नेपाली राजनीतिमा मधेसवादी दलको पहिचान बनाएको नेपाल सद्भावना पार्टी कुनै बेला सत्ता राजनीतिमा निर्णायक तहमा थियो । ३६ वर्ष लामो इतिहासमा नेपाल सद्भावना पार्टीले सडक, सदन र सरकारमा समेत आफ्नो प्रभाव छाडेको थियो । समयक्रममा मधेसवादी दलभित्रको विवाद, झगडा र विभाजनको क्रमले नेपाल सद्भावना पार्टी कमजोर बनेको थियो । साझा मधेसी दल बनाउने क्रममा केही समय निष्क्रिय देखिएको नेपाल सद्भावना पार्टी पुनःगठित भएको छ । पूर्वमन्त्री अनिलकुमार झाले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै पुनःगठित नेपाल सद्भावना पार्टीको नेतृत्व लिनुभएको छ । मधेसको राजनीति, राष्ट्रिय राजनीतिमा मधेस केन्द्रित दलहरूको प्रभाव र नेपाल सद्भावना पार्टीको पुनःगठनको राजनीतिक कारणलगायतका विषयमा अध्यक्ष अनिलकुमार झासँग हिमालय टाइम्सका लागि नकुल अर्यालले गर्नुभएको कुराकानी :
३६ वर्ष पुरानो भए पनि पछिल्लो समय दृश्यमा नरहेको नेपाल सद्भावना पार्टी ब्युँताएर पुनः त्यसको नेतृत्वमा फर्कनुभएको छ । नयाँ राजनीतिक अध्याय किन सुरु भयो ?
लोकतान्त्रिक समाजवादी पार्टी हामीले नै बनाएका थियौं । लोकतान्त्रिक समाजवादी पार्टीभन्दा पहिले जनता समाजवादी पार्टी थियो । त्योभन्दा पहिले राष्ट्रिय जनता पार्टी थियो । त्यसभन्दा पहिले म नेपाल सद्भावना पार्टीकै अध्यक्ष थिएँ । नेपाल सद्भावना पार्टीको नेतृत्वमा रहँदै मधेसको बृहत्तर हितका लागि हामीले ६ वटा पार्टी मिलाएर राष्ट्रिय जनता पार्टी बनाएका थियौैं । त्यसमा समाजवाद पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टी बनायौं । त्यो केही समयमा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बन्यो र म त्यसमा लागँे । लोसपामा केही सक्रिय रहृयौं । तर मधेस, मधेसी र मधेसवादको मुद्दालाई, संघीयता र समावेशीकरणलाई, यो देशका शोषित पीडितहरूलाई अधिकारसम्पन्न गराउनका लागि नेपाल सद्भावना पार्टीबाहेक अर्को विकल्प हुन सक्दैन भन्ने महसुस भयो । यही समीक्षाका कारण म पुनः नेपाल सद्भावना पार्टीमै फर्र्किएँ । अहिले यसै पनि मधेसी नेताहरू मातृ पार्टीमा फर्कने क्रम चलिरहेको छ । मेरो मातृ पार्टी नेपाल सद्भावना पार्टी नै हो । सद्भावना नेपालको सबैभन्दा पुरानो मधेसवादी पार्टी पनि हो । यही कारण म सद्भावनामै रहेर मधेस प्रदेश र समाजलाई हित हुने गरी काम गर्न सक्छु भन्ने लागेर सद्भावनाकै अभियानलाई अगाडि बढाउने तयारीमा पुगेको हुँ ।
मधेसको एजेण्डा अझै अधुरो छ ।
नेपाल सद्भावना पार्टीमात्रै मधेसवादी हो ।
संघीयता, गणतन्त्र, समावेशिता मधेसकै एजेण्डा हो ।
मधेसीसँग अझै पनि प्रहरीले दुव्र्यवहार गरिरहेको छ ।
मधेसमा सक्रिय दलहरूले धेरैखाले प्रयोग गर्नुभयो । एकता गर्दा त तपाईंहरू कमजोर हुनुभयो भने अब झन् टुक्रिने क्रमले मधेसको एजेण्डालाई सफल बनाउँछ त ?
एकता भएर हाम्रा एजेण्डा पूरा गराउने प्रयास गरेका हौं । एकता त भयो तर एकता कायम रहन सकेन । एजेण्डाका कारण एकता नभएको त होइन तर जुनसुकै कारणले एकता कायम भएन । एकता नभएपछि हामी सबै एक ठाउँमा बस्ने कुरै भएन । एउटा प्रयास असफल भयो । एउटा प्रयास असफल हुँदैमा अरू प्रयास गर्न नहुने भन्ने त होइन । प्रयासहरू त जीवन पर्यन्त भइरहन्छ । बिहानको खानामा नुन अलिकति बढी पर्यो भनेर बेलुका खाना नखाने भन्ने त भएन । अलिकति नुन कम गरेर पकाउनुप¥यो । एउटा अभ्यास हामीले गरेकै हो । प्रयास असफल भएकाले अब आफ्नै ठाउँमा पुगेर काम गर्न खोजेका हौं ।
मधेस केन्द्रित दलहरूबीच अब संगठित र एकताबद्ध प्रयत्नको सम्भावना सकिएको हो ?
नेपाल सद्भावना पार्टी मधेस केन्द्रित पार्टी होइन । यो मधेसवादी पार्टी हो । तपाईंले भनेको मधेस केन्द्रित पार्टी कुन हो मलाई थाहा भएन । हामी मधेसवादी पार्टी हौं । यसले मधेसका एजेण्डाहरूलाई प्रमुखताका साथ उठाउनेछ । मधेसको राजनीतिमा फेरि पनि के-कति योगदान गर्न सक्छौं भनेर हामीले पुनः प्रयास गरेका छौं । हामी आफ्नो ठाउँबाट काम गर्छौं, अहिले अरूको जिम्मा लिँदैनौं ।
नेपाल सद्भावना पार्टीको ब्राण्डले तपाईंहरूको मात्रै ब्राण्डिङ हुन्छ कि मधेसीको एजेण्डा पनि रिब्राण्डिङ हुन्छ ?
हामीले आफ्नो ठाउँबाट प्रयास गर्छौं । मधेसको जति पनि समस्या छ त्यसको समाधान नै हाम्रो मुख्य मुद्दा हो । हामीले मधेसको हित प्रवद्र्धन गर्न हालसम्म भएका प्रयासहरूमा पनि योगदान गरेकै हो । अब पनि मधेसलाई राजनीतिको मात्रै होइन सामाजिक, आर्थिक विकासको केन्द्र बनाउन नेपाल सद्भावना पार्टीबाट योगदान गर्छौं । यसरी काम गर्दा सबैको साथ सहयोग र समर्थन हासिल हुने हाम्रो विश्वास छ । त्यस्तो साथले मधेसको रिब्राण्डिङलाई मद्दत गर्छ ।
नेपाल सद्भावना पार्टीको पुनःगठन गरेर अहिले तपाईंहरूले अगाडि सारेको मुख्य एजेण्डा के हो ?
केही स्थायी एजेण्डाहरू छन् । लोकतन्त्र, संघीयता, समावेशिता र मधेसवादलाई हामीले निरन्तर अगाडि बढाउँछौं । राजनीतिक एजेण्डाहरू त हामीले अगाडि बढाउँछौं त्यसबाहेक तत्कालका विषयहरू पनि हामी बोक्छौं । अहिले मधेसमा खानेपानी, सिँचाइको समस्या निकै गम्भीर बनेको छ । भूमिगत जलको अभाव छ । चार सय फिट खन्दा पनि पानी नपाउने समस्या मधेसमा छ । वैदेशिक रोजगारीले रेमिट्यान्स दिए पनि त्यसका साइड इफेक्टको प्रभाव मधेसमा छ । मधेसमा प्रहरी प्रशासनको बर्बर दम छ । युद्धको अवस्थामा जस्तो मधेसमा हरेक किलोमिटरमा प्रहरीको उपस्थिति छ । उनीहरूले जनतालाई भेडाबाख्रालाई जस्तो व्यवहार गरेका छन् । त्यसलाई समाधान गर्नु छ । राज्यले किसानलाई मल दिन सक्दैन अनि जनताले ल्याएको एक बोरा मल पनि प्रहरी लगाएर खोस्छ । यी एजेण्डाहरू पनि अगाडि बढाउँछौं । मधेस आन्दोलनका शहीदप्रति राज्यको रवैया ठीक छैन । शहीद परिवारमाथि अन्याय भइरहेको छ । नेपालको संविधानको विषय पनि छ । संविधानलाई हामीले स्वीकार गरेका थिएनौं । त्यसमा सुधारको कुरा पनि छ । यिनै एजेण्डाहरूमा नेपाल सद्भावना पार्टी अगाडि बढ्छ । अहिले भर्खर पुनःगठन भएर आएका छौं । पार्टीभित्र पर्याप्त छलफल र बहस गरेर अन्य विषयहरूमा पनि अगाडि बढ्छौं ।
सरकारले नै संविधान संशोधन गर्छौं भनेको बेलामा सरकारसँग संविधान सुधारबारे यहाँको सहकार्य कस्तो हुन्छ ?
हाम्रो पार्टी अपडेट भएको केही दिनमात्रै भयो । संविधानजस्तो महत्वपूर्ण विषयमा सामान्य तयारीले भएन । यद्यपि यसबारे हामी पर्याप्त छलफल, परामर्श गर्छौं । पार्टीका सबै तहलाई सक्रिय गराएर सल्लाह सुझाव लिन्छौं । त्यसपछि संविधान संशोधनबारे पनि हाम्रा धारणा अगाडि ल्याउँछौं ।
संविधानमा हाम्रा असन्तुष्टि छन्, सम्बोधनका लागि संघर्ष गर्छौं ।
मधेसको अर्गानिक पार्टी नेपाल सद्भावना पार्टी हो ।
अब मधेसको नेतृत्व अर्गानिक मधेसवादीले गर्नुपर्छ ।
नेपाल सद्भावना पार्टीको विरासत फर्काउने धरातलीय अवस्था मधेसमा छ कि छैन केही तयारी गर्नुभएको छ ?
सबै तयारी गरेर थालेको काम होइन । अब काम सुरु गर्ने हो । मधेसमा हामी कति छौं, कसरी अगाडि बढ्छौं भन्ने राजनीतिक आँकलन त छ । तर, संगठनका कामहरू अझ अगाडि बढाउनुपर्नेछ । राम्रो हुन्छ भन्ने अपेक्षा छ । अहिले नै सबै कुरा भन्दा अलि छिटो हुन्छ । केही समय लिएर काम गर्छौं ।
मधेसको नाममा पार्टी र नेता बन्ने तर मधेस नबन्ने क्रम निरन्तर भयो भनिन्छ । मधेसका एजेण्डा किन पूरा हुन सकेनन् त ?
मधेसका कुनै पनि एजेण्डा पूरा भएनन् भन्ने त होइन । राजनीतिक, सैद्धान्तिक रूपमा त मुलुकले स्वीकार गरेको छ । गणतन्त्र मधेसकै एजेण्डा हो, संघीयता मधेसकै एजेण्डा हो, समावेशिता मधेसकै एजेण्डा हो । यी कुराहरू स्थापित भएकै हुन् । हामीले भनेजस्तो संघीयता, हामीले भनेजस्तो समावेशिता भएको छैन । केही काम भयो तर केही काम भएन । जे काम भएको छैन त्यसका लागि त फेरि पनि संघर्ष गर्नुपर्छ । सैद्धान्तिक रूपमा स्वीकार गरिएका एजेण्डा पनि व्यवहारमा पूर्ण लागू भएका छैनन् । त्यसलाई निष्कर्षमा पुर्याउने काम जे-जति कारणले बाँकी रहेको भए पनि त्यसलाई अब पूर्णता दिनुपर्छ ।
मधेसमा पनि धेरै नयाँ शक्तिहरू आइसकेका छन् । तपाईंले भनेका कामहरू गर्न मधेसको ग्राउण्ड त अब अलि अप्ठ्यारो भयो होला है ?
सजिलो केही पनि छैन । हिजो पनि हामीले सुरु गर्दा सजिलो थिएन । समस्याका बाबजुद हामीले हाम्रा एजेण्डा स्थापित गराउने हो । म २० वर्षको उमेरमा हुँदा सद्भावनाको अभियानमा लागेको हुँ । यो ३६ वर्षमा हामीले धेरै कुरा त परिवर्तन गरेका छौं नि । गणतन्त्र आयो, संघीयता आयो, समावेशिता आयो । सबै कुरा हामीले भनेजस्तो भएन होला तर हिजोभन्दा कही उपलब्धि गराएकै छौं । बाँकी परिवर्तन पनि गराइन्छ । मेरो समेत योगदानले यी उपलब्धि आएका हुन् । अब बाँकी जीवन पनि यसैमा लाग्ने हो । बाँकी रहेका काम हाम्रै जीवनकालमा हाम्रै प्रयासमा गर्छौं ।
मधेसमा धेरै दल, धेरै विचार भएकाले मधेसको एजेण्डा गिजोलियो भनिन्छ नि ?
मेरो एउटा साथीको भनाइ छ कि अर्गानिक मधेसवाद । जो अर्गानिक मधेसवादी हुन्, उनीहरू कमजोर हुँदा मधेसको एजेण्डा पूरा सफल हुन नसकेको हो । मधेसको मुख्य एजेण्डा नबुझेकाहरू, कांग्रेस-एमालेको राजनीति सकेर आएकाहरूको हातमा मधेसको राजनीति गएको कारणले यस्तो भएको हो । मधेसवादलाई जसले सुरुदेखि उठान गर्यो, उनीहरू कमजोर हुँदा यस्तो भयो । कुनै बेला उपेन्द्र यादवसँग वार्ता गर्न महन्थ ठाकुर सरकारी कांग्रेसको प्रतिनिधि हुनुहुन्थ्यो । यो उदाहरण हो । अंग्रेजको प्रतिनिधि त कहिल्यै गान्धी हुनुभएन । हामीकहाँ त अंग्रेजको प्रतिनिधि नै गान्धी बन्ने अवस्था रहृयो । यो यथार्थ बुझेर मधेसका जनताले महसुस गर्नुभयो भने छिट्टै हामी निष्कर्षमा पुग्छौं । नेपालमा मधेसवादी पार्टी नेपाल सद्भावना पार्टीमात्रै हो । मधेसी समुदायको मान्छे अध्यक्ष भएको पार्टी अरू पनि होला । तर, उनीहरू आफूलाई मधेसवादी भन्दैनन् । त्यसैले अब मधेसको नेतृत्व अर्गानिक मधेसवादीले गर्छ ।







स्कूल पढने वेलामा कहिलेकाहिँ बुढा पाकाहरु भन्ने गर्थे की भारतको बङ्गाल प्रान्तमे केही स्थानमा यस्ता जादुगरनिहरु बस्छन जसले बाहिर का पुरुषहरु लाई सुगा , बिरालो , कुकुर वा अन्य जनावर बनाएर राख्छन र राति त्यसलाई मान्छे बनाइ दिन्छन l, कुरामा कति सच्चाई थियो त्यो अहिले पनि थाहा छैन तर देशको शक्ति केन्द्र काठमाण्डौ हो त्यो कुरा मलाई थाहा छ l शक्ति केन्द्र भएर नै दलका नेताहरुलाई खासगरी मेधेसी नेतृत्वलाई त झन मुर्गा बनाएर राख्छन l दाना फ्याल्दै मुर्गा बनाउँदै दल नै चिरा चिरा पारेर छोड्छन त्यसैले जब नेताको त्यो हाल छ भने उनका जिल्लामा बस्ने समर्थकको के हाल गर्छन त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ l यसबारे केन्द्रिय नेता पूर्ण रुपेण अनभिज्ञ रहन्छन l
आज मधेसी दल मात्र होइन मधेसको दुर्गतिमा मधेसी नेतृत्व कै लापरवाही हो l