारात्मक कुरा अंगाल्न र नकारात्मकतालाई त्याज्य गर्न आहृवान गर्ने कवि आफू जिइरहेको युगको सचित्र वर्णन गर्न सक्षम देखिएका छन् । तालीको समाजशास्त्रभित्र ४५ थान कविता रहेका छन् ।
सार्वजनिक शौचालय र संसद्मा फरकपन नभएको भन्दै कटाक्षपूर्ण बिम्बद्धारा झटारो हानेका छन् कविले-सार्वजनिक शौचालय कवितामा । विश्व पुँजीवादीहरूको पोल्टोमा पुगिसकेको छ । हाम्रा सूक्ष्म तर बहुउपयोगी अर्गानिक चीजवीजहरू मदानी, झुम्रो, मठ, च्याखुरा आदि लोपोन्मुख हुन् थालिसके । तेस्रो विश्व आक्रान्त पारेर सकाइसके शक्तिहरूले भन्ने संकेत गर्छन् उनी कविता, ‘बजार र तेस्रो विश्व’मार्फत ।
शीर्षकृत कविता तालीको समाजशास्त्रमा ताली अन्धो हुनेतर्फ उनको संकेत छ । उनले नेताका हर कुुुरामा जनताले ताली बजाएर समर्थन गरिदिँदा हाम्रो देशमा नेताहरू बदमास भएको तर्फ उनले औंल्याएका छन् । मानवीय पीडा र संवेदना उनीहरूको विद्रुपता कवितामा बोल्ने कवि विश्व जहिल्यै भुइँमान्छेका पीर र चिन्तालाई कवितामार्फत ओकल्छन् । तर उनको भाव बडो शालिन र गम्भीर रूपमा प्रकट हुन्छ ।
उनको कृतिमा अर्काे बलशाली कविता छ
म नाङ्गो सावुन हुँ
नाङ्गो
ओ तेस्रो विश्व !
तिम्रो आदिम आवरणहीन मुहार
र, मेरो अनुहारमा के फरक छ ?
शीत–ताप खोपिएको
तिम्रो जुरो उठेको काँध
र, मेरो मटमैलो रङ्गमा के फरक छ ?
चपराले फर्र्काएको डल्ला
दाँदेले हिल्याएको खेत
के त्यही माटो जस्तो छैन् मेरो बास्ना ? (नाङ्गो साबुन)
विश्वका कवितामा रोनाधोना छैन् । भावनाको गहिराईमा विषम समयप्रति विद्रोह भाव छ । असहमति छ । शालिन आक्रोश छ । विभिन्न वादमा कित्ताकाट भएको देशको भविष्यप्रति चिन्ताभाव छ ।
हामीहरू माक्र्स हौं
वा, हौं माओ
बुद्ध हौं वा हौँ ताओ
दर्शनलाई
रु.दशको पोलिमर नोट हुनबाट जोगाऔँ । (पोलिमर नोट)
बेगर माष्टर अर्को सुन्दर र शक्तिशाली कविता हो । उनले विश्वमा दबदबा सिर्जना गरिरहेको अमेरिकालाई बेगर माष्टरको बिम्बमा लिपेका छन् । उसले विश्वमा फिँजाइरहको दादागिरीप्रति कटाक्ष छ कवितामा । देश राजनीतिले विग्र्यो भन्नेहरूको निम्ति मास्टरपीस लाग्दा छन् कविता । राजनीतिक अन्तरवस्तुलाई विषय बनाएर उधिनिएका शक्तिशाली कविताहरू तालीको समाजशास्त्रभित्र परेका छन् । कमरेड गोल्डस्टार, पोलिमर नोट जस्ता कविता यो कोटिमा पर्छन् । यथार्थवादी धारमा उनका कविता बगेका छन् । वैचारिक स्खलन बोकेका राजनीतिज्ञहरू हिजो गोलस्टार जुत्ता लगाएर युद्ध गर्थे आज सत्ताको आस्वाद चाखिरहेका छन् भन्ने तथ्यलाई कविताले उजागर गर्छ ।
यथार्थताको सत्यापन गर्ने कविका मष्तिस्क मन्थनका उपजको रूपमा कविताहरू आएका छन् । सकारात्मक कुरा अंगाल्न र नकारात्मकतालाई त्याज्य गर्न आहृवान गर्ने कवि आफू जिइरहेको युगको सचित्र वर्णन गर्न सक्षम देखिएका छन् ।
कवि विश्व युगिनचेतका द्रष्टा हुन् । समसामयिक परिवेशले उनलाई छुन्छ र कविता बुन्छन् । आफ्नै भाव, पृथक शैली र अरूले नजरअन्दाज गर्न नसकेका विषयहरूमा कविता कर्म गर्ने कवि हुन् विश्व । अर्गानिक भावका कविताको प्रधानता यस कृतिभित्र महसुस गर्न सकिन्छ । गम्भीरताको प्रचुर वर्षा गराउँछन् कवितामा विश्व । भावनाको उचाइ चुम्न सफल कविता पस्कन सफल छन् विश्व । छोटा कवितामा धेरै भाव अभिव्यक्त गर्न सफल उनी चर्चामा आउन नरुचाउने स्वभावका लाग्छन् । कवितामा प्रयुक्त संवेदनशीलता, परिवर्तनचेत, क्रान्तिचेत दृष्टिकोण खास वैशिष्ठ्य लाग्छन् । आफ्नोपनको भाषा, सुन्दर बिम्ब, अलङ्कारको सही संयोजनले कविताहरू बलशाली लाग्छन् ।
व्यक्तिगत कुण्ठाबाट विल्कुल टाढा समाजको चिन्ता प्रकट गरेर कवि जिम्मेवार बनेका कविताहरूको प्रधानता कृतिमा पाइन्छ । परम्परिक मूल्यमान्यता र आदर्शभन्दा पर नवीन मूल्य र मान्यताको सन्निकट छन् विश्व र त कवितामा वर्तमान युगबोध गर्छन् । जीवनका भोगाइबोध गर्छन् । युगीन यथार्थवादको निकट कविताहरू कोरल्छन् । उदाशीनताभन्दा पनि विद्रोहचेत र उत्साह भर्ने मनसायका कवितामा मानवता खोज्ने यत्न गर्छन् । युगजीवनको प्रतिनिधित्व गर्ने कवि युगीन राजनीतिक अवस्थाको चित्रण गर्छन् । आफ्ना कवितामार्फत सिग्देल राजनीतिक मूल्य र मान्यताको अवमूल्यन भएकोमा खनिएका छन् । व्यापक असन्तुष्टि राखेर त्यस्तै कुराहरू अभिव्यञ्जित गर्छन् । यस्तै उनका कविताहरू सामाजिक विसंगतिको विरुद्ध बोल्छन् ।
विश्वले कुनै पनि विषयमा कविता लेख्दा त्यसको गहिराइमा डुबेर लेखेका छन् । उनका कविताहरूमा भावनात्मक सम्बन्ध र सामञ्जस्यका कुरा आएका छन् जुन ठूलो कुरा हो । उनको कसैप्रति प्रतिवाद होइन, गलत व्यवहारप्रतिको आक्रोश अभिव्यक्तिएको छ कविताहरूमा । युगीन विसंगतिप्रति गाम्भिर्यता, वर्तमान यथार्थको भोगाइबाट उब्जेका पीडाको कारण कविताहरू सिर्जना भएजस्तो देखिन्छ । अनेकौं विषयका ज्ञाता जस्ता लाग्ने कवि ती ज्ञानहरू कवितामा अन्तरघुलित गराउन खप्पिस देखिए । कथ्य र भाव अनुसारका भाषाशैली र बिम्बहरूको प्रयोगले कविता सुबोध्य बनेका छन् । यसैले भन्न सकियो भाषिक रूपमा सरल, सुबोध्य भाषाशैली, सपाट नारा नभएर बिम्बात्मक भावको बलशाली र गह्रुँगा शब्दहरूको प्रयुक्ति, कलात्मक मूल्यमा दृढ, बौद्धिक चेत कवि विश्वका कविताका विशेषता हुन् । भन्न सकिन्छ सिग्देलका कविता जीवन र युग सापेक्ष आएका छन् । सुन्दर कविता कृतिको लागि कवि विश्व सिग्देललाई हार्दिक बधाई ।







हार्दिक आभार हिमालय टाइम्स,दैनिक परिवार ।
hamro tarfabata pani badhai dubai janalai.
कवि विश्व सिग्देलको कविताकृति ‘तालीको समाजशास्त्र’प्रति मेरो सानो पाठकीय समीक्षालाई स्थान दिनुभएकोमा हिमालय टाइम्स राष्ट्रिय दैनिक परिवार प्रति हार्दिक आभारी छु ।