माटाका भाँडालाई काठको मुङ्ग्रो
निर्माणाधीन व्यक्तित्वलाई कठोर अनुशासनको आवश्यकता पर्दोरहेछ । यो उखान पहिलो पटक पढ्न बस् भनेर बाले मलाई पढ्न लाउँदा आमाले बालखै छ बिस्तारै पढिहाल्छ नि भनेर मेरा पक्षमा बोल्दा अब बेला भयो-‘सिङजुरो उम्रन्छ न पुच्छर पलाउँछ’ तेरा छोराको भनेर मसँगै आमाको पनि सातो बोलाउनुभएको थियो । आज मैले २०४८ सालदेखिका नेपाली राजनीतिका प्राप्ति अप्राप्तिका केही घटना र आजको प्रजातन्त्र, नेपाली जनता, शासकीय अवस्था र प्रवृत्तिको लेखाजोखा गर्दा मैले मेरा आरम्भिक दिनका अप्ठ्यारा दिनलाई सम्झन पुगेँ । त्यस बेला मेरा घरमा आर्थिक सामाजिक कुनै पनि दृष्टिले दुःखका दिन थिएनन्/रहेनछन् । पढ्नु परेकाले मलाई दुःख लागेको रहेछ ।
बरालिने इत्तरिने र घाँसदाउरामात्र गरेर दिन बिताउने मनसायलाई बन्देज लागेको रहेछ । जुन मलाई सजिलो लागेको थियो त्यो मानव बन्ने शैली होइन रहेछ । अहिले पनि म मानव बनेँ या बनिन भन्न सक्दिन जुन कुरो आज म बुझ्दैछु । अस्ति यो देशका प्रधानमन्त्रीले संसद्मा विभिन्न कुराको जवाफ दिए । उनले सवा घण्टा लाएर बाटेका थुकका डोरीको लम्बाइ र मोटाइ नाप्नजस्तै गरी कान च्याती-च्याती सुनेँ । कहिले मेरा कान बिजाए भने कमै क्षणमात्र संसद् त्यसको रोस्टम र प्रधानमन्त्रीको मर्यादानुकूलका शब्द मेरा कर्णकुहरमा प्रवेश भइरहेका थिए । यति अमर्यादित र छिचरो पनि देशको प्रधानमन्त्री हुँदारहेछन् भन्ने पनि मनमा लागेको थियो ।
नेपाली राजनीतिका वनमा पसेका अनेकौं जातका बाघहरूले यो देशका गाई जस्ता साधुजनको निर्मूलीकरण नगरी छाड्लान् जस्तो लाग्दैन । कोही संसद्मा माइक र कुर्सी भाँच्ने, कोही बजेटको बृफकेस लुट्ने, कोही शरीरका सबै कपडा खोलेर देहदर्शन गराउने, कोही संसद्मा उठेर बोल्ने समय पाउँदा पनि नबोलीकन उभिने ।
अमेरिका ठगेर फर्केका एकजानाले मकै पोलेर बेच्ने, भारी बोकेर पाएको ज्यालाबाट बँचाएर जम्मा गरेको रकम खाएर नेपाली जनतालाई वानर गोठाला बनाउनलाग्दा पनि त्यसैका पछि जाने भेडे चरित्रका नेपाली जनताको त नेता तित्राको मुखै बैरी । ढुंगो छोए सुन होओस् भनेर देउसेले दिएको आशीर्वाद यो देशका केही राजनीतिकर्मीलाई सोरै आना लागेको भेटिन्छ भने देशलाई चाहिँ ‘छोरानाति पनि देशैभरि हऊन् बुहारी राँणी रहून्’ भन्ने आशीर्वाद लागेको पनि देखेँ । देश आपत्-विपत्का शृंखला बोक्दै घस्रने देश चलाउन राजनीतिमा प्रवेश गरेका चाहिँ एक निर्वाचन अवधि नबिताउँदै अकुत धनपति हुने ।
कोही जीवनभरि राम्रा पदमा बस्दा पनि घर बनाउन नसक्ने कोही कसैका सहयोगीमात्रै भएर दुईचार अवधि रहँदा देशका प्रमुख शहरमा दुईचारवटा चारपाँचतले घरपति बन्ने गरेका आमदृश्यावली हेर्दा साँच्चै ‘अन्धेर नगरी चौपट राजा, टकासेर भाजी टकासेर खाजा’ भनेको देश यही नै रहेछ जहाँ प्रधानमन्त्री आठ कक्षा फेल छन् र ज्यानमारा सजाय भोगेर आएर पनि देशको नेता कहलाएका छन् । हीरा र कीराको एकै तह हुने देश रहेछ । बार वर्ष विषय पढेर २५ वर्षमा हजार जानाको मुटुको शल्यक्रिया गरेका डा.रामेश कोइरालालाई देश छाड्न बाध्य पार्यो यही सरकारले ।
यिनै नायकले गरेको महान् काम हो यो । न्युजिल्याण्डको सिको गर्दै प्रधानमन्त्रीले मन्त्रिमण्डलका सदस्यसँग करारपत्र बनाउने सिको त गरे तर परिणाम ? श्रव्यदृश्यमा देहदर्शन, हात लाग्यो शून्य । न अनुगमन न मूल्यांकन न दण्ड न सजाय, जोकर्याइँबाहेक के हो त ? यातायात व्यवस्था कि के मन्त्री छन् नि दाहाल थरका ती ठ्याक्क प्रधानमन्त्रीका फोटोकपी धाक, छल, गफ, भाषण, दम्भ प्रदर्शन वाह रे मेरो देश !!!
अल्पज्ञान भयङ्करी
देशमा पढेका राम्रा मान्छे छैनन् भन्ने पनि होइन तर राजनीतिलाई यति घिनलाग्दो बनाए कि अब चरित्र, नैतिकता, विचार, निष्ठा भएका देशका नागरिक यस क्षेत्रतिर आँखा फर्काएर हेर्नमात्र पनि तयार देखिन छाडेका छन् । एउटा उखानले भन्छ कुभिण्डो जति छिप्पिन्छ त्यति नै फुस्रन्छ । सुँगुर जति मोटायो त्यति पिँध चाउरियो भन्ने पनि उही अर्थको उखान छ । यी दुवै उखान यो देशका उच्च ओहदाका प्रधानमन्त्री, मन्त्री, सांसद र सचिवलगायत् आवधिक नियुक्ति लिएर बडाहाकिम बनेका मान्छेको चरित्रमा आधृत जस्तै रहेछन् । उपर्युक्त दुवै उखान शाश्वत् अनुभवमा आधृत रहेका रहेछन् भन्ने कुरो आजका यो देशका नायकका आचरणमा ठ्याक्क मिल्दो भएकाले नै पुष्टि गरेको छ । ज्ञान कि पढेर कि अनुभव गरेर, कि भुक्तमान खेपेर आएको देखिन्छ ।
केहीबाहेक पशुलाई तालिम, शिक्षा आदिले पनि सक्षम बनाउन सकिँदैन । मान्छे चाहिँ धेरैजसो सप्रन्छन् तर देशमा पटक-पटक सांसद, मन्त्री, प्रधानमन्त्री भएका यो देशका केही मान्छे भने अनुभव र ठक्करबाट पनि सप्रेनन् । ठक्करमाथि ठक्कर खाएर पनि पहिलेकै प्रवृत्तिमा रहेका देखिन्छन् । कलिंघनको रक्तरञ्जित युद्धको विभीषिकापछि अशोकबद्र्धन हिंसा, हत्या, षड्यन्त्र जस्ता राजनीतिका छवटै गुणबाट पनि वाक्किएर बुद्धधर्म ग्रहण गर्न पुगेका थिए । हाम्रा नायक सात पटक र २० वर्षका रटमा उभिइरहेका छन् । यी चाहिँ कतै बुढेसकालमा सिङजुरो उम्रेर पुच्छर पनि पलाउने जातका त होइनन् ? म यिनको जातै न चिनेर आत्तिएँछु कि त ? २०४८ जेठदेखि आजसम्मका संसदीय गतिविधिलाई हेर्दा सर्कसका पालभित्र हुनेभन्दा पनि बढी मनोरञ्जन दिने खालका घटनाको ओइरो लागेको देखिन्छ ।
बाघलाई साकाहारी बनाउने प्रयत्न गणेशमानजी र किसुन्जीले गरेर सर्कस त देखाए तर आफू नायक बनेर प्रदर्शनस्थलमा गएनन् । बाघलाई सधाएनन् । कोरली गाईलाई गाँजेर कसरी अधमरा बनायो ? त्यो सुनेरमात्रै माला जपेर बसे । तन्तन्ती गाईको रगत पिएको दृश्य गिरिजाप्रसादलाई संसद्मा लडाएर, मनमोहन अधिकारीलाई नौ महिनामा र किसुन्जीलाई दश महिनामा अस्पतालमा पुर्याएर प्रजातन्त्र रूप नन्दिनीलाई बाघले गरेको अक्रमण देखाएर सर्कस टुंगिएला भनेको अझै टुंगिएन । ती दिनमा नेपाली राजनीतिका वनमा पसेका अनेकौं जातका बाघहरूले यो देशका गाई जस्ता साधुजनको निर्मूलीकरण नगरी छाड्लान् जस्तो लाग्दैन । कोही संसद्मा माइक र कुर्सी भाँच्ने, कोही बजेटको बृफकेस लुट्ने, कोही शरीरका सबै कपडा खोलेर देहदर्शन गराउने, कोही संसद्मा उठेर बोल्ने समय पाउँदा पनि नबोलीकन उभिने ।
यी सबै कुरा किन भए ? हुनुपर्ने नभएर नहुनुपर्ने काम हुनथालेपछि सबै सीमाबाहिर पुगेका थिए र यो सही नै हो पनि । पाउजेब घाँटीमा लाउने चेतनाको राज भएपछि कट्टु टाउकामा र टोपी पैतालामा नलाएर के गर्छन् त मान्छेले ? संसदको रोस्टम प्रधानमन्त्रीले देश र जनतालाई सन्देश दिन उपयोग गर्नुपर्ने ठाउँ हो तर उनले नै पटकपटक वैयक्तितक रिसइबी साँध्न र पेटका कीरा मार्नेस्थल बनाउँछन् भने अनुशासनको सीमा रहन्छ ?
आकाशको राहु पातालको केतु पटक-पटक पर्दा पनि किन नचेतुँ ?
म गाई चराउन कहिले खोलाखेतमा र कहिले वनतिर लैजान्थेँ । कहिले बाख्रा चराउन पनि वनमा या खरबारीमा लैजान्थेँ । खेतमा बाली लाएका ठाउँको नजिकै रहेका बाँझा ठाउँमा गाई गोरु र भैंसी चराउँदा गोठालाका आँखा छलेर पटक-पटक बालीमा पुग्थे । लौराले सुम्लो उठ्ने गरी कुट्दा पनि एकैछिनपछि त्यही गाई या गोरु अथवा भैंसी बालीमा कुदेर गइहाल्थ्यो । पिटाई खाएर पनि चेत नआउने जात हो पशुको । अहिले म मेरा नेता, मेरा सचिव, मेरा सांसद, मेरा जिल्लाधीशहरूमा ठ्याक्क त्यस बेलाका मेरा गाईगोरु र भैंसीमा भएको चरित्र देख्न थालेको छु । मेरा न्यायमूर्ति पनि त्यस्तै चरित्रका ठाउँठाउँमा देखिन थालेका छन् ।
अहिलेका मेरा प्रधानमन्त्रीले न्यायालयलाई पनि एउटा कुहेको माछाले अरू माछा कुहाएझैं सेटिङ मिलाएर बिगारेको कुरो आएको थियो । अर्का मेरा महान् नेताले यसले प्रतिगमन गर्यो भनेर मुद्दा हालेर सत्ताबाट हटाएका थिए । तिनै बहादुर मध्यरातमा गएर प्रतिगमनकारीका पाउ पुज्दा प्रतिगमन नहुने ?
अहिलेकै मेरा प्रधानमन्त्रीले न्यायालयलाई पनि एउटा कुहेको माछाले अरू माछा कुहाएझैँ सेटिङ मिलाएर बिगारेको कुरो आएको थियो । अर्का मेरा महान् नेताले यसले प्रतिगमन ग¥यो भनेर मुद्दा हालेर सत्ताबाट हटाएका थिए । तिनै बहादुर मध्यरातमा गएर प्रतिगमनकारीका पाउ पूज्दा प्रतिगमन नहुने राजनीतिको यो परिभाषा तिनै गाईगोरुको कुटाई खाएर पनि एकात् बुजो बाली मर्काउन पाए पेट आउँथ्यो कि भन्ने मनशायभन्दा फरक छ र ? मान्छे होलाकि भनेर बुलाकी लाउँछन् तर बुलाकीले नाकै खाइदियो भने के गर्ने ? आजको म जस्ता नेपालीको दुर्भाग्य यही होइन र ? थाहै नपाइकन दुवाली फर्काएर पानी सुकाएका खोलाका माछा पानी खोज्दै जाँदा ढडिया, सिप्रिङ या फुर्लुङ आदिमा पर्नाको विकल्प हुन्छ र ?
हाम्रो राजनीति पनि त सिकारीले परेवा पार्न जालमा हालेको कनिका र त्यसमा पर्ने परेवाभन्दा भिन्न चरित्रको छ र ? यही प्रजातन्त्र हो जो सभ्य मानवका मस्तिष्कले आविष्कार गरेर संसारलाई नै सभ्य बनाउने उद्देश्यले बोल्ने, लेख्ने, पढ्ने आवधिक चुनाव, स्वतन्त्र व्यवसाय गर्न पाउने जस्ता समग्र मानव समानस्तरका मानिने, कानुनका नजरमा कोही पनि सानोठूलो छुतअछूत आदि नहुने भनेका व्यवस्थाको अहिले नेपालमा देखिएको भन्दा बिभत्स रूप होला भनेर मानव समाजले कहिल्यै कल्पना गर्यो होला र ? यति उत्तम चिन्तन र व्यवस्था भएका पद्धतिलाई कुहाउने मेरा महान् नेताको चरित्र, चिन्तन र प्रयोगलाई म अभिनन्दन गर्दछु । तपाईंहरू पनि गर्नुहोस् ल ?
सर्वस्वार्थं समीहते । सबै कुरा स्वार्थले समेट्छ । योगीले पनि सांसारिक कुरा असत्य छन् भनेर चिवरधारण गरी स्वार्थकै चिन्तन गर्दछ । स्व+अर्थ=स्वार्थ बनेको यो शब्दको अर्थ हो आफ्नै लागि गर, सोच, अन्यथा अर्काले आएर तिम्रो दुनु कसैले सोझ्याइदिँदैन । केही ती व्यक्ति जसले देश, समाज, विश्वमा भएका मानवको उन्मुक्तिका लागि कठोर व्रत लिए जस्तै गान्धी, पञ्चशीलको सिद्धान्त प्रतिपादकहरू, असंलग्नताको सिद्धान्त प्रतिपादन गर्ने, १९६० कै दशकमा आजको विश्वमा चीनलाई यदि संयुक्त राष्ट्रसंघको सदस्यता नदिने हो भने यस संस्थाको कुनै उपादेयता रहनेछैन भनेर महासभालाई थर्काउने बीपी कोइरालाहरूलाई कुनै दिन अहिलेका मेरा महान् नेताले विश्वमञ्चमा गएर धिक्कार्न बेर नलाउने हुन् कि भन्ने मनमा त्रास उब्जन लागेको छ । यदि यस्तो गरे भने हामीलाई विश्वले आफ्नै दाजुभाइ भनेर स्वीकार गर्ला ?





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच