‘अक्षरको मन’ गोपी मैनालीको नवीनतम् पुस्तक हो । यो निबन्ध सङ्ग्रह हो । गोपी मैनाली नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ । उहाँ सेवामा छँदैदेखि लेख्दै आउनुभएको हो, पछिल्लो समयमा सेवानिवृत्त जीवनमा उहाँको लेखनको गति अझै तीव्र बनेको देखिन्छ । केही प्रकाशोन्मुख समेत उहाँका पुस्तकहरूको सङ्ख्या डेढ दर्जन जति पुगेको छ । ‘अक्षरको मन’ मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले प्रकाशन गरेको छ । यस पुस्तकको सर्वाधिकार निबन्धकार स्वयम्मा रहेको छ भने यो यस पुस्तकको पहिलो संस्करण हो जो हालैमात्र २०८२ सालमा प्रकाशित भएको छ ।
यी निबन्धहरू जीवन र जगतका विविध पक्षलाई विषय बनाएर लेखिएका छन् । हाम्रो कर्तव्य, जीवनगति, जीवनशैली, प्रेमप्रणय, प्रकृति, रीतिसंस्कृति, संस्कार, आचरण, मानवीयसम्बन्ध, शिक्षा, कर्मचारी प्रशासन, अध्ययनको अपरिहार्यतालगायत विषय समेटिएका छन् । मैनालीका निबन्ध सामान्यभन्दा अलिक माथिल्लोस्तरका छन् । सामान्य पाठकका लागिभन्दा बौद्धिक पाठकका लागि यी निबन्ध पठनीय बन्नसक्छन् ।
डिएमआई साइजको यो पुस्तकको छपाइस्तरीय छ र अशुद्धि त्यति पाइँदैनन् । सूर्योदय छापाखाना हाँडीगाउँ काठमाडौँमा यसको मुद्रण भएको छ । पुस्तकमा भूमिकाखण्डमा १८ र पाठ्य खण्डमा १३२ गरी जम्मा १५० पृष्ठ छन् । पुस्तकको मूल्य ३५० रुपैयाँ छ । यसको ले–आउट दीपेन्द्र बस्नेतको छ । आवरण आकर्षक छ । नीलो पृष्ठभूमिका अमूर्त रूपमा खुला पुस्तक र त्यसबाट फैलिएको ज्ञानको ज्योति देखाइएको छ । माथि पुस्तकको शीर्षक ठूला सेता अक्षरमा दिइएको छ भने तल निबन्धकारको नाम छ । पृष्ठ आवरणमा निबन्धकारको फोटो र उहाँका बारेमा विभिन्न विद्वानले दिएका अभिव्यक्ति उद्धृत गरिएका छन् । तल प्रकाशक संस्थाको लोगो र नाम दिइएको छ ।
भूमिकाखण्डमा ठाकुर शर्मा भण्डारीको ‘अभिव्यञ्जनात्मक दृष्किोणमा ‘अक्षरको मन’ ’ कलानिधि दाहालको ‘प्रकाशकीय’, र लेखक मैनालीको ‘मैले किन लेखेँ ?’ छन् । यस निबन्धसङ्ग्रहमा २२ वटा निबन्धहरू समेटिएका छन् । यी निबन्धहरू जीवन र जगतका विविध पक्षलाई विषय बनाएर लेखिएका छन् । हाम्रो कर्तव्य, जीवनगति, जीवनशैली, प्रेमप्रणय, प्रकृति, रीतिसंस्कृति, संस्कार, आचरण, मानवीय सम्बन्ध, शिक्षा, कर्मचारी प्रशासन, अध्ययनको अपरिहार्यतालगायत विषय समेटिएका छन् । मैनालीका निबन्ध सामान्यभन्दा अलिक माथिल्लोस्तरका छन् । सामान्य पाठकका लागिभन्दा बौद्धिक पाठकका लागि यी निबन्धहरू पठनीय बन्नसक्छन् । यस अर्थमा मैनाली बौद्धिक निबन्धकार हुनुहुन्छ भन्ने देखिन आउँछ ।
आफ्नो सेवानिवृत्त जीवन साहित्यि सिर्जनामा सघन रूपमा लगाइरहनु उहाँको प्रशंसनीय पक्ष हो । यसका लागि नेपाली साहित्य क्षेत्रले उहाँको योगदानको सराहना गर्नैपर्छ । उहाँका निबन्ध छोटो छन् । पढ्न दिग्दारी लाग्ने खालका छैनन् । कौतुहल सिर्जना गर्ने, सूचना वा जानकारी दिने, कुनै विषयको विहङ्गम चर्चा र विवेचना गर्ने, आफ्नो दृष्टिकोण स्पष्ट रूपमा राख्ने उहाँको लेखकीय विशेषता उहाँका यस पुस्तकभित्रका निबन्धहरूमा पनि पाइन्छन् । आफ्नो लेखकीय पहिचान र विशेषतालाई गोपी मैनालीले यस पुस्तकका निबन्धमा प्रस्तुत गर्नुभएको छ ।
पुस्तकको अन्तिममा लेखकको व्यक्तिगत पविवरण दिइएको छ । यसबाट उहाँको व्यक्तित्व र कृतित्वबारेमा थाहा पाउन सकिन्छ । उहाँको पारिवारिक परिचय, प्रकाशित कृति, शैक्षिक योग्यता, प्राप्त मानसम्मान र पुरस्कार, भ्रमण गरेका देशहरू, रुचिको विषय र संलग्न रहेका सङ्घसंस्था दिइएको छ । यसबाट उहाँसम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूका लागि सजिलो बन्न पुगेको छ । पुस्तकका लागि निबन्धकार गोपी मैनालीलाई बधाई तथा पुस्तकको सफलताको कामना । साथै उहाँको लेखन यात्रा सधैँ यसरी नै अगाडि बढिरहोस् उहाँलाई अग्रिम शुभकामना ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच