शायद यो प्रश्नको उत्तर कसैसँग पनि छैन होला, सबैले आआफ्नो तर्क चाहिँ देलान् । २००७ सालदेखि जनताले परिवर्तनका लागि लडे र आजको समयसम्म आउँदा जनताले पाए के त भन्ने प्रश्न उब्जिन्छ । राणा देश विकासका लागि बाधक भए भनियो । देशमा राणाहरूले १०४ वर्ष शासन गरे । जनताको क्रान्तिबाट राणा साशनको अन्त्य भयो र त्यसपछि प्रजातन्त्र आयो । त्यसपछि पञ्चायत व्यवस्था आयो र राजाको प्रत्यक्ष्य शासन प्रणाली सुरु भयो । राजाका आसेपासेको मनोमानी चल्यो । जनता निरिह नै रहे । हिजो राणाले शासन गरे । त्यसपछि राजाले शासन गरे । जनताको जीवनस्तरमा केही परिवर्तन आउन सकेन । पञ्चायत देश विकासको बाधक भयो भनेर प्रजातन्त्र ल्याइयो तर प्रजातन्त्रमा पनि उही अवस्था देखियो ।
जनताले हरेक परिवर्तनमा नेतालाई साथ दिए तर नेताले जनतालाई सधैं धोका दिए । हिजो राणा शासन र पञ्चायतमा नभएको ज्यादती विकृति र विसंगति अहिले मौलाएको छ । संवैधानिक निकाय नेताको भागबण्डामा चल्छन् । नेताले रुचाएको चाहेकोबाहेक योग्य व्यक्तिले अवसर पाउँदैन ।
हिजो राजाको पालामा रजाइँ गर्न नपाएका व्यक्तिहरू नै अग्रसर भए । उनीहरूकै हातमा शासन सत्ता गयो । उनीहरूकै हालीमुहाली भयो । हिजो राजाका मान्छेले रजाइँ गरेका थिए प्रजातन्त्र आएपछि नेताको मान्छेको हालीमुहाली चल्यो जनता निरिह नै भए फरक केही भएन । व्यवस्थाको नाममात्र फरक भयो । प्रजातन्त्रले जनताको इच्छा आकांक्षा पूरा गर्न सकेन र देशमा गणतन्त्र ल्याइयो भने सबै जनताका इच्छा आकांक्षा पूरा गर्न सकिन्छ, देश विकासमा राजाले बाधाअड्चन गरे उनको त्यो निरंकुशता हटाउनुपर्छ भनेर माओवादीले सशस्त्र विद्रोह ग¥यो । १० वर्षे सशस्त्र युद्धमा अर्बांैको भौतिक संरचना ध्वस्त भयो, १७ हजार व्यक्तिले ज्यान गुमाए, कतिको अंगभंग भयो ।
अन्तिममा माओवादी शान्ति प्र्रक्रियामा आयो । उसको उद्देश्य सत्तामा पुग्नु रहेछ ऊ सफल भयो जनता निरिहको निरिह नै रहे । अहिलो देशमा लोकतान्त्रिक गणतन्त्र आएको लगभग बीस वर्ष पुग्न लाग्यो । हिजो र आजमा फरक के भयो ? खाने मुख फेरिए शासनसत्ता चलाउने हातहरू फेरिए तर जनताको जीवनस्तर झन खस्किँदो भयो । प्रजातन्त्र आएदेखि लोकतान्त्रिक गणतन्त्र आउँदासम्म जो सत्ताको चास्नीमा डुबेर बसेका छन् उनीहरूलाई जनताको प्रश्न यो छ कि अब देश विकासमा बाधा केले गर्यो ? वर्तमान सत्तामा हालीमुहाली गरिरहेका नेताहरूले यसको उत्तर दिनुपर्ने हुन्छ ।
जनताले हरेक परिवर्तनमा नेतालाई साथ दिए तर नेताले जनतालाई सधैं धोका दिए । हिजो राणा शासन र पञ्चायतमा नभएको ज्यादती विकृति र विसंगति अहिले मौलाएको छ । संवैधानिक निकाय नेताको भागबण्डामा चल्छन् । नेताले रुचाएको चाहेकोबाहेक योग्य व्यक्तिले अवसर पाउँदैन । हिजो राजा महाराजाको चाकडी गर्न उच्च पदमा पुक्थे अहिले नेताको चाकडी गर्नुपर्छ । हिजो र आजमा फरक के भयो ? संसद्मा सांसदले बोलेको सुनिँदैन भने जनताले बाटोमा बोलेको राज्यले कसरी सुन्ला ? जनता भनेको भोट हाल्ने मेसिनबाहेक केही भएनन् । जनताले नेता बनाए तिनै नेताले जनता चिनेनन् । सत्तामा छँदा जनता नचिन्ने नेता सत्ताबाहिर आउने बित्तिक्कै जनता देख्न थाल्छ । सत्तामा छँदा जनताको समस्या नदेख्ने नेता सत्ताबाहिर आउने बित्तिक्कै समस्यै समस्या देख्न थाल्छ ।
सत्तामा पुग्नका लागि जे गर्न पनि तयार नेताहरूले जनताका समस्या बुझ्न सकेनन् भने जनताको समस्या कसले हल गर्ला ? पार्टीको सिद्धान्त र मान्यताविपरीत सत्ताकै लागि कांग्रेस र कम्युनिष्ट एक भएका छन् । न विचारमा मेल खान्छ न सोच मिल्छमात्र सत्ताका लागि एक भएका छन् । यसले राजनीतिक निकास के देला ? भन्नलाई भन्ने गरिन्छ संसारमा सबभन्दा राम्रो व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो तर यो भनाइमा मात्र सीमित भएको छ । गणतन्त्रको विकल्प छैन भनिरहँदा जनतामा आएको यो नैरास्य कसले हल गर्ला ? हजुरबाले भोट हालेर प्रधानमन्त्री बनाएको व्यक्तिलाई आज नाति पुस्ताले भोट हालेर पुनः प्रधानमन्त्री बनाउनुपर्ने बाध्यताको अन्त्य कहिले होला ?
नयाँ सोच नयाँ विचारले कहिले स्थान पाउँला ? जनतामा चेतना कहिले आउला ? हिजो राजा-महाराजले जनतालाई दास बनाएका थिए अहिले नेताले दास बनाएका छन् । जनताले शिर उठाएर बोल्न र स्वतन्त्र भएर लेख्न कहिले पाउने होला ? वाकस्वतन्त्रता भनिन्छ नेताले गरेको गलत विषयमा बोल्न प्रतिबन्ध लगाइन्छ । बोल्यो भने मानहानीको मुद्दा खेप्नुपर्छ । यही हो स्वतन्त्रता भनेकोे ? अहिले नेपालमा नयाँ दलको उदय भएको छ । स्वतन्त्र व्यक्तिहरू देखिएका छन् । के तिनले जनभावना बुझ्न सक्लान् ? कतै नयाँ बोतलमा पुरानै रक्सी त होइन ? हेरौं समयले देखाउनेछ । एमाले कांग्रेसमा माओवादी अन्य दलमा स्थान नपाएका व्यक्तिहरू जो अवसरका लागि राजनीति गरेका थिए त्यो अवसर नपाएका व्यक्तिहरूको हालिमुहाली देख्दा नया“ दलले पनि खासै परिवर्तन गर्ला भन्ने लाग्दैन ।
२०७९ को निर्वाचनमा उदय भएको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले वैकल्पिक पार्टीका रूपमा हेरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी जसको लहर अहिले बढेको छ त्यसको उद्देश्य प्रष्ट छैन । पार्टी सभापति अनेक मुद्दामामिलामा फसेका छन् । उनी दोषी होलान् वा निर्दोष होलान् त्यो निर्णय भोलि अदालतले गर्ला त्यसको पछाडि नलागौं । रास्वपाको प्रष्ट भिजन नहुँदा जनताले आँखा चिम्लेर विश्वास गर्ने आधार देखिँदैन । दोहोर चरित्रले नेताको भलो गर्ला जनताको गर्दैन । स्वर्णीम वाग्ले डिपी अर्याल जस्ता महत्वाकांक्षी व्यक्तिहरूको हालिमुहाली भएको पार्टीले खासै जनभावना बुझ्न सक्ला भन्ने लाग्दैन । केही आसलाग्दा नयाँ सोच विचार भएका युवाहरू देखिएका छन् ।
स्वतन्त्र व्यक्तिले निर्वाचन जित्नुभनेको जनतामा दलहरूप्रतिको वितृष्णा हो । दलका नेताहरूले यसलाई सामान्य मानेका छन् यो सामान्य भने होइन । आगोको झिल्को सानोले सारा वन सखाप पार्छ । भोलि यही अवस्था दलहरूको रहने हो भने जनताले विकल्प अवश्य खोज्नेछन् ।
तिनको आवाज पार्टी नेतृत्वले स्वीकार गर्न सक्ला भन्ने लाग्दैन । अवसरको खोजीमा जानेले देशको हित कसरी गर्ला ? राजनीति भनेको सेवा हो व्यापार होइन भन्ने नेतामा स्पष्ट छैन । राजनीति कमाउने थलो हो भन्ने सोेच नेतामा देखिन्छ जसका कारण सधैं सत्ता र पावर चाहिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, धरान उपमहानगरपालिकाका हर्क साम्पाङ तथा धनगडीका गोपी हमाल जस्ता स्वतन्त्र व्यक्तिले निर्वाचन जित्नुभनेको जनतामा दलहरूप्रतिको वितृष्णा हो । दलका नेताहरूले यसलाई सामान्य मानेका छन् यो सामान्य भने होइन । आगोको झिल्को सानोले सारा वन सखाप पार्छ । भोलि यही अवस्था दलहरूको रहने हो भने जनताले विकल्प अवस्य खोज्नेछन् ।
यसलाई कसैले मानोस् या नमानोस् जनता सधैं रैती भएर बस्दैनन् । देशमा परिवर्तन नेताका लागि आयो नेताका आसेपासे हुक्के बैठकेका लागि आयो जनताका लागि आएन । अब जनताले २०८४ को निर्वाचनमा सोच्नुपर्छ साँचिक्कै परिवर्तन चाहने हो भने नत्र यिनका दास भएर नै बस्ने हो । मेरो फलानो रिसाउँछ भनेर सोच्ने बेला गयो अब जागरुक बन्ने बेला आएको छ । पैसा मासुभात रक्सीमा भोट हाल्ने होइन सोचविचार गरेर हाल्नुपर्छ । हिजो सोचविचार गर्न नसक्दा आज पछुताउन परेको छ अब पनि नसोच्ने हो भने जीवनभर पछुताउनु बाहेक केही रहँदैन । भोलि आउने सन्ततीले हामीलाई सराप्नेछन् । नेतालाई अन्ध समर्थन र विश्वास होइन खबरदारी गर्ने बेला आएको छ ।
हामीले के पायौं भनेर प्रश्न गर्ने बेला आएको छ । कृषिप्रधान देश भन्ने गरिन्छ, जलस्रोतको दोस्रो धनी देश भनिन्छ तर किसानले मल पाउँदैनन्, पिउने पानी पाउँदैनन् । यही हो नेताले तीन दशकमा जनतालाई दिएको उपहार ? नेता मोटाउने जनता दुब्लाउने कहिलेसम्म ? जनताले कर तिर्ने नेताले त्यही करमा मोजमस्ती गर्ने कहिलेसम्म ? नेताले गरेकोे विकृति विसंगति कहिलेसम्म टुलुटुलु हेरेर बस्ने ?
जनता सिटामोल खान नपाएर मर्छन् नेतालाई रुघा लाग्यो भने सरकारी खर्चमा उपचार गर्न विदेश जान्छन् । यही हो हामीले ल्याएको परिवर्तनको उपलब्धि ? अब उठौं, जागौं, सोचौं, विचार गरौं अनिमात्र देशमा परिवर्तन आउँछ होइन भने हिजो राजा महाराजाले जनतालाई दास बनाएका थिए अहिले नेताले बनाउँछन् फरक केही छैन । जबसम्म जनतामा चेतना आउँदैन तबसम्म देशमा परिवर्तन आउँदैन यसलाई मनन गर्नुपर्ने बेला आएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…