‘कुखुरा काटी भोग दिउँला, मोहोर राखी ढोग दिउँला
कान्छीलाई चाँडै फकाइदेऊ कालिञ्चोकी माई ।’
लोकगायक कुमार बस्नेतले गाएको यो गीतले कालिञ्चोक माई अर्थात् कालिञ्चोक भगवतीको शक्तिको वर्णन गर्छ । कालिञ्चोक भगवती शक्तिशाली भएकै कारण आफूले मन पराएको मान्छेलाई पाउन पनि यो गीतमा कालिञ्चोक भगवतीलाई गुहारिएको छ । दुष्ट दानवहरूको वध गरेर मानव र जगतको रक्षा र कल्याण गर्ने शक्तिशाली महाकाली कालिञ्चोक भगवती साँच्चै शक्तिको एक अद्भूत रूप हुन् । दुष्ट दानवहरूबाट आफ्नो जीवनरक्षाका लागि मानवले महाकालीलाई पुकार गरे जस्तै आशकहरूले पनि आफ्नो प्रियसीलाई पाउनका लागि उनै महाकाली कालिञ्चोक भगवतीलाई गुहार्नु अस्वाभाविक पनि होइन । कालिञ्चोक भगवतीले भक्तहरूको मनोकाङ्क्षा पूरा गर्छिन् भन्ने जनविश्वास निकै बलियो छ ।
नियात्राकार अमरकुमार प्रधानले आफ्नो नियात्रा ‘केवलकारमा कालिञ्चोक यात्रा’ मा उल्लेख गरेअनुसार उनी प्रथमपटक २०१८ सालमा बालवयमै कालिञ्चोक पुगेका थिए । त्यस बेला उनी आफ्ना अभिभावकसँग त्यहाँ पुगेका थिए । अभिभावकसँगै कालिञ्चोक भगवतीलाई बलि दिने उद्देश्यले बोको डोर्याउँदै रमाउँदै कालिञ्चोक गएका थिए ।
उनै कालिञ्चोक भगवतीको दर्शनार्थ पटक-पटक पुगेका स्रष्टा/नियात्राकार अमरकुमार प्रधानले नियात्रासँङ्ग्रह नै तयार पारेका छन् ‘केवलकारमा कालिञ्चोक यात्रा’ शीर्षकमा । यस सङ्ग्रहलाई तन्नेरी प्रकाशन, काठमाडौँले प्रकाशित गरेको छ । दोलखामा जन्मेका स्रष्टा अमरकुमार प्रधानका लागि दोलखास्थित कालिञ्चोक त्यति टाढाको तीर्थ पनि होइन । सायद खेल्दै र कुद्दै पनि पुगिन्थ्यो होला कालिञ्चोक तर जङ्गलको बाटो, भिर, पहरा र उकालोओरालोमा त्यति सजिलै पनि पुगिन्नथ्यो होला । अहिले कालिञ्चोकको फेदैसम्म बसमा र त्यसपछि केवलकारमा चढेर जाँदा पनि सहज अनुभव नहुने कालिञ्चोकसम्म त्यस बेलाको समयमा त्यति सजिलै पुग्न सम्भव थिएन होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।
नियात्राकार अमरकुमार प्रधानले आफ्नो नियात्रा ‘केवलकारमा कालिञ्चोक यात्रा’ मा उल्लेख गरेअनुसार उनी प्रथमपटक २०१८ सालमा बालवयमै कालिञ्चोक पुगेका थिए । त्यसबेला उनी आफ्ना अभिभावकसँग त्यहाँ पुगेका थिए । अभिभावकसँगै कालिञ्चोक भगवतीलाई बलि दिने उद्देश्यले बोको डोर्याउँदै रमाउँदै कालिञ्चोक गएका थिए । त्यतिखेर कालिञ्चोलक भगवतीको फेदमा तीनतले ओडार थियो । त्यही ओडारमा वास बसेका थिए । ओडारमा बस्ने क्रममा आँखामा खरानीको धुलो परेर उनी रातभर सुत्न सकेका थिएनन् । भोलिपल्ट बिहान उनलाई उनका काका अकलबहादुरले बोकेर कालिञ्चोक भगवतीसम्म पुर्याएको नियात्रामा उल्लेख गरेका छन् ।
त्यसपछि २०२५ सालमा विद्यार्थी बेलामा तत्कालीन भीम पब्लिक हाइस्कुलका प्रधानाध्यापक मेघराज कोइराला, सहायक प्रधानाध्यापक रामबहादुर श्रेष्ठ (नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व डा.कविताराम श्रेष्ठ)लगायत अन्य धेरै विद्यार्थी साथीहरूसँग शैक्षिक भ्रमणको रूपमा कालिञ्चोक जाँदा पनि सोही ओडारमा जङ्गली झ्याउको ओछ्यान लगाएर सुतेको उल्लेख गरेका छन् ।
नियात्राकार अमरकुमार प्रधान तेस्रोपटक २०४० सालमा कालिञ्चोकको तीर्थाटनमा गएका थिए । त्यसपटक उनी दोलखाको ऐतिहासिक महत्वको शोध गर्दै गरेका स्नातकोत्तर तहका विद्यार्थी भोला श्रेष्ठ र आफ्नै सहधर्मिणी शशि न्यौपाने प्रधानसँग कालिञ्चोकको तीर्थाटनमा गएका थिए । सोही क्रममा कालिञ्चोकको फेदमा कुरीस्थित सोही प्राकृतिक तीनतले ओडारको तल्लोखण्डमा आगो बालेर वास बसेको र भोलिपल्ट कालिञ्चोक भगवतीको दर्शन गरेको उल्लेख गरेका छन् । कालिञ्चोक भगवतीको दर्शन गरी फर्किने क्रममा कुरी नजिकको भिरालो डाँडामा हिउँ टन्नै भरिएकाले चौपट्टै रमाउँदै हिमचिप्लेटी खेल्न पाउँदाको रमाइलो क्षणको वर्णन गर्दै नोस्टाल्जिक पनि भएका छन् र पाठकलाई पनि कालिञ्चोक यात्रामा जाऊँ जाऊँ लाग्ने उत्सुकता पनि जगाएका छन् ।
नियात्रामा उल्लेख भए अनुसार नियात्राकार अमरकुमार प्रधान चौथो पटक २०४७ साल जेठ १७ गते कालिञ्चोक भगवतीको दर्शन गर्न कालिञ्चोकको शिखरमा पुगेका छन् । अनि कालिञ्चोक भगवतीको दर्शनसँगै गौरीशङ्कर हिमालको सुन्दर दृश्य नियाल्दै रमाएका पनि छन् । त्यतिखेर उनी कालिञ्चोक युवाक्लबका अध्यक्ष थिए । त्यतिखेर क्लबमा कार्यरत संयुक्त राष्ट्रसङ्घका स्वयम् सेवक राफेल ई लाजोरो र श्रीमती लाजोरो क्लबका अन्य सदस्यहरूसँग गएका थिए ।
नियात्राकार प्रधान पाँचौँपटक २०५७ साल वैशाख २७ गते पुराना यादहरू सँगाल्दै चरिकोटबाट कालिञ्चोक प्रस्थान गरेका थिए । त्यतिखेर उनीसहित १७ जनाको जम्बो टोली थियो । सानो बालकदेखि ८० वर्षका वृद्धसम्म टोलीमा थिए । राति कालिञ्चोकको फेदीमा एउटा कुटी जस्तो लज÷होटलमा वास बसे । वैशाख २८ गते बिहानै तामाकोशी र सुनकोशी खोलाको चिसो पानीमा स्नान गरी कालिञ्चोकको एक हजार फिट ठाडो उकालो उक्लिएको नियात्राकार प्रधानले आफ्नो नियात्रामा उल्लेख गरेका छन् । ‘पापीटार’ (पापीहरू चढ्न सक्दैनन् भन्ने भनाइ छ) भन्ने ठाउँमा दुईवटा बाटा आउँछन् । एउटा ठाडो सिँढी उकालो र अर्को तेर्सो घुमाउरो । दुवैतिर भीरबीचको सिँढी उक्लनुको रोमाञ्चकारी क्षणको पनि निकै मीठासपूर्वक वर्णन गरेका छन् ।
कालिञ्चोक भगवतीको शिखरमा सकुशल पुग्दाको आनन्द र रोमाञ्चको वर्णनले पाठक पनि लोभिनेछन् । ३ हजार ८४२ मिटर अर्थात् १२ हजार ६०४ फिटको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको परिवेशबाट उत्तरतिरका तिब्बती क्षेत्रका हिमशृङ्खलाका मनमोहक दृश्य देखिन्छन् । दक्षिणतिर हरिया चउर र डाँडाकाँडाहरू उस्तै मनमोहक देखिन्छन् । पानी नपरेको, बादल अथवा हुस्सु नलागेको र वातावरण सफा भएको बेला यहाँबाट पूर्वतिर रोल्वालिङ हिमशृङ्खला अन्तर्गत गौरीशङ्कर हिमाल मुस्कुराइरहेको देखिन्छ । यतिमात्रै होइन, वातावरण सफा भएको कुनै बेला यहाँबाट काठमाडौँको धरहरा पनि देखिन्थ्यो रे भनेर पनि नियात्राकारले लेखेका छन् ।
नियात्राकार प्रधान छैटौँ पटक २०७० साल चैत २२ गते कालिञ्चोक पुगेका छन् । २०७० साल चैत २० देखि २२ गतेसम्म दोलखामा आयोजित नेपाल बालसाहित्य सम्मेलनका केही सहभागी साथीहरूसँगै उनी कालिञ्चोक पुगेका हुन् । कालिञ्चोक मन्दिरको पश्चिमतिरको बाटोबाट उक्लिँदा भगवतीको साकार मूर्तिको दर्शन हुन्छ । त्यो मूर्ति पूर्वकप्तान गङ्गाबहादुर बस्नेत (लोकगायक कुमार बस्नेतका पिता) ले बनाई कालिञ्चोक युव क्लब र द्वाल्खा गुठीको संयुक्त व्यवस्थापनमा २०६२ सालमा स्थापना गरिएको भनेर नियात्राकारले उल्लेख गरेका छन् ।
नियात्राकार प्रधान २०७५ साल जेठ १९ गते पुनः नेपाल बालसाहित्य समाजका पदाधिकारीहरूसँग सातौँ पटक कालिञ्चोक पुगेका छन् । त्यतिखेर केवलकार निर्माणाधीन अवस्थामा रहेकाले कुरीदेखि माथिको १००० फिट ठाडो उकालो उक्लेर कालिञ्चोक भगवतीको कुण्डको दर्शन गरेर फर्केका छन् । आठौँ पटकको कालिञ्चोक यात्रामा भने नियात्राकार प्रधानले केवलकार चढ्ने अवसर पाए । घरेलु कामको सिलसिलामा दोलखा पुगेका नियात्राकार प्रधान पारिवारिक सदस्यसँगै कालिञ्चोक पुगेका छन् । केबलकार स्टेसनबाट पाँच मिनेटमै माथिल्लो स्टेसनमा पुगेर पश्चिमपट्टिको सिँढी उक्लेर कालिञ्चोक भगवतीको मात्रै दर्शन गरेनन्, पूर्व तथा उत्तरपट्टिको मनमोहक हिमशृङ्खला र दक्षिणपट्टिको शैलुङ डाँडोको मनमोहक सौन्दर्यपान गरेर रमाए पनि ।
नियात्राकार प्रधानले आफ्नो नियात्रामा यात्राको लामो विस्तृत वर्णनसँगै अति आवश्यक सूचनाहरू दिएका छन् । तत्तत् स्थानका आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक सूचना दिनका लागि उनले थप खोजीनीति पनि गरेको महसुस हुन्छ । यद्यपि त्यस्तो सूचना वा जानकारी थोरै र यात्राको वर्णन धेरै छन् ।
यहाँ एउटा कुरा खट्किन्छ । त्यो के हो भने, नियात्राकार प्रधानले कालिञ्चोक यात्राका अघिल्ला नियात्राहरूमा वर्ष, महिना र गतेसमेत उल्लेख गरेका छन् तर आठौँ पटकको कालिञ्चोक यात्रा, जुन यात्रामा उनी केबलकार चढेका छन्, त्यसको मिति भने लेख्न बिर्सेका छन् । आफू चढेको गाडीको नम्बरसमेत उल्लेख गर्न नबिर्सने नियात्राकार प्रधानले पछिल्लो कालिञ्चोक यात्राको मिति उल्लेख गर्न बिर्सनु अनौठो लाग्छ । यद्यपि मङ्सिर १५ गते बिहानै पिकअप गाडीमा कालिञ्चोकतर्फ लागेको र यो नियात्राको प्रकाशनको मिति २०८० साल उल्लेख गरिएकाले केबलकारमा कालिञ्चोक यात्रा २०८० साल मङ्सिर १५ गते गरिएको थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।
‘केबलकारमा कालिञ्चोक यात्रा’ नियात्रासङ्ग्रहमा अरू दुई दर्जनभन्दा बढी नियात्रा पनि सङ्गृहीत छन्, जसमा स्वदेश र विदेशका यात्रा वर्णन छन् । ‘अरब सागर तट अलिबागको घुमाइ’ देखि ‘सुलादेखि १०औँ ज्योतिर्लिङ्गसम्म’ गरी २७ वटा नियात्रा समाविष्ट छन् भने नियात्राकारकी सहधर्मिणी शशि प्रधान लिखित एउटा नियात्रा ‘यो मन त मेरो नेपाली हो’ ले पनि यो नियात्रासङ्ग्रहमा स्थान पाएको छ । मुख्य नियात्रा ‘केबलकारमा कालिञ्चोक यात्रा’ सँगसँगै ‘यात्रा घटालबाबाको प्रसङ्ग भीमसेन र बर्बरिकको’, ‘न गाउँ जस्तो छ न शहर जस्तो’, ‘गोसाइँकुण्डदेखि डिपिटिसिसम्म’, ‘नेपाली गाउँमा जापानी खाना’, ‘महाकालीपारिका दुःखहरू : सन्दर्भ नेपालकै’, ‘बुद्ध नेपालकै हुन्’, ‘फुकादा रिभर पार्क घुमेपछि’, नायग्रा फल्स पुगेर’ आदि नियात्रा रोचक र उल्लेखनीय छन् ।
नियात्राकार प्रधानले आफ्नो नियात्रामा यात्राको लामो विस्तृत वर्णनसँगै अति आवश्यक सूचनाहरू दिएका छन् । तत्तत् स्थानका आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक सूचना दिनका लागि उनले थप खोजीनीति पनि गरेको महसुस हुन्छ । यद्यपि त्यस्तो सूचना वा जानकारी थोरै र यात्राको वर्णन धेरै छन् । नियात्रामा पाठकलाई उत्सुकता जगाउने र पठनमा रोचकता थप्ने तत्वको कमी महसुस हुन्छ । सूचना दिने मोहमा ससाना कुराहरूको पनि फेहरिस्त दिँदा नियात्रा पठन बोझिलो बनेको महसुस हुन्छ । पाठकलाई नियात्राकार सँगसँगै डोर्याउनका लागि आवश्यक नाटकीय वर्णन र दृश्यात्मकताको कमी छ । एकोहोरो र सपाट यात्रावर्णनले गर्दा पठन अलि पट्यारलाग्दो बनेको छ ।
नियात्रामा यात्रावर्णन र सूचनासँगसँगै यात्रा गरिएको स्थानको मुख्य मुख्य विशेषता र त्यहाँको आकर्षणका बारेमा रोमाञ्चक जानकारी पनि आवश्यक हुन्छ, जसको कमी योे नियात्रासङ्ग्रहमा छ । फरक ढङ्गले यात्राको वर्णन गर्ने, समयानुकूल फरक ढङ्गले सूचना संप्रेषण गर्ने र यात्राका अनुभव र अनुभूतिलाई अलि फरक ढङ्गले प्रस्तुत गर्ने कलाको कमीले गर्दा कतिपय सूचनामूलक नियात्रा पनि लम्बेतान वर्णन मात्रै बन्नपुगेका छन् । यसमा सुधार अपेक्षित छ । कमसेकम नियात्राका पाठकले नियात्रा पठनपछि केही हदसम्म स्वयम् आफैँ पुगेको अनुभूति गर्नसक्यो भनेमात्रै नियात्राप्रति लगाव बढ्छ र नियात्रा पनि रुचिकर बन्छ ।







१० खेलाडीमा सीमित सिटीको शानदार
नरमायाको जीवनमा पीडाको पुनरावृत्ति :
हरितालिका पर्व : पशुपति क्षेत्रमा
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
एक सय ८४ हप्तादेखि निरन्तर
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित