काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन गरेको तयारीसँगै सत्ता र विपक्षीबीचको दरार थप बढ्ने देखिएको छ । पदीय आचरणविरुद्ध काम गरेको भन्दै सत्तारूढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई महाअभियोग लगाउने तयारी गरेका छन् । यसका लागि दुवै दलका सांसदहरूले हस्ताक्षरसमेत संकलन गरिरहेका छन् । सत्तापक्षको तयारीले विपक्षी भने झन् चिढिएको छ । उपसभामुख विरुद्धको हस्ताक्षर अभियानले सृजना गरेको सत्ता र विपक्षीबीचको द्वन्द्वको छाया संसद्मा देखिन थालेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद सूर्य थापा र विपक्षी दलको एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीबीच नोकझोक भएको छ । बुधबारको बैठकमा आकस्मिक समयमा सभामुख देवराज घिमिरेले बोल्न दिएको समयमा राप्रपा सांसद कार्की उपसभामुख इन्दिरा रानामगरलाई हटाउन कांग्रेस-एमालेले सुरु गरेको हस्ताक्षर संकलनबारे प्रश्न गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराएका छन् । सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस् ।’
लगत्तै सांसद कार्कीको टिप्पणीप्रति सत्तारूढ दल नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाउनुभयो । सांसद थापाले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) अनुसार नियमापत्ति जनाउँदै भन्नुभयो, ‘यो आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण, अपमानपूर्ण, यो ढंगको अभिव्यक्तिलाई त्यो चेयरबाट निषेधित गरिनुपर्छ । माननीय सदस्यज्यूले कस्ता सदस्य, कस्ता कागजमा सही गराएको भन्ने ढंगका जुन लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको छ, यो रेकर्डबाट हटाउनुपर्छ ।’ थापालाई सभामुखले समय दिएर नियमापत्ति गरिसकेपछि आफ्नो अभिव्यक्तिलाई निरन्तरता दिँदै सांसद कार्कीले भन्नुभयो, ‘एमाले र नेपाली कांग्रेसले यो देशलाई दुई दलीय शासन पद्धतिमा लान आँटिराखेको छ । त्यसकारण साना दलका माननीयज्यूहरूलाई भन्छु, अहिले नै सचेत हौँ । नभएदेखि उपेन्द्र यादव र अरू पार्टीका माथि जुन प्रकारका आक्रमण भइराखेका छन्, त्यो बाघले तपाईंहरूलाई पनि खान्छ एकदिन ।’
जनजातिलाई आतंकित पार्ने प्रयास : प्रमुख सचेतक पाण्डे
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारूढ दलहरूले गरेको प्रयासको विरोध गरेको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउने प्रयासको विरोध गर्दै भन्नुभयो, ‘उपसभामुखका बारेमा बारम्बार चर्चा गरेर आक्रमण र आतंकित बनाउने कामको हाम्रो दलको तर्फबाट म विरोध गर्दछु । सामाजिक काममा सक्रिय एउटा जनजाति महिलामाथि यसरी आतंकित पार्ने र उहाँको मानमर्दन गरेर सदनलाई कमजोर पार्ने काम नगरियोस् ।’
संसद् र संवैधानिक निकायमाथि अपमान : प्रमुख सचेतक परियार
उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो, त्यसले सम्मानित सदनलाई चोट पु¥याएको छ । लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अपमूल्यन भएको छ, यो लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याइ हो ।’
उपसभामुखको अमेरिका भ्रमणबारे कांग्रेसले उठायो प्रश्न
सत्तारूढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न उठाउनुभएको हो । बैठकमा सांसद खतिवडाले उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्ने प्रश्न सोधेपछि सभामुख घिमिरेले व्यक्तिगत भ्रमणमा जानुभएको जानकारी दिनुभएको जवाफ दिनुभएको छ । अमेरिका भ्रमणमा रहनुभएकी उपसभामुख राना यही भदौ १३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
समिति सभापतिको निर्वाचन अविलम्ब गर्न माग
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन अविलम्ब गर्न माग गरेको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समिति सभापतिको तत्काल निर्वाचन गरेर समितिको काम अगाडि बढाउन माग गर्दै भन्नुभयो, ‘राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन अविलम्ब गरी समितिको कामलाई अविलम्ब अगाडि बढाउन सम्माननीय सभामुखलाई हार्दिक आग्रह गर्दछु ।’
४६ दिनपछि नाउपा सत्ता पक्षको बेन्चमा फर्कियो
नागरिक उन्मुक्ति पार्टी (नाउपा) पुनः सत्ता पक्षको बेन्चमा फर्केको छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसद् सचिवालयमा सत्ता पक्षकै बेन्चमा बस्न पाऊँ भन्ने आग्रहसहितको पत्र पठाएसँगै ४६ दिनपछि सो पार्टी पुनः सरकार पक्षको बेन्चमा गएको हो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि सो पार्टीले असार २० गते संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो । सांसदहरूको मनोभावना बुझ्दा सत्ता पक्षमा बस्न नै मन भएको जस्तो देखिएको जिकिर गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘राज्यमन्त्री अरुण चौधरीले पनि आफ्नो पदबाट राजीनामा दिए पनि प्रधानमन्त्री कार्यालयले स्वीकृत गरेको छैन । राज्यमन्त्रीले पनि सरकारको सबै सेवा सुविधा लिने तर काम नगर्ने भनेपछि उहाँलाई पनि पार्टी सत्ता पक्षमै भइदियोस् भनी लागेको हुनुपर्छ यी सबै कुराहरूलाई विचार गर्दा सरकारलाई समर्थन दिएको हुँ ।’







बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद