नेपाल सम्भावनै सम्भावनाले भरिएको सुन्दर देश हो । यहाँको विविधतात्मक संस्कृति, पर्यावरण र हिमशृंखलाले नेपाली पहिचानलाई विश्वसामु परिचित र पुरस्कृत गर्न सफल बनाएको छ । इतिहास, कला, साहित्य, भाषा र जातजातिको सम्मिश्रणबाट निर्मित यहाँको भूगोल सबैका लागि आकर्षणको मुख्य केन्द्रबिन्दु बनेको छ । हिमाल, पहाड, तराई र मधेसको भौगोलिक बनावटले भूगोलको मात्र प्रतिनिधित्व नगरेर जनसांख्यिक बनावटलाई समेत प्रतिनिधित्व गरेको छ । कुनैबेला कृषि, पशुपालन र मझौला व्यवसायमा निहित हाम्रो संकुचित अर्थतन्त्र अहिले आधुनिककरण, वैज्ञानिककरण र व्यावसायिकीकरणतर्फ उन्मुख भएको देखिन्छ । तथापि समस्या, जटिलता र चुनौती नभएको बिल्कुलै होइन बरू यसलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवश्यक देखिन्छ ।
नेपालको पर्यटन विकास समुन्नत नेपालको विकासको मुख्य लक्ष्य हो । यो प्रारम्भिक दृष्टान्तबाट पर्यटन विकासमा हामी तत्परताका साथ अग्रस्थानमा उभिनुको विकल्प छैन । ऐतिहासिक, पुरातात्विक र पौराणिक दस्तावेजहरूले पुष्टि गरेका हाम्रा पर्यटनका क्षेत्र आधारहरूमा हामीले दीर्घकालीन र रणनीतिक योजना निर्माण गरेर अग्रसर भयो भने पर्यटन क्षेत्र हाम्रो आर्थिक उन्नयनको पहिलो उपलब्धि हुन सक्दछ ।
नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले भरिएको देश हो । हिमाल, पहाड, तराईको भौगोलिक र सांस्कृतिक मिश्रणले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना बोकेको छ । लुम्बिनी, पशुपतिनाथ, दरबार स्क्वायर, राष्ट्रिय निकुञ्ज, हिमशृंखला, ट्रेकिङ र साहसिक खेलहरू प्रमुख आकर्षण हुन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुगेका हाम्रा ऐतिहासिक र सांस्कृतिक धरोहरू सांस्कृतिक पर्यटन स्रोतका मुख्य आधार हुन् । जसअन्तर्गत पशुपति क्षेत्र, जानकी मन्दिर, दरबार स्क्वायर, स्वयम्भू, लुम्बिनी आदि-इत्यादि पर्दछन् । राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, भौतिक पूर्वाधार क्षेत्रजस्ता पर्यटन सम्भावना बोकेका क्षेत्रमा उल्लेखनीय सुधार गर्नुपर्ने देखिन्छ । पछिल्लो समय पर्यटन विकासमा नेपालको तिनै तहका सरकारका संरचनाले विशेष महत्वका साथ काम गरिरहेका छन् । रोप वे, राफ्टिङ, बन्जी जम्प, प्याराग्लाइडिङ, माउन्टेनियरिङ, ट्रेकिङ जस्ता पर्यटन विकासका क्षेत्रले पर्यटकलाई आकर्षितमात्र नगरेर मनग्य आयआर्जनको कर्मथलो निर्माण गरेको छ । सुरक्षा, वित्तीय पहुँच र स्वतन्त्रता मुख्यत पर्यटकहरूको चासोको विषय रहेको छ । यसमा आवश्यक स्रोत संशाधनलाई सहज वातावरण निर्माण गर्नुपर्नेछ । यस अर्थमा पनि पर्यटक लाभान्वित हुन सक्छन् ।
काष्ठमण्डप र नेवारी संस्कृतिको ऐतिहासिक महत्व छ । यसै पनि देशको राजधानी काठमाडौं भएकाले नेवारी संस्कृतिको अनुपम आकृतिमा पर्यटकहरू आकर्षित हुने गर्दछन् । ठमेल, दरबारमार्ग, न्यूरोड, हनुमानढोका, सिंहदरबार, रानीपोखरी, सुन्धारा, रत्नपार्क प्रशासनिक सुरक्षा, व्यावसाहिक र सरकारी अड्डा क्षेत्र भएकाले पर्यटक अध्ययन अवलोकनका लागि यस क्षेत्रमा विशेष चासो राख्ने गर्दछन् । भक्तपुर, पाटन र ललितपुर उपत्यका भित्रका पर्यटकीय महत्वपूर्ण गन्तव्य क्षेत्र हुन् । उपत्यकाभन्दा बाहिर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनेकौं हिमशृंखलाहरू, मौसमी र प्राकृतिक विशेषता, जातजाति र भाषिक विशेषताले पर्यटकको जिज्ञासा र मोहलाई आकर्षित तुल्याउने गर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीले हिन्दु बौद्ध संस्कृतिको पर्यटकीय सम्बन्धलाई प्रगाड बनाउँदछ ।
बुद्धस्थल लुम्बिनीको प्रचारात्मक अभियानलाई विशेष जोड दिन आवश्यक देखिन्छ । यसले लाखौं पर्यटकलाई भित्र्याउन मद्धत पुर्याउँदछ । साविकको पश्चिमाञ्चल विकास क्षेत्रको राजधानी कास्कीको आफ्नै महत्व छ । यसलाई पर्यटकीय नगरी भनेर बहस गर्दा फरक पर्दैन । लाखौं पर्यटकहरू पोखरा उपत्यकालाई केन्द्रबिन्दु ठानेर देश विदेशबाट भ्रमण गर्ने गर्दछन् । वैष्णवहरूको मुख्य केन्द्र मुक्तिनाथ भएकाले यसै पोखरा नगरीलाई पछ्याउँदै मुक्तिनाथसम्म पुग्ने गर्दछन् । अहिले मुक्तिनाथ केवलकार निर्माणको अभियानले पर्यटकहरूलाई थप ऊर्जा सिर्जना गर्नेछ । पूर्वका धरान, भेडेटार, इलाम, पाथिभरा पर्यटकका मुख्य गन्तव्य क्षेत्र बनेका छन् । पश्चिममा कर्णाली सभ्यताको चरम विकासको अनुकरणीय विचार पैरवी अभ्यासरत देखिन्छ ।
हुम्ला, सिञ्जा उपत्यका, मुगुको रारा पर्यटकका मुख्य आकर्षणका केन्द्रबिन्दु बनेका छन् । मध्य तराई र तराई गरेर चितवन, जनकपुर, सुर्खेत, मकवानपुर, बारा, पर्सामा धार्मिक सांस्कृतिक र पर्यटकीय गन्तव्य विराट रूपमा फैलिएका छन् । पर्यटकहरूको चाप र वृद्धि विकास निरन्तर रूपमा वृद्धि विकास भइरहेको छ । प्युठान, दाङ, रुकुम, रोल्पा द्वन्द्वकालीन पर्यटकीय क्षेत्र हुन्, यसलाई द्वन्द्वकालीन पर्यटकीय संग्र्रहालय क्षेत्र घोषणा गर्न सकिन्छ । देवदह, भैरवादेखि तिलौराकोटसम्मको सडक सञ्जाललाई आध्यात्मिक पर्यटकीय मार्ग स्थापना गर्न सकिन्छ ।
पर्यटनलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन दीर्घकालीन रणनीति, पूर्वाधार सुधार, सुरक्षा, हस्पिटालिटी क्षेत्रको स्तरवृद्धि र प्रचार-प्रसार आवश्यक छ । इको-टुरिजम, सांस्कृतिक पर्यटन र डिजिटल पर्यटन जस्ता नयाँ अवधारणा लागू गर्नुपर्छ । प्रदेश-प्रदेशमा भ्रमण वर्ष मनाउँदै आन्तरिक र बाहृय पर्यटक भित्र्याउन सकिन्छ । तीनै तहका सरकार, पर्यटन मन्त्रालय र निजी क्षेत्रको सहकार्यले मात्र पर्यटनलाई समृद्ध नेपालको आधार बनाउन सकिन्छ । दृढ संकल्प र योजनाबद्ध कार्यान्वयनले यो क्षेत्र आर्थिक रूपान्तरणको मुख्य स्रोत बन्नसक्छ ।
पर्यटन प्रवद्र्धन र पर्यटन विकासका लागि नयाँ अवधारणा सिर्जना गर्नुपर्दछ । इको टुरिजमको अवधारणा आजको प्रमुख आवश्यकता हो । यसको सम्बद्र्धन र संरक्षणमा विशेष चासो राख्नुपर्दछ । भिजिट नेपालको अवधारणालाई पञ्चवर्षीय योजनाको रूपमा अघि सार्नुपर्दछ । प्रदेश भ्रमणको अवधारणा प्रत्येक वर्ष अलगअलग प्रदेशमा हुनेगरी प्रदेश भ्रमण वर्ष मनाइनुपर्दछ । यसले आन्तरिक र बाहृय पर्यटक भित्र्याउन निकै ठूलो योगदान पुर्याउनेछ ।
देउडा, मारुनी, घाटु, सोरठी, झ्याउरे र लोकभाका हाम्रा कलाकृतिका संस्कृति हुन् । तराई, पहाड र हिमालमा गुञ्जिने स्वर र नृत्यहरूले भाषिक लक्ष्यना र व्यञ्जनाको अद्वितीय तागतलाई प्रतिनिधित्व गर्दछ । यस्ता भाषिक र जातीय संस्कृतिले पर्यटकमा अध्ययन अनुसन्धान गर्ने अवसर जुट्दछ । जसका कारण हाम्रा कला रितिरिवाज र संस्कृतिले विश्व मञ्चमा आफ्नो परिचय स्थापित गर्न सक्दछ । धर्म, संस्कृति र भेषभूषा विविध संस्कृतिबीचको एकताको प्रतीक हो । यसलाई कल्चरल टुरिजमको रूपमा विकास गर्नुपर्दछ । हस्पिटालिटी क्षेत्र टुरिजमको प्रमुख माध्यम हो । चिया पसल, रेष्टुरेन्ट, होटल, होमस्टे हुँदै पाँच तारे होटलसम्मका पर्यटक आश्रयस्थललाई कम्फोर्ट एण्ड सेकुरिटिभ हस्पिटालिटी जोनको रूपमा व्यवस्थित गर्नुपर्दछ । यसले मौलिक, व्यावहारिक र आधुनिकतामा पर्यटकलाई विश्वस्त पार्नेछ । ऐतिहासिक गोरखा दरबार, नारायणहिटी दरबार, रानीमहल, सिमरनगढ क्षेत्र, सिन्धुलीगढी क्षेत्र, जितगढी क्षेत्र जस्ता ऐतिहासिक विरासत र ऐतिहासिक धरोहरहरूलाई डिजिटल प्रविधिको माध्यमबाट डिजिटल टुरिजम अवधारणा विकास गर्नुपर्दछ । वृत्तचित्र, हस्तकला चित्रकला जस्ता आयामबाट पर्यटकलाई ज्ञान प्रदान गर्ने सिर्जनशील अवधारणा विकास गर्नुपर्नेछ ।
उत्तरार्धमा पर्यटन क्षेत्र नै अर्थतन्त्र रूपान्तरणको प्रमुख मियो हो । यसलाई प्रगाढरूपमा बढोत्तरी गर्न तीनै तहका सरकार र संरचनाहरू क्रियाशील रहनुपर्दछ । पर्यटन बोर्ड, पर्यटन विभाग र स्वयं पर्यटन मन्त्रालय पर्यटन विकासका लागि अग्रपंक्तिमा अग्रसर हुनुपर्दछ । प्रकृतिले दिएको यो सुन्दर उपहारलाई सुनमा बदल्न सक्दछौ बस हामीमा दृढ संकल्प र दृढ विश्वास हुन आवश्यक देखिन्छ । पर्यटन विकासका लागि अल्पकालीन र दीर्घकालीन रणनीति र योजना तयार पार्नुपर्दछ । पञ्चवर्षीय योजना र १६औं योजनाले समेट्न नसकेका विषयहरूलाई आकस्मिक योजना तर्जुमा अन्तर्गत पर्यटन नीतिनिर्माण गर्नसके पर्यटन विकासमा एउटा कोशे ढुंगा स्थापित हुन सक्दछ । शुद्धोधन-४, रूपन्देही ।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा