पातहरु झर्छन् छोरी, मनको हाँगालाई टुट्न नदेउ
आज मन उदास हो तिम्रो ?
म घरिघरि तिम्रो मुर्झिएको अनुहार हेरिरहेछु
हिउँदे तुषारोले खाएको चमेलीको फूल जस्तो
किन ?
तिम्रो कथित आधा आकाश आँखामै फाट्यो कि ?
कि बाटो मै पहिरोले तिम्रो बाटो छेक्यो ?
कुईनेटो काटेपछि बाटो नै हरायौ कि ?
कि भालेको डाकले तिम्रो निद्रा टुट्यो ?
म बुझ्छु तिम्रो असन्तुष्टिको धरातल छोरी -
तिमीलाई हेर्ने आँखाहरु सबै उस्तै छैनन्
यहाँ तिर्खाएका ब्वाँसो आँखाहरुले
स्कच् व्हिस्कीको झोलसितै
घटघट पिईरहेका हुन्छन् तिम्रो सौन्दर्यलाई
र
युक्लिप्टसको रुख जस्तै निर्बस्त्र पारेर
तिम्रो अंगप्रत्यंग स्क्यान् गरिरेहेका हुन्छन्
सडकले समेत तिम्रो बाटो ढुक्छ
भन्ज्याङ्ग-चौतारीले तिम्रो खबर टिप्छ
र
चोरबाटोले तिमीलाई एम्बुस् थाप्छ ।
म बुझ्छु तिम्रो उदासिनताको मुहान -
जंगल र झाडीहरुबीच
भोको ब्वाँसोहरुको एकोहोरो भुकाई
बिहान गोठालो गएकी ठूली बहिनी
स्कूल गएकी कान्छी बहिनी
साँझमा घर फर्कने हुन् कि नाई
चील र सर्पहरुको माझ
गुँडमा हुर्कंदै गरेको चराको बचेरा जस्तो
सुरक्षाको प्रत्याभूति नभएको तिम्रो परिवेश
जहाँ निर्मलाहरुको मृत शरीर
खेतबारीमा भेटिन्छन्
नमिता र सुनिताहरुलाई
गण्डकीमा फालिन्छन् ।
म ' फिल् ' गर्न सक्छु छोरी-
ताल्चा लागेका तिम्रा पखेटाहरु
आकाश हेर्दै रोइरहेको तिम्रो मन
घामसँग उज्यालो सापटी मागेर
त्यही उज्यालो घर्तीमा बाँड्नु पर्ने
जूनको तिम्रो तकदिर
अरुको लागि फ़ूलिरहनु पर्ने
आफ्नो लागि उनिनु पर्ने
मखमलीको तिम्रो किस्मत
चुरा पोते र सिन्दुरको नाममा
तिमीले पहिरिएको दासत्वको शृंगार
उता फेरी,
बधुशिक्षाका श्लोकहरु ओंठभरि टाँसेर
घाँटी तानी तानी आलाप्ने आदिकविहरु ।
यद्दपि
म हरदम तिमीलाई भनिरहेछु छोरी
पातहरु झर्छन्
तर
तिम्रो मनको हाँगालाई कहिले टुट्न नदेउ
जहाँ टेक्छौ गहकिलो टेक
डेगहरु डगमगिन हुन्न
गोधूलिको आँखाले जीवनलाई नहेर
भुकभुके उज्यालोमा जीवन खोज
कसले सोचेको थियो र
हिरोसिमा कुनै दिन चिहानमा अनुबाद हुन्छ ?
कसले कल्पेको थियो र
त्यही हिरोसिमा भोलि स्वर्ग जस्तो बन्छ ?
बाँसुरीको घुनसंगै रोम जल्नु पनि समय थियो
नेरोले आफ्नै घाँटी रेट्नु पनि समय नै थियो
आश्वस्त बस छोरी-
यही समयले एकदिन अर्को ‘सुनामी’ बोलाउने
र
तिमीले गुमाएका सबै खुशीहरु फर्काउन
अरुण नदीबाट ‘योगमाया’हरुलाई डाक्नेछ ।
*****
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…