काठमाडौं । गत साता भारतको उत्तराखण्ड राज्यमा आएको बाढी तथा पहिरोमा केही नेपाली पनि परेको आशंका गरिएको छ । ‘क्लाउड बस्र्ट’ (अत्यधिक वर्षा)का कारण उत्तरकाशी जिल्लाको धराली बजार र पौडी गढवालमा आएको बाढीमा कम्तीमा दुई दर्जन नेपाली सम्पर्कविहीन बनेको आशंका गरिएको हो । जसमा कर्णाली प्रदेशका मात्रै १५ जना सम्पर्कविहीन भएका छन् । जसमध्ये जाजरकोटका मात्रै १३ जना छन् । जाजरकोटको कुशे गाउँपालिका-२ ढाडगाउँका १३ जना बाढीपहिरोपछि सम्पर्कमा नआएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, हुम्ला एक र रुकुममा एकजना पनि सम्पर्कविहीन भएका छन् ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा कुशे गाउँपालिका-२ ढाडगाउँका ४२ वर्षीय कर्णबहादुर सिंह, डोग्रीका ४३ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, मुलेडाँडाका १७ वर्षीय रवीन सिंह र टालेगाउँका ३५ वर्षीय निमबहादुर सिंह पनि सम्पर्कविहीन छन् । यसैगरी, जुम्लाको दतिला गाउँपालिका-३ बस्ने ४५ वर्षीय जनक शाही, कुशे-२ डोग्री ससुराली घर भई रोल्पा स्थायी घर भएका २२ को दीपक राना, जुनिचाँदे गाउँपालिका-२ मजकोट बस्ने २८ वर्षीय गगनबहादुर शाही, ५० वर्षीय रामबहादुर शाही, ३१ वर्षीय गोरखबहादुर शाही, ३५ वर्षीय हरिबहादुर खड्का, ३१ वर्षीय रेशम खड्का, २८ वर्षीया पार्वती खड्का, ३४ वर्षीय केशब खड्का र ३० वर्षीया निर्मला खड्का सम्पर्कविहीन भएको कार्यालयले जनाएको छ ।
कुशे गाउँपालिकाले पनि आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न आग्रह गरिएको छ । यसैगरी, उतराखण्ड काम गर्न गएका बर्दियाका चार धादिङका पाँचजना पनि सम्पर्कविहीन भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका-२ का चार नेपाली बाढी पहिरोमा परेको आशंका गरिएको हो । ज्वालामुखी गाउँपालिका-२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन छन् । उहाँहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन छन् । परिवारका सदस्यहरूले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गरेका छन् ।
भीषण बाढी तथा पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको थियो । नेपालसँग सिमाना जोडिएको उत्तरकाशीस्थित पहाडी क्षेत्रमा २० साउनमा एक्कासि आएको बाढी र पहिरोले धरालीलगायत बस्ती तहसनहस बनाएको छ । भारत सरकारले सेना र विपद् उद्धार टिमको सहयोगमा खोज तथा उद्धार कार्य जारी राखेको छ ।
हराएकाको खोजी गर्न मुख्यमन्त्रीको आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका बर्दियाका चार नेपालीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकारसमक्ष आग्रह गर्नुभएको छ । घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै आचार्यले कूटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति दिन परराष्ट्र मन्त्रालयलाई आग्रह गर्नुभएको हो । मजदुरीका लागि भारत पसेका बर्दियाको मधुवन नगरपालिका–६ का एकै परिवारका ४० वर्षीय नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार सम्पर्कविहीन हुनुभएको हो । आचार्यले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताहरूको सकुशल उद्धारको कामना गर्नुभएको छ ।
हराइरहेका नेपालीको खोजीका समन्वय भइरहेको छ : दूतावास
उत्तराखण्ड बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरणअनुसार साउन पहिरोमा पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट दुई जनाको शव बरामद भएको नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएका र मृत्यु भएकामध्ये कुनै पनि नेपाली नागरिक नरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गतेमा आएको बाढीपहिरोमा पाँचजना नेपाली हराइरहेको दूतावासलाई विवरण प्राप्त भएको जनाइएको छ । घाइते भएका चारजना नेपालीमध्ये तीनजना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको नेपाली विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, नेपाली समाज भारतले भारतको उत्तराखण्डमा बाढी पहिरोबाट भएको क्षति र नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गरेको छ । समाजका अध्यक्ष चक्रबहादुर मलाती र महासचिव आरबी खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै भारत सरकार, उत्तराखण्ड राज्य सरकार, स्थानीय प्रशासन र नेपाल सरकारको दूतावासको समन्वयमा रहँदै पीडित नेपालीहरूको अवस्थाबारे आवश्यक जानकारी संकलन, उद्धार, राहत तथा स्वास्थ्योपचार गरिरहेको उल्लेख गरेको छ । साथै संगठनले प्रदेश तथा स्थानीय इकाइहरूलाई सक्रिय रूपमा परिचालन गरेको समेत जनाइएको छ ।
खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु गरिएको छ : परराष्ट्रमन्त्री डा. राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उत्तराखण्डमा बाढीमा परी बेपत्ता नेपालीहरूको खोजीका लागि दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिनुभएको छ । बाढीमा बेपत्ता नेपालीहरूको खोजी र उद्धारका लागि सरकारले कूटनीतिक पहलसमेत सुरु गरिसकेको बताउँदै खोजीका लागि समन्वय गर्न राजदूतावासलाई निर्देशन दिनुभएको हो । ‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ । उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वयगरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु । बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु र पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तराखण्डको बाढीपहिरोमा नेपालीसमेत परेको खबरले चिन्तित भएको बताउनुभएको छ । साथै त्यहाँ रहेका नेपालीको उद्धारका लागि दूतावासमार्फत कूटनीतिक छलफल पनि भएको उहाँले बताउनुभयो । ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीमा नेपाली नागरिक पनि परेको खबर आएको छ,’ उहाँले भन्नुभयो, ‘उनीहरूको उद्धारको लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको थियो ।’ प्रधानमन्त्री ओलीले बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच